s

वैदेशिक रोजगार विभागः पीडितभन्दा पीडककै पक्षमा

वैदेशिक रोजगार विभागका वरिष्ठ कर्मचारीहरू नै म्यानपावर कम्पनीका सञ्चालकलाई टेलिफोन गरेर सोध्छन्, ‘हजुरहरू कहिले आउनुहुन्छ ? हजुरहरूविरुद्ध यहाँ पीडित उजुरी दिन आएका छन्। हजुर समय मिलाएर आउनुहोस्। त्यसैअनुसार तारेखमा पीडितलाई बोलाइदिउँला।’

यो दृश्य वैदेशिक रोजगार विभागमा देख्न पाइन्छ। ठगिएका पीडित न्याय माग्न दिनहुँजसो विभाग पुग्छन्। विभागका कर्मचारी पीडितका व्यथा पाँच मिनेट पनि सुन्ने धैर्यता राख्र्दैनन्। कर्मचारीले म्यानपावर कम्पनीका सञ्चालकलाई खुसी पार्न टेलिफोन गर्न भने समय निकाल्छन्। पीडितले गुनासो सुनाउन खोज्दा उनीहरूलाई झर्को लाग्छ। पीडक पदक थाप्नझैं छाती फुलाएर विभागमा पुग्छन्। उनीहरूलाई विभागका वरिष्ठ कर्मचारीले सोध्छन्, ‘चियापानमा हजुरलाई के ल्याऊँ।’ विभागका कर्मचारीले ठगी गर्ने म्यानपावर कम्पनीका सञ्चालकलाई कारबाही गर्नुको साटो ससुरालीमा झैं स्वागत गर्छन्।

काठमाडौंको बसुन्धरास्थित एक्सिलेन्ट म्यानपावर सर्भिस प्रालिले विदेशमा राम्रो सेवासुविधा र तलबको झुटो आश्वासन देखाएर थुप्रै युवालाई काममा पठाइदिने भन्दै रकम उठाएर ठगी गरेको पाइएको छ। यसरी पैसा उठाएर विदेश नपठाउने उक्त कम्पनीका निर्देशक विजय शाह रहेको पीडित बताउँछन्। उक्त म्यानपावर कम्पनीविरुद्ध ६ वटा उजुरी परिसक्दा पनि विभागले त्यसलाई कानुनी दायरामा ल्याउन नसकेको पीडितको गुनासो छ। ‘हातमा म्यानपावर कम्पनीले ठगी गरेको प्रमाण छ तर विभागले पीडकविरुद्ध कुनै उजुरी लिन मान्दैन, कारबाही त परको कुरा भयो। उजुरी लिइहाले पनि विभागका कर्मचारीले ठगीमा संलग्न म्यानपावर कम्पनीका सञ्चालक र एजेन्टविरुद्ध पक्राउ पुर्जी जारी गर्दैनन्, उल्टै पीडितलाई नै बाहिर गएर मिलापत्र गर्नुहोस् भन्छन्,’ एक पीडितले भने। ठगी गर्ने म्यानपावर कम्पनीहरूविरुद्ध विभाग कठोरतापूर्वक उभिन नसक्दा पीडित थप मारमा पर्ने र पीडक उम्कने अवस्था आएको छ।

वैदेशिक रोजगारीमा ठग्ने र ठगिने क्रम दिनप्रतिदिन बढ्दै गएको छ। युवालाई विदेशको सपना देखाउने, पैसा उठाउने, पैसा उठाएर पनि विदेश नपठाइदिने, पैसा माग्दा गलाउने, थर्काउने अनि पचाउने ध्याउन्नमा केही म्यानपावर कम्पनी रहेको अर्का एक पीडितले बताए। २०औं पटकसम्म म्यानपावर कम्पनी र वैदेशिक रोजगार विभागमा धाउँदा पनि केही पीडितले न्याय पाउन सकेका छैनन्।

दैनिक दुई-तीनन सय पीडित ठगिएको सबुत प्रमाणसहित न्यायको भिख माग्न वैदेशिक रोजगार विभागको ढोका ढक्ढकाउन पुग्छन्। तर त्यो ढोका पीडितहरूका लागि खुला हँुदैन। वैदेशिक रोजगार विभागका कर्मचारीले वैदेशिक रोजगारीमा जान पैसा बुझाएर ठगिएका युवाले बुझाएको लिखतलाई लत्याएर म्यानपावर कम्पनीको बकितमलाई मान्यता दिँदा न्यायको ढोका खुल्न नसकेको पीडितको गुनासो छ।

वैदेशिक रोजगारीका लागि साउदी अरेबिया पुगेका सिरहाको कल्याणपुर नगरपालिका–४ का इन्द्रजित यादव करार सम्झौताअनुसार काम, तलब र सेवासुविधा कम्पनीबाट नपाएपछि घर फर्किए। नेपाल आएर वैदेशिक रोजगार विभागमा उनले आफूलाई ठगी गर्ने म्यानपावर कम्पनीविरुद्ध उजुरी दिएको निकै समय भइसकेको छ। तर उनले न्याय पाउन सकेका छैनन्। बसुन्धरास्थित एक्सिलेन्ट म्यानपावर सर्भिस प्रालिले वैदेशिक रोजगारीमा आकर्षक तलब हुने बताउँदै सिरहाका १५-२० जनालाई ठगी गरेको पीडितको गुनासो छ। यादव पनि एक्सिलेन्ट म्यानपावरलाई २ लाख ५० हजार बुझाएर साउदी अरेबिया गएका थिए। एक्सिलेन्ट म्यानपावर कम्पनीले आकर्षक वैदेशिक रोजगारीमा पठाइदिने नाममा सिरहाका युवाको मात्र करिब ४० लाख रूपैयाँ ठगी गरेको पीडित बताउँछन्।

