s

वैदेशिक रोजगार विभाग भित्रै कुटिए म्यानपावर व्यवसायी

एक म्यानपावर व्यवसायीमाथि वैदेशिक रोजगार विभागको परिसरभित्रै कुटपिट भएको छ। वैदेशिक रोजगारीका लागि कुवेत गएर फर्किएकी एक महिलाले केपी इन्टरनेसनल ओभरसिज म्यानपावरका संचालक निर्मल राय अमातमाथि कुटपिट गरेकी हुन्।

ती महिला कुवेतमा आफू ठगिएको भन्दै वैदेशिक रोजगार विभागमा दिन पुगेकी थिइन्। उजुरी उपर छलफल गर्न विभागको कार्यकक्षमा उपस्थित भएका म्यानपावर व्यवसायी अमातमाथी ती महिलाले आफूलाई ठगेको आरोपमा हातपात गरेकी हुन्। उजुरीका बारेमा छलफल हुँदै गर्दा उजुरीकर्ताका मानिस हौँ भनी महिलालगायत अन्य व्यक्तिले विभिन्न अपशब्द प्रयोग गर्दै सञ्चालक अमातलाई हातपात, कुटपिट र गालीगलौज समेत गरिएको थियो।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारी अनुसार छलफल चलिरहेकै बेला ती महिला र उनीसँगै आएका मान्छेहरूले म्यानपावर व्यवसायीमाथि गालीगलौज, कुटपिट र हातपात गरेका हुन्। ‘ती महिलालाई म्यानपावर व्यवसायीले आफ्नै खर्चमा टिकट काटेर नेपाल ल्याएको थियो। तर, विभागमा छलफल भइरहेकै बेला व्यवसायी अमातमाथि कुटपिट भएको हो,’ उनले भने।

संघले विभागभित्रै यस्तो गैरकानुनी कार्य गर्नेहरूलाई कुनै पनि कारबाही नगर्नु गम्भीर र आपत्तिजनक रहेको जनाएको छ। गैरकानुनी कार्य गर्नेहरूलाई कडाभन्दा कडा कारबाही गर्न समेत माग गरेको छ।

Published on: 25 December 2023 | Nagarik

Link

Back to list

;