s

वैदेशिक रोजगार बोर्डका कर्मचारीकै मिलेमतोमा मृतकको बिमा रकममा ठगी

टेकराज थामी

वैदेशिक रोजगारबाट छुट्टीमा घर आएका श्रीमानकाे अचानक निधनपछि धनुषाको धनुषाधाम नगरपालिका– ९ की ४५ वर्षीया देवलादेवी यादव शोकमा थिइन् । एक अपरिचित युवा बिमाबापतको रकम झिक्न सहजीकरण गरिदिने भन्दै घरमै आइपुगे । प्रशासनिक ज्ञान नभएकी उनले युवाको प्रस्तावलाई सहजै स्वीकार गरिन् । जब तिनै युवाबाट बिमाबापत प्राप्त रकम ठगिएको भेउ पाइन्, उनी छाँगाबाट खसेझैँ भइन् ।

प्रहरीका अनुसार अपरिचित युवाको गिरोहले देवलादेवीलाई बिमाबापत प्राप्त १३ लाखमध्ये आठ लाख रुपैयाँ ठगी गरेको थियो । यसका लागि उनीहरूले देवलादेवीलाई काठमाडौंको मित्रनगरस्थित शुभशान्ति गेस्टहाउसमा झन्डै सात दिन बन्धक बनाएका थिए । रकम असुल गरेपछि मात्रै उनलाई युवाहरूले छाडेका थिए । त्यसपछि न्याय खोज्दै उनी प्रहरीसमक्ष पुगिन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी डा. मनोज केसीले देवलादेवीलाई गेस्टहाउसमा बन्धक बनाएर बिमाबापत प्राप्त रकम ठगी गरेको पाइएको बताए । उनले भने, ‘देवलादेवीको श्रीमान् वैदेशिक रोजगारमा गएका रहेछन् । छुट्टीमा घर आएका वेला निधन भएपछि बिमाबापतको रकम झिक्न सहजीकरण गरिदिने भन्दै एउटा गिरोह उनको घर पुगेको अनुसन्धानबाट खुलेको छ । सो गिरोहले अनेक प्रलोभनमा पारेर देवलादेवीलाई काठमाडौं ल्याई गेस्टहाउसमा बन्धक बनाएर रकम झिकेछ । देवलादेवीलाई पाँच लाख दिएर उनीहरूले बाँकी आठ लाख लिएर फरार भएका रहेछन् ।’

वैदेशिक रोजगार बोर्डका नासुको पनि संलग्नता

प्रहरीका अनुसार देवलादेवीका श्रीमान् ४८ वर्षीय उपेन्द्र यादव वैदेशिक रोजगारका क्रममा दुई वर्षदेखि साउदी अरबमा थिए । केही महिनाअघि छुट्टीमा घर आएका वेला उनको मृत्यु भएको खबर गिरोहका सदस्यले वैदेशिक रोजगार प्रवर्द्धन बोर्डका सुब्बा पशुपति अधिकारीबाट प्राप्त गरेका थिए । मृतक यादवको घरको ठेगाना पनि उनीहरूले अधिकारीबाट प्राप्त गरेका थिए । सोही सूचनाका आधारमा गिरोहका सदस्य देवलादेवीको घरमा पुगेका थिए ।

विविध प्रलोभनपछि उनीहरूले देवलादेवीलाई काठमाडौं ल्याएका थिए । र, गेस्टहाउसमा बन्धक बनाएर राखेका थिए । बिमाबापतको रकम झिक्न आवश्यक कागजात उनीहरूले देवलादेवीबाटै लिएका थिए । कतिपय कागजात उनीहरू आफैँले तयार गरेका थिए । सोही कागजातका आधारमा उनीहरूले बिमाबापतको १३ लाख रुपैयाँ झिकेका थिए ।

प्रहरीका अनुसार घटनामा काभ्रे रोसी गापा– १२ का ४१ वर्षीय रामबहादुर तामाङ, सर्लाही लालबन्दी नपा– ८ का ३४ वर्षीय विनोदकुमार लामा, ४० वर्षीय डिकबहादुर मल्ल, ३५ वर्षीय रविन भन्ने रवीन्द्र मोक्तान, ३५ वर्षीय प्रकाशबहादुर गोले र सलार्ही हरिवन नपा– २ का ३९ वर्षीय मान गोले संलग्न छन् । मृतकको नामबाट बिमाबापतको रकम झिक्न तयार ३५ जनाको कागजात प्रहरीले उनीहरूबाट बरामद गरेको छ । जसमध्ये थप दुईजनाको जाहेरी प्रहरीमा परिसकेको छ।

अन्य मृतकको बिमा रकम पनि ठगेको खुलासा

अनुसन्धान कार्यालयका प्रमुख एसएसपी डा. केसीका अनुसार यही गिरोहले वैदेशिक रोजगारमा रहेका वेला मृत्यु भएका अन्य नेपालीको नाममा पनि बिमाबापतको रकम झिकी ठगी गरेको पाइएको छ । एसएसपी डा. केसीले भने, ‘यो गिरोहले अन्य मृतकको नाममा पनि बिमाबापतको रकम झिकेको खुलेको छ । ३५ जनाको कागजात हामीले उनीहरूबाट बरामद गरेका छौँ । जसमध्ये तीनजनाको जाहेरी हामीकहाँ प्राप्त भएको छ । करिब वर्ष दिनदेखि यो गिरोह यो धन्दामा सक्रिय रहेको अनुसन्धानबाट देखिन्छ ।’

प्रहरीका अनुसार धन्दाका मुख्य योजनाकार काभ्रे रोसी गापा– १२ का रामबहादुर तामाङ हुन् । उनले बोर्डमा कार्यरत सुब्बा अधिकारीबाट वैदेशिक रोजगारमा गएका मृतकको सूचना प्राप्त गर्थे । यसबापत उनले अधिकारीलाई प्रतिमृतक २५ हजारदेखि ३० हजार रुपैयाँ बुझाउँथे । जब सूचना प्राप्त गर्थे, मृतकको घर ठेगाना खोज्न गिरोहका अन्य सदस्यलाई खटाउँथे । डा. केसीले भने, ‘गिरोहका सदस्यलाई बोर्डमा कार्यरत सुब्बा तहका कर्मचारीले मृतकको सूचना दिने गरेको पाइएको छ । घर ठेगाना र परिवारका सदस्यको सम्पर्क नम्बर पनि उनैले उपलब्ध गराउँथे । यसबापत उनले २५ देखि ३० हजार रुपैयाँ लिने गरेको प्रारम्भिक अनुसन्धान देखिएको छ ।’

प्रहरीले घटनामा संलग्न बोर्डमा कार्यरत अधिकारीसहित सातै अभियुक्तलाई पक्राउ गरेको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको अनुसन्धान कार्यालयका प्रवक्ता एसपी रवीन्द्र रेग्मीले जानकारी दिए । उनले भने, ‘यतिसम्म गिरेर ठगी धन्दा हुन्छ भन्ने कसैले सोचेको हुँदैन । तर, यिनीहरू यस्तै धन्दामा संलग्न भएको भेटियो । जसमा वैदेशिक रोजगार बोर्डकै कर्मचारी संलग्न रहेछन् । हामीले सबैलाई पक्राउ गरेका छौँ । अनुसन्धानपछि थप तथ्य खुल्दै जाला ।’

Published on: 10 April 2023 | Naya Patrika

Link

Back to list

;