s

वैदेशिक रोजगारीमा जानेका लागि तालिमको व्यवस्था

अहिले दैनिक औसतमा ११ देखि १२ सयको हाराहारीमा नेपाली युवा वैदेशिक रोजगारीमा गइरहेका छन् । वैदेशिक रोजगारीका जाने अधिकांश अदक्ष कामदार छन् । जसका कारण उनीहरू पाइलापाइलामा ठगिने गरेका छन् । सेवा–सुविधा पनि न्यून छ । हुन त हामीसँग तालिमको व्यवस्था नै नभएको भने होइन । सिटिइभिटीअन्तर्गत मात्रै देशभर ६ सयभन्दा बढी तालिम दिने संस्था छन् । इभेन्ट परियोजना, एसटिपी, सेफर माइग्रेसन, घरेलु तथा साना उद्योग कार्यालयलगायतले पनि तालिम दिइरहेको अवस्था छ । तर, त्यस्ता कतिपय संस्थाले दिने गरेको तालिम व्यावहारिक नभएको पाइएको छ । यस किसिमको पृष्ठभूमिमा वैदेशिक रोजगारलाई व्यवस्थित र थप उपलब्धिमूलक कसरी बनाउन सकिन्छ भन्ने विषयमा श्रम तथा रोजगारविज्ञ डा. हरि प्रधानले यसरी बताए :
 
अव्यवस्था कम गर्न तालिम
नेपालको निजी क्षेत्र र विभिन्न राजनीतिक दलले वेला–वेलामा वैदेशिक रोजगारी बन्द गर्नुपर्ने कुरा उठाउँदै आएका छन् । मुलुकमा राजनीतिक स्थायित्व नहुँदा र रोजगारीका पर्याप्त अवसर नहुँदा वैदेशिक रोजगारीमा जानु नेपाली युवाको बाध्यता हो । त्यसैले यसलाई जबरजस्ती गरेर रोक्न सम्भव छैन । मुलुकभित्रै रोकिने वातावरण नबनाई जबरजस्ती रोकिए अवैध किसिमले विदेश जाने विकृति बढ्न सक्छ । विदेश गएर फर्केका कामदारले स्वदेशमै प्राप्त गरेका सफलताका कथा पनि छन् । विद्यालय तहबाटै पाठ्यक्रममा स्वदेशमै उद्यम तथा रोजगारी गर्ने कार्यलाई प्रेरित गर्ने गरी आवश्यक व्यवस्था गर्न सकिन्छ । सकेसम्म बाहिर नजाने वातावरण बनाउनेतर्फ सबैको ध्यान जानु आवश्यक छ । तत्काल रोक्न नसकिने अवस्थामा तालिम अनिवार्य गर्नुपर्छ । तालिम दिएर मात्र पठाउन सकियो भने अहिलेको अव्यवस्था कम गर्न सकिन्छ ।
 
परामर्शको व्यवस्था
सकेसम्म स्वदेशमै केही गर्नेतर्फ सबैको प्रयास हुनु जरुरी छ । यसमा परिवार र समाजदेखि राज्य संयन्त्रसम्मको भूमिका हुन सक्छ । प्रायःजसोले वैदेशिक रोजगारबाट कमाउने भनेको २० देखि २५ हजार हो । त्यति पैसा त स्वदेशमै सामान्य काम गर्दा पनि आम्दानी गर्न कठिन छैन । विदेश नै जाने हो भने पनि कुनै सीप सिकाएर मात्र पठाउनुपर्छ । समस्या के छ भने युवाहरू पासपोर्ट हात पर्नेबित्तिकै बिदेसिन हतारिन्छन् । एक–दुई महिना बसेर काम सिकेर जाऔँ भन्ने धैर्य छैन । त्यसैले यसमा व्यापक प्रचार–प्रसार र सचेतनाको आवश्यकता छ । वैदेशिक रोजगारीमा रहेका जोखिमको विषयमा पनि सचेतना आवश्यक छ । विदेश गए सजिलै पैसा कमाउन सकिन्छ भन्ने धेरैमा भ्रम छ । त्यस्तो भ्रम चिर्न पनि उत्तिकै आवश्यक छ ।
 
