s

वैदेशिक रोजगारमा नारकीय जीवन: चारजनाको उद्धार

सुवास गोतामे

महानगरीय प्रहरी अपराध महाशाखाले परराष्ट्र मन्त्रालयसँगको सहकार्यमा धमानीकुमार सहनीसहित महोत्तरीका रवीन्द्र सहनी, वीरेन्द्र सहनी र नवलपरासीकी मालती ठकुरीलाई उद्धार गरी सोमबार नेपाल फर्काएको छ । उद्धार गरी ल्याइएका कामदारले आफूहरूले वैदेशिक रोजगारीमा अमानवीय व्यवहारको सामना गर्नुपरेको गुनासो गरेका छन् । 'कामदारलाई मानवीय व्यवहार देखाइएन, खाना समयमा खान दिइएन, काम गर्न नसक्दा पनि घिसारेर लैजान्थ्यो', धमानीकुमारले अन्नपूर्णसँग भने, 'अहिले पनि दुबईको प्लेक्स कम्पनीमा सयभन्दा बढी नेपाली कामदारले धेरै कष्ट बेहोरेका छन् ।'

मालती दुई बच्चाकी आमा हुन् । घरेलु कामदारका रूपमा डेढ लाख रुपैयाँ म्यानपावरलाई बुझाएर गत भदौमा कुवेत पुगेकी उनलाई सुरुमा शौचालय सरसफाइमा लगाइयो । उनीलगायत अन्य थुप्रै महिलालाई कुवेत पुर्‍याइएको थियो । मालतीका अनुसार राम्री र शरीर मिलेका महिलालाई डान्सबारका लागि एजेन्टले छानेर लैजान्थे ।

'कम्पनीमा पुगेपछि सुरुमै मलाई फुच्ची रहिछ, के गर्न सक्छे र यसले भनेर होच्चाइयो, शौचालय सफा गर्ने काममा पठाए, काम गरे पनि समयमा तलब नदिएपछि म त्यहाँबाट कहिले फुत्किउँजस्तो भयो, धन्न प्रहरीले उद्धार गरेर ल्यायो, अझै थुप्रै दिदीले नारकीय जीवन बिताइरहेका छन्, राज्यले चाहेमा उनीहरूको उद्धार हुन्छ,' मालतीले भनिन् ।

नुन र चिउरा खाएरै बस्नुपरे पनि अब विदेश नजाने वीरेन्द्रले बताए । 'साहुसँग लिएको ऋण कसरी चुक्ता गर्ने भन्ने चिन्ताले भने सताएको छ', उनले भने । उद्दार गरी ल्याइएका चार जनासँग घरसम्म पुग्ने बसभाडासमेत नभएपछि महाशाखाले केही रकम दिएर घर पठाएको छ । 'दुबईमा धेरै नेपाली कामदारको अवस्था दायनीय छ, परराष्ट्र मन्त्रालयसँग समन्वय गरी उनीहरूलाई उद्धार गर्ने काम भइरहेको छ', महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनालले भने ।

'साढे तीन महिनादेखि दैनिक १२ घन्टासम्म भाँडा माझ्न लगाइयो, तलब माग्दा उल्टै कुटपिट गरे, साहुसँग ऋण लिएर विदेश गएको पैसा अब कसरी तिर्ने ? ', दुबईबाट उद्धार गरी सोमबार नेपाल फकाईएका महोत्तरीका धमानी प्रहरीसमक्ष पीडा पोख्दै भने, 'एकजना अट्ने कोठामा ६ जनालाई कोचेर राख्थ्यो, त्यहाँ धेरै नेपालीको बिजोग छ ।'

धमानीकुमारसहित रवीन्द्र र वीरेन्द्र साढे तीन महिनाअगाडि समाखुसीस्थित इमरावल म्यानपावर कम्पनीमार्फत दुबई पुगेका थिए । उनीहरू साहुसँग ब्याजमा ऋण काटेर दुबई गएका हुन् । वैदेशिक रोजगारीको नाममा भइरहेको मानव तस्करी नियन्त्रण गर्न म्यानपावर कम्पनीहरूमाथि अनुसन्धान भइरहेको खनालले बताए । महाशाखाले कतार, मलेसिया, दुबईलगायत खाडी मुलुकमा अलपत्र दुई सयभन्दा बढी नेपाली कामदारलाई उद्धार गरी नेपाल फिर्ता ल्याइसकेको छ ।

Published on: 11 January 2017 | Annapurna Post

Back to list

;