s

वैदेशिक रोजगार : व्यक्तिगत जान ४ मुलुक खुला

व्यक्तिगत प्रयासमा वैदेशिक रोजगारमा जान सरकारले चार वटा मुलुकलाई मात्रै खुला गरेको छ । साउदी अरब, कतार, संयुक्त अरब इमिरेट्स -यूएई) र कुवेतका लागि खुला गरिएको हो । वैदेशिक रोजगार विभागका अनुसार व्यक्तिगत प्रयासमा गत वर्ष खाडी मुलुकमा १ लाख १९ हजार कामदार गएका थिए । तिनमा महिला १६ हजार छन् ।  

मन्त्रिपरिषद्को भदौ १५ गतेको बैठकले यस्ता कामदारलाई श्रम स्वीकृति दिने निर्देशिका पारित गर्दै यो निर्णय गरेको हो । 'अब व्यक्तिगत रूपमा जथाभावी कामदार लिन पाइने छैन,' कतार आइपुगेका बेला प्रधानमन्त्री बाबुराम भट्टराईले कान्तिपुरसँग भने, 'व्यक्तिगत रूपमा जाने कामदारलाई व्यवस्थित बनाउन सरकारले यससम्बन्धी निर्देशिका पारित गरेको छ ।' त्यस्ता कामदारको जिम्मेवारी लिने निकाय नेपालमा कोही नहुने हुँदा अलपत्र परेमा समात्ने व्यक्ति कोही हुँदैन ।

खाडीमा व्यक्तिगत श्रम स्वीकृतिमा सबैभन्दा बढी कामदार कतार आउने गरेका छन् । कतारमा धेरैजसो कामदार व्यक्तिगत प्रयासमा -तनुवा भिसा) आएका छन् । गत वर्ष मात्रै ६१ हजार यस्तो भिसामार्फत आएका छन् । यहाँको दूतावासले एक महिनाअघिबाट यसरी आउने कामदारलाई निरुसाहित गर्न व्यक्तिगत करारनामामा प्रमाणीकरण गर्नुअघि परराष्ट्र मन्त्रालयको सिफारिस चाहिने नियम अनिवार्य गरेको थियो । उसले 'हाडनाता' भित्र मात्रै कामदार ल्याउन अनुमति दिँदै आएको छ ।  

यस सम्बन्धमा विदेशस्थित नियोगहरूले आ-आफू अनुकूल नियम लागू गरेपछि दूतावासको भूमिका स्पष्ट पार्न सरकारले निर्देशका ल्याएको हो । श्रम मन्त्रालयले 'कामदार कठिनाइमा परेको, उद्धारमा समस्या देखिएको तथा उनीहरूको सुरक्षा एवं पेसामा समेत विविध समस्या आएको र विदेशस्थित दूतावासको भूमिका स्पष्ट पार्नुपरेकाले व्यक्तिगत श्रम स्वीकृतिमा वैदेशिक रोजगारमा जाने कामदारको श्रम स्वीकृतिमा जाने प्रक्रियालाई व्यवस्थित गर्न' निर्देशिका बनाएको हो ।

निर्देशिकाअनुसार नाताभित्र बाहेक रोजगारदाता कम्पनीले पनि कामदार लिएर आउन पाउने व्यवस्था छ । नाताभित्र भने सम्बन्धित व्यक्तिको 'आमा, बाबु, छोरा, छोरी, दाजु, भाइ, दिदी, बहिनी, पति, पत्नीलाई' मात्रै चार देशमा काम गर्न ल्याउन मिल्नेछ । सरकारले कम्पनी ग्यारेन्टी भएको अवस्थामा भने आउन मिल्ने व्यवस्था मिलाएको छ । त्यसका लागि 'गन्तव्य मुलुकमा कामदारले पहिले नै काम गरिसकेको खुलेमा, पहिले रोजगार गरिसकेको मुलुक र कम्पनीमा पुनः जान लागेको भए कम्पनीको सिफारिस भएमा, इन्टरनेट वा अनलाइन माध्यमबाट अन्तर्वार्ताबाट छनोट भएका अर्धदक्ष, दक्ष वा उच्च दक्ष पदमा काम गर्ने व्यक्ति' जान पाउने छन् । त्यसका लागि 'स्पोन्सरको विश्वसनीयता, निर्धारित न्यूनतम पारिश्रमिकको सुनिश्चितता, कामदारको सुरक्षा प्रत्याभूति गरिएका प्रमाण' दूतावास र वैदेशिक रोजगार विभागमा पेस हुनुपर्छ ।

दूतावासले यसका लागि भिसा, रोजगारका सेवा, सर्त, सुविधा र तलब (पारिश्रमिक) स्पष्ट उल्लेख भएको करार वा सम्झौतापत्र, रोजगारदाताको इजाजत दर्ता प्रमाणपत्रको प्रतिलिपि वा स्पोन्सरकोे परिचयपत्र, प्रतिलिपि, रोजगारदाता कम्पनीको टे्रड लाइसेन्सको प्रतिलिपि, कम्पनीको संक्षिप्त विवरण (प्रोफाइल) खोज्नेछ ।

Published on: September 2012 | Kantipur

Back to list

;