स्थानीय बजारमै कामको अवसर
नेपालका उद्योगी व्यवसायीहरूले कामदारको अभाव भएको कुरा बताइरहेका छन् । त्यसो त भारतलगायत छिमेकी मुलुकबाट यहाँ आएर काम गर्नेहरूको संख्या निकै ठूलो छ । सानादेखि ठूला उद्योग सबैतिर विदेशी कामदार बढिरहेका छन् । कुनै–कुनै उद्योगमा त ८० प्रतिशतसम्म कामदार विदेशी रहेको अवस्था छ । हाम्रा मान्छेचाहिँ विनातालिम विदेश गएर तल्लोस्तरको काम गर्ने, हामीकहाँचाहिँ बाहिरका मान्छे आएर काम गर्ने गरेको अवस्था छ । त्यसैले यस्तो विडम्बनाको अन्त्य गर्न स्थानीय बजारमै काम गर्नेतर्फ पनि जोड दिन जरुरी छ ।
 
अनिवार्य तालिमको व्यवस्था
रोजगारीका लागि विदेश जाने कामदारलाई ती मुलुकमा मान्य हुने तालिम दिएर मात्र पठाउने व्यवस्था गर्नु अतिआवश्यक देखिएको छ । यसका लागि स्पष्ट कानुनी व्यवस्था नै गर्नुपर्ने देखिएको छ । नेपालको अर्थतन्त्र रेमिट्यान्सले धानिरहेको वर्तमानलाई हेर्ने हो भने पनि तालिम अनिवार्य गरिनुपर्छ । तत्कालका लागि सुन्दा यो धेरै कडा लाग्न सक्छ । तर यसले अन्ततः गुणात्मकतालाई बल पुग्छ । हाल वार्षिक ४ देखि ५ लाखसम्म नेपाली युवा वैदेशिक रोजगारीमा जाने गरेका छन् । त्यसमा १ प्रतिशतजति मात्र पूर्णदक्ष कामदार रहने गरेको बताइएको छ । बाँकी ७४ प्रतिशत अदक्ष र करिब २४ प्रतिशत अर्धदक्ष हुने गरेका छन् । यति ठूलो संख्यालाई कसरी तालिम दिने भन्ने प्रश्न उठ्न सक्छ । तर, तत्कालै नभए पनि क्रमशः कार्यान्वयनमा जाँदा यो असम्भव छैन । अधिकांश नेपाली निर्माण क्षेत्रमा जाने गरेको पाइन्छ । त्यसैअनुसार आवश्यक तालिमको प्रबन्ध राज्यस्तरबाट हुनु आवश्यक छ ।
 
प्रतिफलकेन्द्रित तालिम
हुन त अहिले पनि तालिमका नाममा बर्सेनि करोडौँ रुपैयाँ खर्च भइरहेको छ, तर त्यो बालुवामा पानी हालेसरह भइरहेको छ । वैदेशिक रोजगारीमा जान चाहनेलाई योजनाबद्ध रूपमा तालिम दिनुपर्छ । जुन तालिमबाट बढी प्रतिफल आउँछ, त्यसलाई उच्च प्राथमिकतामा राख्नुपर्छ । प्लम्बिङ, टेलरिङ, ब्युटिसियनजस्ता तालिम त अहिले पनि दिइँदै आएको छ । तर, त्यसको प्रतिफल के भयो भन्ने कुराको फलोअप गरेको देखिँदैन । अहिले वैदेशिक रोजगारी जानेहरूलाई विधागत सामान्य तालिम मात्र दिन सकियो भने पनि त्यसको राम्रो प्रतिफल प्राप्त हुन सक्ने देखिन्छ ।
 
