s

वैदेशिक रोजगार बचतपत्र, ५ प्रतिशत मात्र बिक्री

ममता थापा

काठमाडौं : सरकारले वैदेशिक रोजगार बचतपत्र बिक्री गर्न थालेको १३ वर्ष भयो। तर, यसप्रति आकर्षण भने न्यून देखिएको छ। वैदेशिक रोजगारमा गएकाहरूको बचतलाई परिचालन गर्न आर्थिक वर्ष २०६६-०६७ देखि आन्तरिक ऋणको रूपमा बचतपत्र बिक्री सुरु गरिएको थियो।

आर्थिक वर्ष ०७८-७९ सम्म १४ अर्ब ८ करोड ७९ लाख रुपैयाँ बिक्री गर्न आह्वान गरिएको थियो। तर, हालसम्म ७३ करोड ५९ लाख रुपैयाँबराबरको बचतपत्र मात्रै बिक्री भएको छ। यो कुल आह्वानको ५.२२ प्रतिशत मात्रै हो।

केन्द्रीय बैंकले बिक्री खुला गरेको कुल रकमभन्दा न्यून मात्र आवेदन पर्ने गरेको छ। जबकि विदेशी मुलुकमा काम गर्न जानेको संख्या क्रमशः बढ्दै छ। महिनैपिच्छे अर्बौंको विप्रेषण (रेमिट्यान्स) पनि भित्रिरहेको छ। वैदेशिक रोजगारीमा गएका नेपालीलाई लक्षित गरी निष्कासन हुँदै आएको बचतपत्रको प्रचारमा कमी, थाहा भएकाले पनि प्रक्रिया पुर्‍याउन नजान्दा र विदेशमा गएकाको पहिलो प्राथमिकता बचतभन्दा रोजीरोटीमै खर्चिनुपर्ने बाध्यताले बचतपत्रमा आकर्षण नभएको नेपाल राष्ट्र बैंकका प्रवक्ता तथा कार्यकारी निर्देशक डा.गुणाकर भट्ट बताउँछन् । साथै, बचतपत्रको फाइदाबारे खरिदकर्ताले विस्तृतमा थाहा नपाएकाले पनि बिक्री कम हुन सक्ने उनको अनुमान छ। ‘वैदेशिक रोजगारीमा गएकाको बचतलाई प्रोत्साहन गर्न र त्यसलाई राज्यको विकास निर्माणमा लगानी जुटाउन बचतपत्र जारी गरेको हो। तर, आकर्षण न्यून छ। यसको कारण अधिकांशको पहिलो प्राथमिकता आधारभूत आवश्यकता हुन सक्छ। साथै, प्रचारप्रसार र कतिपयले प्रक्रिया नपुर्‍याएकाले पनि कमी भएको हुन सक्छ,’ उनले अन्नपूर्णसँग भने। वैदेशिक रोजगारीमा गएकाहरूको आर्जनलाई राष्ट्रिय पुँजी निर्माणमा परिचालन गर्ने उद्देश्यले सरकारले वैदेशिक रोजगार बचतपत्र जारी गर्दै आएको हो।

चालू आवको ८ महिनापछि बचतपत्र बिक्री खुला

वैदेशिक रोजगारीमा संलग्न नेपाली नागरिक तथा गैरआवासीय नेपालीका लागि साढे १२ प्रतिशत वार्षिक ब्याजदरमा ५० करोड रुपैयाँबराबरको वैदेशिक रोजगार बचतपत्र बिक्री खुला गरिएको छ। नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष सुरु भएको ८ महिनापछि पहिलोपटक पाँचवर्षे बचतपत्र खुला गरेको हो।

चालू आर्थिक वर्षमा सरकारका लागि आन्तरिक ऋण जुटाउन उक्त रकमबराबरको वैदेशिक रोजगार बचतपत्र बिक्री खुला गरेको हो। केन्द्रीय बैंकले सरकारको वार्षिक तालिका सूचीअनुसार आगामी चैत्र ३ गतेसम्म वैदेशिक रोजगार बचतपत्र ‘२०८४ ‘क’ बिक्री खुला गरेको छ। बिनाजोखिम आम्दानी गर्न सकिने सो बचतपत्रको निष्कासन चैत्र १० गतेसम्म हुने केन्द्रीय बैंकको मौद्रिक व्यवस्थापन विभागले बताएको छ। यसैले उक्त व्यक्तिहरूका लागि केन्द्रीय बैंकले अफर गरेको वार्षिक १२.५० प्रतिशत ब्याज पाउनु भनेको निक्षेपकर्ताका लागि यो राम्रो अवसर हो। यो अहिले वाणिज्य बैंकको भन्दा आकर्षक ब्याजदर देखिन्छ।

नेपाल सरकारको तर्पmबाट नेपाल राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले बचतपत्र खरिद गर्नेका लागि ५ वर्षको अवधिसम्म ६-६ महिनामा ब्याज भुक्तानीको व्यवस्था गरेको छ। तर, आम्दानी भएको ब्याजमा कर भने लाग्नेछ। उक्त बचतपत्रमा गरेको लगानीलाई २०८४ चैत्र १० गते साँवासहित रकम फिर्ता हुने बताएको छ।

यो बचतपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन-दिनसमेत सकिन्छ। लगानीकर्ताले घटीमा १० हजार रुपैयाँ र बढीमा १० हजारले भाग गर्दा निःशेष भाग जाने गरी आह्वान गरिएको रकमसम्म खरिद गर्न पाउने छन्। यो वैदेशिक रोजगारीमा संलग्न नेपाली नागरिक तथा गैरआवासीय नेपालीका लागि निष्कासन गरिएको हो। यो बचतपत्र मुलुक बाहिर रोजगारीमा संलग्न वा मुलुक बाहिरको रोजगारीबाट फर्केको ६ महिना नपुगेका नेपाली नागरिक वा गैरआवासीय नेपालीले आफू वा आफ्नो परिवारको सदस्य (बुवा, आमा, श्रीमान्, श्रीमती, छोरा, छोरीमात्र) को नाममा खरिद गर्न सक्नेछन्।

राष्ट्र बैंकले वैदेशिक रोजगार बचतपत्र खरिद गर्नका लागि आवेदन बुझाउन सकिने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको बिक्री एजेन्टहरूको नाम, सम्पर्क नम्बर र खरिद प्रक्रिया वेबसाइटमा सार्वजनिक गरेको छ।

Published on: 13 March 2023 | Annapurna Post

Link

Back to list

;