s

वैदेशिक रोजगार विभाग नेतृत्वविहीन

उत्तम काप्री
 
वैदेशिक रोजगार विभाग १५ दिनदेखि नेतृत्वविहीन भएको छ। कर्मचारीसँगको मिलेमतोमा म्यानपावर कम्पनीसँग १० लाख रुपैयाँ घुस लिएको आरोपमा विभागका महानिर्देशक विश्वराज पाण्डे पक्राउ भएसँगै विभाग नेतृत्वविहीन भएको हो। पाण्डेलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंसिर २९ गते बुधबार उनकै निवासबाट पक्राउ गरेपछि विभागले नयाँ महानिर्देशक पाउन सकेको छैन। पाण्डेले सरकारी जागिरबाट अवकास पाउन ६ दिन बाँकी रहेकै अवस्थाका पक्राउ भएका थिए। अख्तिायरले उनलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको छ।
 
श्रम तथा रोजगार मन्त्रालयले पाण्डे पक्राउ भएको १५ दिन हुँदा पनि नियमित काम कारबाही गर्न कसैलाई पनि निमित्त महानिर्देशक नदिएको विभागका प्रवक्ता मोहन अधिकारीले बताए। विभागले महानिर्देशक नपाउँदा नियमित काम भए पनि निर्णण गर्नेदेखि कार्यन्वयन गर्ने काममा समस्या खडा भएको अधिकारी बताउँछन्।
 
विभाग नेतृत्वविहीन हुँदा पीडित कामदारले दिएको उजुरीका आधारमा काम कारबाही रोक्का गर्नुपर्ने म्यापावर कम्पनीलाई छुट्कारा दिन परेको उनको भनाइ छ। यसैगरी लामो समयदेखि काम कारबाही रोक्का भएका म्यानपावर कम्पनीले पीडितलाई क्षतिपूर्ति दिए पनि उनीहरूको कारबाही फुकुवा गर्ने काम रोकिएको अधिकारीले बताए।
 
‘मंसिर १३ गतेदेखि उजुरीकै आधारमा काम कारबाही रोक्का गरिएको एस इम्प्लोइमेन्ट पीडितलाई उद्धार गरिसकेको छ', उनले भने, ‘काम कारबाही फुकुवाका लागि निर्णय गर्ने व्यक्ति नहुँदा व्यवसायी मर्काका छन्।'
 
एसजस्तै दर्जनभन्दा बढी म्यानपावर कम्पनीको काम कारबाही फुकुवा गर्नेदेखि रोक्का गर्नुपर्ने काममा बढी समस्या देखिएको अधिकारीले बताए। म्यानपावर कम्पनीको काम कारबाही फुकुवा नहुँदा भिसा आएर विदेश जान तयारी अवस्थामा रहेको कामदारसमेत मर्काका परेको उनको भनाइ छ। ‘कतिपय कामदारको भिसा म्याद सकिसकेको छ भने कतिपयको भिसा म्याद पनि सकिने अवस्थामा छ', उनले भने, ‘मन्त्री तथा मन्त्रालयका उच्च तहबाट विभागको दैनिक काममा सहज बनाउन निमित्त महानिर्देशकसमेत बनाइएको छैन।'
 
सबै प्रक्रिया पूरा गरेर नयाँ म्यानपावर कम्पनी दर्ताका लागि आवेदन दर्ता गराएका व्यवसायीले समेत इजाजत पाउन नसकेको उनको भनाइ छ। मन्त्रालयका सचिव लक्ष्मणप्रसाद मैनालीले अहिले विभागमै रहेको वरिष्ठ उपसचिव रमा भट्टराईले निमित्तको रूपमा काम गरिरहेको बताए। तर, कतिपय काममा भने महानिर्देशककै निर्णय आवश्यक पर्ने हुँदा विभागमा समस्या सिर्जना भएको उनको भनाइ छ।
 
‘सचिवले महानिर्देशक कसलाई बनाउने भनेर निर्णय गर्ने अधिकार छैन', मैनालीले भने, ‘महानिर्देशक कसलाई बनाउने निर्णय गर्ने अधिकार मन्त्रीको हुन्छ, मन्त्री फरमुल्लाह मंसुर निर्वाचनमा व्यस्त छन्।' मन्त्रीलाई आफूले विभागका महानिर्देशकविहीन हुँदा देखा परेको समस्याको अवगत गराइसकेको उनले बताए।
 
मन्त्री निर्वाचनमा व्यस्त
 
श्रम तथा रोजगारमन्त्री फरमुल्लाह मंसुर भने प्रतिनिधि सभा निर्वाचनमा व्यस्त छन्। महानिर्देशकविहीन भएको खबर थाहा पाउँदा पनि उनी मन्त्रालयमा आएका छैनन्। मन्त्रीले महानिर्देशक तोक्ने काममा ढिलाई गर्दा काम कारबाही रोकुवा भएका व्यवसायी मर्काका छन्। यसैगरी काम कारबाही फुकुवा नहुँदा भिसा म्यास सकिनै लाग्दा पनि कामदार विदेश उड्न पाउने अवस्था छैन। आफू निर्वाचनमा लड्दै छु। अबको केही दिनमा काठमाडौं आएर महानिर्देशक तोक्ने मन्त्री मंसुरले बताए। ‘निर्वाचनका कारण केही ढिला भएको हो', मन्त्री मसुंरले भने, ‘महानिर्देशकविहीन हुँदा व्यवसायी, कामदार तथा विभागले भोग्न परेको समस्या मलाइ अवगत छ।'
 
Published on: 2 December 2017 | Annapurna Post

Back to list

;