योग्यता प्रणालीको कार्यान्वयन
नेपालमा व्यावसायिक शिक्षा योग्यता प्रणाली (टिभिइपिपी­) सुरु भएको छ तर यसको कार्यान्वयन त्यति अगाडि बढ्न सकेको छैन । यसलाई गति दिनु आवश्यक छ । तालिम लिएर त्यसको प्रमाणीकरण हुन थालेपछि घरेलु तथा वैदेशिक रोजगार बजारमा त्यो सर्टिफिकेट मान्य हुन्छ । हुन त अहिले पनि सिटिइभिटीमा राष्ट्रिय सीप परीक्षण समिति छ । तर, त्यसले जारी गरेको प्रमाणपत्र विदेशमा त के नेपालमै पनि कतिपय ठाउँमा मान्य नहुने अवस्था छ । योग्यता प्रणाली लागू गर्ने भनिए पनि त्यसले सर्टिफिकेट जारी गर्न भने थालिसकेको छैन । जहाँसुकै तालिम लिए पनि योग्यता प्रणालीअन्तर्गत जाँच दिने र प्रमाणपत्र लिने व्यवस्था गर्नुपर्ने हुन्छ । यो प्रणालीमा तालिम लिनेलाई सम्बन्धित कामसँग जोडेर लैजान जरुरी छ । हामीकहाँ तालिमको प्रतिफल जाँच्ने तथा अनुगमन गर्ने पद्धतिकै अभाव छ । यद्यपि अहिले नीतिगत सुधारका काम भइरहेका छन् ।
 
तालिममा सुधार तथा पाठ्यक्रम विकास
राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा बिकाउ हुने किसिमको पाठ्यक्रम हो कि होइन भन्ने कुुरा निकै महत्वपूर्ण हुन्छ । हामीसँग अझै पनि थुप्रै विषयका पाठ्यक्रम तयार हुन नसकेको अवस्था छ । हामीले अहिले दिइरहेको तालिम ठीक छ कि छैन, पहिले त्यसलाई विचार गर्नु आवश्यक छ । तालिमका लागि तालिम मात्रै दिनुको औचित्य छैन । कसका लागि कुन किसिमको तालिम दिने भन्ने कुरादेखि लिएर त्यसका लागि आवश्यक पाठ्यक्रम र प्रशिक्षकको व्यवस्था महत्वपूर्ण हुन्छ । हाल नेपालमा २ सय ५० भन्दा बढी कामका क्षेत्र पहिचान भएका छन् । त्यसमध्ये ३० जतिको मात्रै पाठ्यक्रम तयार भएको छ । प्रशिक्षक प्रशिक्षण पनि उत्तिकै आवश्यक छ । तालिमको कुरा गर्दा तालिम दिने संस्थाको कुरा पनि उत्तिकै महत्वपूर्ण हुन्छ । तालिम लिइसकेपछि कुनै पनि व्यक्तिले सोझै बजारमा गएर सम्बन्धित काम गर्न सक्ने हुनुपर्छ । तालिम सँगसँगै तालिमपछि कामका लागि कहाँ पठाउने भन्ने पूर्वतयारी पनि आवश्यक हुन्छ ।
 
अनुगमनको व्यवस्था
श्रम तथा रोजगार मन्त्रालयले सुरक्षित आप्रवासन परियोजना सुरु गरेको छ । सुरुमा हामीले ३ महिनाको तालिम राखेका थियौँ । त्यसमा तालिमको नाममा तालिम नभएर त्यसलाई परिणाममुखी बनाउन अनुमगन संयन्त्रको पनि परिकल्पना गरिएको थियो । सरकारले सञ्चालन गर्ने सबैजसो तालिममा त्यस किसिमको अनुगमन संयन्त्रको विकास गर्न जरुरी छ ।
 
एकीकृत तालिम प्रणाली
धेरैलाई तालिम दिनेभन्दा पनि पूर्णरूपको तालिममा जोड गर्नु जरुरी छ । यसको मतलब जुन तालिम हो, त्यसबाट प्रशिक्षार्थीलाई सम्बन्धित काममा दक्ष बनाउनुपर्छ । अहिले विभिन्न निकायमा तालिमका परियोजनाहरू छरपस्ट अवस्थामा छन् । त्यस्ता तालिमलाई एकैठाउँबाट सञ्चालन गर्ने संयन्त्र विकास गर्न सकिन्छ । त्यसका लागि सिटिइभिटीलाई व्यवस्थित गरेर जानसमेत सकिन्छ । अहिले तालिम लिन चाहनेका लागि नै कुन तालिम कहाँबाट लिने भन्ने निकै ठूलो अन्योलको विषय छ ।
 
Published on: 7 September 2017 | Naya Patrika

Back to list

;