s

वैदेशिक रोजगार बोर्डद्वारा स्वास्थ्य उपचार खर्च

काठमाडौँ, भदौ १५ गते । वैदेशिक रोजगार बोर्डले पछिल्लो एक वर्षमा वैदेशिक रोजगारीका लागि विदेशमा गएका श्रमिकका ११२ परिवारका सदस्यलाई स्वास्थ्य उपचार खर्च प्रदान गरेको छ । वैदेशिक रोजगारीमा गएका श्रमिकका परिवारलाई गम्भीर बिरामी पर्दा उपचार खर्च उपलब्ध गराउँदै आएको बोर्डले आर्थिक वर्ष २०७९/८० मा ११२ परिवारका सदस्यलाई ५६ लाख रुपियाँ आर्थिक सहायता प्रदान गरेको हो ।

वैदेशिक रोजगारीमा गएका श्रमिकका परिवारका सदस्य गम्भीर बिरामी वा दीर्घकालीन रोग लागेमा बोर्डले प्रतिबिरामी ५० हजार रुपियाँसम्म आर्थिक सहायता प्रदान गर्छ । यो आर्थिक सहायता क्यान्सर, मिर्गौला प्रत्यारोपण, मुटुको शल्यक्रिया, पार्किन्सन्स र अल्जाइमर जस्ता गम्भीर प्रकृतिको रोग लाग्दा पाइने व्यवस्था बोर्डले गरेको छ ।

यसका लागि सरकारले ‘श्रमिकका परिवारको स्वास्थ्य उपचारसम्बन्धी मापदण्ड, २०७३’ भनेर छुट्टै मापदण्डसमेत बनाएको छ । श्रमिक आफैँले पालनपोषणको जिम्मा लिएको पतिपत्नी, छोराछोरी, आमाबुवा र महिला श्रमिकको हकमा सासूससुरालेसमेत यस्तो सुविधा पाउने व्यवस्था मापदण्डमा गरिएको छ ।

मापदण्डमा तत्काल शल्यक्रिया गर्नु नपर्ने अवस्थामा बढीमा १५ हजार, सामान्य शल्यक्रिया गर्नुपर्ने भएमा ३० हजार र शल्यक्रिया गरी नियमित औषधी सेवन गर्नुपर्ने अवस्थामा ५० हजार रुपियाँ पाइने व्यवस्था उल्लेख छ । यसका लागि वैदेशिक रोजगारीमा रहेका आफ्नो परिवारका सदस्यको श्रम स्वीकृतिको प्रतिलिपि पेस गर्नुपर्छ ।

यस्तै राहदानीको प्रतिलिपि, बिरामी व्यक्तिको नागरिकताको प्रतिलिपि, श्रमिक र बिरामीबिचको नाता प्रमाणित प्रतिलिपि, बिरामीलाई आर्थिक समस्या परेको प्रमाणित प्रतिलिपि, बिरामीको रोग खुल्ने गरी सरकारी अस्पताल वा मान्यता प्राप्त चिकित्सकको ‘प्रेसक्रिप्सन’ वा सिफारिसपत्रसमेत पेस गर्नुपर्ने परिवार स्वास्थ्यसम्बन्धीमा मापदण्डमा उल्लेख छ ।

मापदण्ड अनुसार उपचार खर्चबापतको रकम दाबीका लागि आफ्नो पालिकामार्फत बोर्ड सचिवालयमा आवेदन दिनुपर्छ । बिरामीको अवस्था हेरेर बोर्डले सिधै बिरामीको खातामा पैसा दिन्छ । बोर्डका निर्देशक राजन पौडेलले पहिले उक्त रकम दाबीका लागि बोर्डका सचिवालयमा आउनुपथ्र्यो अहिले पालिकामार्फत निवेदन दिएपछि सोही निवेदनका आधारमा सोझै बिरामीको खातामा पैसा जान थालेको जानकारी दिनुभयो ।

Published on: 1 September 2023 | Gorkhapatra

Link

Back to list

;