‘साउदी अरेबिया पुगेलगत्तै उक्त म्यानपावर कम्पनीले भनेझैं न काम न तलब नै पाइयो। म्यानपावर कम्पनीले हुन्छ, हुन्छ भन्दै गर्दा चार महिना बिते। भनेअनुसार काम र तलब नपाएपछि स्वदेश फर्किएँ,’ यादवले भने, ‘एक्सिलेन्ट म्यानपावरमा धाउँदाधाउँदा हैरान भएको छु। क्षतिपूर्ति पाउनुको सट्टा उनीहरूकै गाली खाएर फर्किनुपर्छ। ८-९ पटक न्यायको भिख माग्न वैदेशिक रोजगार विभागमा पनि गएँ तर त्यहाँका कर्मचारीले म्यानपावर कम्पनीसँग मिलापत्र गर्नु, आधा रकम दिए पनि लिइहाल्नु, पछि त्यही पनि नपाइएला भन्छन्।’

न्यायका लागि विभागमा धाउँदा पनि नपाएको उनले बताए। दैनिक सयौं पीडित न्यायको आसमा वैदेशिक रोजगार विभाग पुग्छन्। विभागका कर्मचारीमा समस्या सुल्झाउनेभन्दा पनि पीडितलाई थप दुःख दिने नियत देखिने र यसले निकै निराश बनाएको अर्का एक पीडितले बताए। ‘हाम्रो पनि महत्वपूर्ण काम हुन्छ। सबै कामलाई पाखा लगाएर न्यायका लागि जिल्लादेखि धाएर आएका हुन्छौं। काठमाडौंसम्म धाउने सबैको हैसियत पनि हुँदैन। म्यानपावर कम्पनी र विभागका कर्मचारीको आर्थिक हैसियत हुन्छ तर बौद्धिक सोच हुँदैन। हिजो चप्पल पड्काएर काठमाडौं छिरेका आज आफ्नो धरातल बिर्संदै पैसाको पछि कुदिरहेका छन्। तिनैको पक्षमा छन् विभागका कर्मचारी पनि,’ विभागमा भेटिएका पीडितले एकै स्वरमा भने।

आकर्षक वैदेशिक रोजगारीको प्रलोभनमा पारी दुःखी, गरिबलाई ठगी गर्ने म्यानपावर कम्पनीविरुद्ध उजुरी लिन आनाकानी गरेको आरोप विभागका कर्मचारीमाथि छ। ‘मानवता हराएको छ। लिखत कागजको मान्यता छैन। अपराधी र दलालविरुद्ध सरकार उभिनुपर्यो,’ पीडित भन्छन्, ‘ठगी गर्ने म्यानपावर कम्पनी र दलालविरुद्धका उजुरी दर्ता र सुनुवाइमा विलम्ब गरिदिनु भएन।’

शक्ति र पैसाको पछि कुद्ने कर्मचारीलाई पनि कारबाही हुनुपर्ने माग पीडितको छ। ‘न्यायका लागि चलाउनुपर्ने कलम रोकिएका छन्’, एक पीडितले भने, ‘विभागका अधिकांश कर्मचारीले आफ्नो दायित्व र धरातल भुलेका छन्।’ पीडितहरूले वैदेशिक रोजगार विभागका महानिर्देशक मदन दाहाललाई आफ्नो कार्यभार नभुल्न र मर्कामा परेकालाई न्याय दिलाउन सुझाएका छन्। पीडितहरूले वैदेशिक रोजगारीका नामा ठग्नेविरुद्ध स्थानीय तहमा पनि उजुरी दिन सकिने व्यवस्था गर्न माग गरेका छन्। त्यस्तै वैदेशिक रोजगारीका नाममा हुने ठगीबाट जोगाउन सरकारले गाउँगाउँमा जनचेतनाका कार्यक्रम सञ्चालन गर्नुपर्ने माग पीडितको छ। सरकारको कमजोरी, लापरबाही र जनचेतना अभावले वैदेशिक रोजगारीका नाममा ठग्ने र ठगिने क्रम बढ्दै गएको छ। विभागका कर्मचारी पीडितलाई झुलाएर ठगसँग मिलेको प्रमाण भए कानुनी कारबाही गर्ने विभागका निर्देशक गुरुदत्त सुवेदी बताउँछन्। ‘हाम्रो पहिलो प्राथमिकता भनेको पीडितलाई न्याय दिलाउनु हो,’ उनले भने।

वैदेशिक रोजगार विभागमा ठगीका उजुरीहरू बढ्दै गएका छन् भने सुनुवाइ न्यून छ। वैदेशिक रोजगारीका क्रममा ठगीमा परेकामध्ये २ हजार ८ सय ८२ जनालाई पिपुल फोरमले निःशुल्क कानुनी सहायता उपलब्ध गराएको छ। जसमा २ हजार ५ सय २१ पुरुष छन् भने ३ सय ६१ महिला छन्। वैदेशिक रोजगारीका नाममा ठगिनेमध्ये नेपालभित्रै ठगिने ६०.५२ प्रतिशत र बाँकी विदेशमा पुगेर ठगिने गर्छन्।

Published on: 12 July 2023 | Nagarik

Link

Back to list

;