s

वैदेशिक रोजगार : ६ वर्षमा ३ सय ८८ कामदार बेपत्ता

१० वर्षदेखि आफन्त खोजीमा

दोलखाका इन्द्रबहादुर थापा दश वर्षदेखि छोरा मानबहादुर थापाको पर्खाइमा छन् । ०६६ सालमा वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया गएका २२ वर्षीय छोरासँग तीन वर्षसम्म उनको नियमित नै सम्पर्क भयो । तर, त्यसपछि छोरा सम्पर्कमा नआएको मात्रै होइन, कुनै खबर नै नपाएको सात वर्ष भइसकेको छ । द्वन्द्वकालमा केही समय सेनामा जागिर खाएर छोडेका उनी मलेसिया जानुअघिसम्म काठमाडौंमा घडी व्यवसाय गर्दै थिए । तर, धेरै पैसा कमाउने लोभमा डेढ वर्षकी कान्छी छोरी र पाँच वर्षको छोरा छोडेर उनी मलेसिया उडे । ‘फोन गर्दैपिच्छे काम गाह्रो छ बा, म कम्पनी छोड्छु भन्थ्यो,’ इन्द्रबहादुरले भने, ‘मैले पैसा कमाउनुपर्दैन, तर कम्पनी नछोड् भन्थँे । तर, मैले भनेको कुरा किन टेथ्र्याे ।’

मलेसियामा सम्पर्कविहीन भएको छोरा खोज्न इन्द्रबहादुरले ३ लाखभन्दा बढी खर्च गरिसके । तर, कसैले पत्ता लगाउन सकेनन् । ‘एजेन्टहरूले छोरा खोजिदिन्छु, पैसा दिनुस् भन्छन् । तर, कसैले पत्ता लगाउन सकेनन्,’ उनले भने । छोराको खोजीमा उनले जानेका र सुनेका सबै कार्यालय धाइसकेका छन् । तैपनि, खोजखबर पाउने आस मरेको छैन । छोरा जेल प-यो कि भन्ने उनलाई शंका छ । सोही कारण फ्री भिसा टिकट पाएदेखि आफैँ मलेसिया गएर छोरा खोज्ने उनी बताउँछन् । उनले भने, ‘फ्री भिसा पाइन्छ रे ! फ्रीमा मलेसिया जान पाए त आफैँले खोज्न सकुँला कि !’

दोलखाका थापाजस्तै काभ्रे धुनिखेल भट्टेडाँडाका समीर तामाङ मलेसियामै हराएको सात वर्ष भइसकेको छ । १० वर्षअगाडि २० वर्षे उमेरमा विदेशको रहर पूरा गर्न तामाङ मलेसिया गएको उनकी आमा सोमरानी बताउँछिन् । ‘सबै साथी विदेश गए, म पनि एक–दुई वर्ष विदेश गएर कमाएर आउँछु भनेर रहर ग-यो, अनि बाध्य भएर मलेसिया पठाएँ,’ सोमरानीले भनिनन् । मलेसिया पुगेका समीर ९ महिनासम्म निरन्तर फोनमार्फत आमासँग सम्पर्कमा रहिरहे । उक्त अवधिमा १ लाख २५ हजार पनि आमालाई पठाए । सो पैसाले छोरालाई मलेसिया पठाएको ऋण पनि तिरेर मोबाइल पनि खरिद गरिन् ।

छोरासँग धित मर्ने गरी कुरा गर्ने सोचेले मोबाइल खरिद गरे पनि सोमरानीले ९ वर्षदेखि छोरासँग कुरा गर्न पाएकी छैनन् । ‘यो मोबाइलबाट छोरालाई एकपटक मात्रै फोन गरेँ । त्यसपछि फोन नै आएन,’ मोबाइल देखाउँदै सोमरानीले भनिन्, ‘तर, यो मोबाइल एकपटक पनि बिग्रेको छैन । कुनै दिन फोन गर्छ होला ।’ समीर मलेसिया पुगेको नौ महिनापछि कम्पनी छाडेको उनका साथीहरूले सोमरानीलाई खबर गरेका थिए । त्यसपछि छोराबारे कुनै खबर पाएकी छैनन् । छोराको खबर पाउने आसमा नौ वर्षदेखि सोमरानीले समीरको फोटो लिएर काठमाडौंका सबै कार्यालय धाइरहेकी छिन् ।

