s

वैदेशिक रोजगार विभागले भन्यो : पानीजहाज निर्माण क्षेत्रमा आवेदन दिएकाले १८ गतेसम्म परीक्षा फारम भर्नू

काठमाडौं : पानीजहाज निर्माण क्षेत्रमा आवेदन गरेका परीक्षार्थीले उत्पादन क्षेत्रको भाषा परीक्षामा पनि निवेदन दिन पाउने भएका छन् । वैदेशिक रोजगार विभागले शुक्रबार एक सूचना जारी गरी भाषा परीक्षामा पनि निवेदन दिन पाउने जानकारी गराएको हो।

विभागको इपीएस कोरिया शाखाका अनुसार आवेदन बुझाउने म्याद यही पुस १६ देखि १८ गतेसम्म व्यवस्था गरिएको छ। पानीजहाज निर्माण क्षेत्रमा आवेदन गरेका सुरज पाठकसहित १८ जना परीक्षार्थीले उत्पादन क्षेत्रमा पनि आवेदन फाराम भर्न पाउनुपर्ने माग गर्दै उच्च अदालत पाटनमा मुद्दा दायर गरेपछि विभागका नाममा ‘निवेदकको माग बमोजिम गर्न’उक्त अदालतले विभागका नाममा आदेश जारी गरेको थियो। आदेशमा भनिएको छ, ‘निवेदकहरूलाई आवेदन फारम भर्नबाट वञ्चित गर्न मनासिव नहुँदा निवेदकहरूलगायत निवेदक सरहका समान प्रकृतिका इच्छुक व्यक्तिहरूलाई मंसिर १९ गतेको सूचना बमोजिम पुस २ बाट खुला गरिएको आवेदन फारम भर्न रोक नलगाउनू र परीक्षा आवेदन फाराम भर्न दिनु दिलाउनू।’

यसैगरी कोरियन भाषा परीक्षाको विषयलाई लिएर विरोध प्रदर्शमा उत्रिएका युवाहरूमाथि प्रहरीले गोली चलाउँदा र लाठी प्रहारबाट २ जनाको मृत्यु र दर्जनौं घाइते भएपछि सरकारलाई थप दबाब परेको छ।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव डन्डुराज घिमिरेका अनुसार कोरियाले एउटा क्षेत्र रोजेर भाषा परीक्षामा सहभागी भएकालाई एक वर्षभित्रै अर्को भाषा परीक्षामा सहभागी नगराउने नीति छ। जहाज निर्माणको क्षेत्र रोजेर भाषा परीक्षा दिएकाहरूलाई उत्पादन क्षेत्रको लागि खुलाइएको भाषा परीक्षामा सहभागी गराइएको थिएन।

उनीहरूले आफूहरूलाई पनि उत्पादन क्षेत्रको भाषा परीक्षामा सहभागी गराउनुपर्ने भन्दै शुक्रबार वैदेशिक रोजगार विभाग, रोजगार अनुमति प्रणाली शाखा (ईपीएस)को कार्यालयमा प्रदर्शन गरेका थिए। यही क्रममा बालकुमारीमा प्रदर्शन भएको हो।

कोरियन भाषा परीक्षा ‘ईपीएस कार्यालय’परिसरमा भएको आन्दोलनमा प्रहरीको कारबाहीमा सुजन राउत र वीरेन्द्र शाहको मृत्यु भएको हो। ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितको आदेशमा नै आन्दोलनमा गोली चलाइएको थियो। बालकुमारीमा भएको घटनाको अनुसन्धान गर्न गृह मन्त्रालयले समिति बनाएको छ। गृहले उपत्यका प्रहरी कार्यालयका डीआईजी लालमणि आचार्यको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति बनाएको हो। समितिमा ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवार र राष्ट्रिय अनुसन्धानका उपअनुसन्धान निर्देशक बासु सिग्देल सदस्य रहेका छन्।

Published on: 2 January 2023 | Annapurna Post

Link

Back to list

;