s

वैदेशिक रोजगार विभागले १५ हजार युवालाई निःशुल्क सीपमूलक तालिम दिने

वैदेशिक रोजगार बोर्डले वैदेशिक रोजगारीमा जाने युवालाई निःशुल्क सीपमू्लक तालिम दिने भएको छ  । बोर्डले यो वर्ष १५ हजार युवालाई १९ प्रकारका तालिम निःशुल्क प्रदान गर्ने तयारी गरेको छ ।

तालिमका लागि बोर्डले यस वर्ष २५ करोड रुपैयाँ विनियोजन गरेको बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले जानकारी दिए । अर्को वर्षदेखि बजेट तथा तालिमका विषय पनि थप गर्दै लगिने बताए । उनका अनुसार तालिम आगामी मंसिरदेखि सुरु हुनेछ । बोर्डले युवालाई ३० दिने सीपमूलक तालिम प्रदान गर्नेछ । तालिममा इच्छुक जो कोही युवा सहभागी हुन सक्नेछन् । तर, प्राप्त आवेदनबाट बोर्डले योग्यता पूरा गरेकालाई मात्रै छनोट गर्नेछ ।

वैदेशिक रोजगार विभागले सूचीकृत गरेका तालिम केन्द्रबाट सीप तालिम सञ्चालन गरिने श्रेष्ठले बताए । उनका अनुसार सूचीकृत तालिम केन्द्रमध्ये तालिमका लागि आवश्यक सम्पूर्ण पूर्वाधार भएका केन्द्रलाई छनोट गरिनेछ । तालिम काठमाडौंलगायत बुटवल, सुनसरी, झापा, पोखरा र जनकपुरमा समेत सञ्चालन हुनेछ ।

१९ प्रकारका तालिम प्रदान गरिने

वैदेशिक रोजगार बोर्डले युवालाई १९ प्रकारका तालिम प्रदान गर्नेछ । आवेदकको इच्छाअनुसार तालिम प्रदान गरिने बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले बताए । उनका अनुसार अर्को वर्षदेखि तालिम थप हुनेछ । यस वर्ष इलेक्ट्रिसियन, कार्पेन्ट्री, गार्मेन्ट मेसिन अपरेटर, एसिस्टेन्ट स्काफोल्डर, हाउस पेन्टर, कुक, सुरक्षा गार्ड, वेटर, स्टिलफिक्सर, हाउस किपिङ एटेन्डेन्ट, प्लम्बर सहायक र बेन्डरलगायत तालिम प्रदान गरिनेछ ।

रोजगारीमा ज्यान गुमाउनेका परिवारले बैंकबाटै सहायता पाउने

वैदेशिक रोजगारीमा मृत्यु भएका कामदारका परिवारलाई वैदेशिक रोजगार बोर्डले प्रदान गर्दै आएको आर्थिक सहायता अब सोझै बैंक खातामार्फत भुक्तानी गर्ने भएको छ ।

बिचौलिया सक्रिय हुन थाले पनि बोर्डले परिवारको खातैमा भुक्तानी दिने तयारी गरेको श्रेष्ठले जानकारी दिए । ‘अबदेखि मृतकका परिवार काठमाडौंमा आइरहन पर्दैन । उनीहरूले स्थानीय तहमा नै निवेदन दिन सक्नेछन्,’ उनले भने ।

नयाँ व्यवस्था अनुसार बोर्डले स्थानीय गाउँपालिका तथा नगरपालिकाबाटै भुक्तानी पाउने व्यवस्था गर्न लागेको हो । पीडित परिवारले स्थानीय तहबाट नै निवेदन दिन सक्नेछन् । बोर्डले स्थानीय तहसँगको सहकार्यमा भुक्तानी गर्नेछ ।

वैदेशिक रोजगारीमा जाने कामदारले बोर्डलाई निश्चित रकम सहायतास्वरूप भुक्तानी गर्दै आएका छन् । २ वर्षभन्दा बढी अवधिको भिसामा विदेश जाने कामदारले १ हजार ५ सय र ३ वर्षभन्दा माथिको भिसा हुनेले २ हजार ५ सय रुपैयाँ भुक्तानी गर्नुपर्नेछ । कामदारको भिसा अवधिभर कुनै कारणले मृत्यु भएमा बोर्डले अधिकतम ७ लाख रुपैयाँसम्म आर्थिक सहायता प्रदान गर्छ ।

Published on: 14 October 2019 | Naya Patrika

Link

Back to list

;