वैदेशिक रोजगारीमा गएर आफन्त हराउनेमा इन्द्रबहादुर र सोमरानीजस्तै सयौँ युवाहरू वैदेशिक रोजगारीका क्रममा बेपत्ता भएका छन् । उनीहरूका आफन्त तथा परिवार यस्तै गरेर सरकारी तथा गैरसरकारी कार्यालयहरूमा भौँतारिरहेका छन् । राम्रो कमाइ गरेर परिवारलाई सुखी बनाउने कल्पनामा बिदेसिएकाहरू बेपत्ता भएपछि आश्रित परिवारको आर्थिक र मानसिक अवस्था झनै विक्षिप्त बनेको छ ।

मलेसियामा बढी बेपत्ता

प्रवासी नेपाली समन्वय समितिमा बेपत्ता भएका कामदारको खोजी गरिदिन भनेर ३ सय ८८ वटा निवेदन परेको छ । जसमध्ये ७५ जना महिला छन् । समितिको तथ्यांकअनुसार कामदार हराउने मुलुकमा सबैभन्दा अगाडि मलेसिया छ । पछिल्लो ६ वर्षमा मलेसियाबाट मात्रै दुई सयजना कामदार सम्पर्कविहीन भएका छन् । त्यस्तै, साउदीमा ६७, कुवेतमा ४६, युएईमा २३, कतारमा २२ र अन्य मुलुकमा ३० जना कामदार हराएका छन् । रोजगारीका लागि दैनिक करिब १५ सय नेपाली बिदेसिन्छन् । कामदारको हितका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत वैदेशिक रोजगार प्रवद्र्धन बोर्ड स्थापना भएको छ । तर, बोर्डसँग पनि बेपत्ता भएका कामदारको वास्तविक तथ्यांक छैन ।

किन हराउँछन् कामदार ?

वैदेशिक रोजगारीका लागि जाने कामदारहरू फरक–फरक कारणले बेपत्ता हुने प्रवासी नेपाली समन्वय समितिका कार्यकारी अधिकृत सोमप्रसाद लामिछानेले बताए । उनका अनुसार कतिपय कामदार त्यहाँको कानुन नजान्दा वा बेवास्ता गर्दा पनि जेल पर्छन् ।

जेल परेको विषयमा नेपालमा परिवारलाई जानकारी नै हुँदैन । त्यसैले सम्पर्कविच्छेद भई बेपत्ताको सूचीमा पर्ने लामिछानेले बताए । त्यस्तै, प्रेमसम्बन्ध, पारिवारिक मनमुटाब, मृत्यु, दुर्घटना, रोजगारदाताको बन्धक हुनु र व्यक्तिगत कारणले परिवारसँग सम्पर्कमा रहन नचाहनुले पनि कामदार हराउने गरेको समितिको अध्ययनले देखाएको छ ।

वैदेशिक रोजगारीमा जाने कतिपय कामदार जानी–नजानी विभिन्न आपराधिक समूहमा आबद्ध हुन पुग्छन् । पारिवारिक सम्पर्कमा रहँदा सजाय भोग्नुपर्ने भएकाले कामदारहरू सम्पर्कविहीन भएर बस्ने गरेको आप्रवासी श्रमिक अधिकारसम्बन्धी अनुसन्धानकर्ता रामेश्वर नेपालले बताए । उनका अनुसार केही कामदार भने पारिवारिक मनमुटाबका कारण पनि परिवारको सम्पर्कमा नआउने गरेको उनले बताए ।

Published on: 4 January 2020 | Naya Patrika

Link

Back to list

;