s

वैदेशिक रोजगारीमा जाने १७ प्रतिशत घटे

प्रतिनिधि र प्रदेशसभा निर्वाचनका कारण चालु आर्थिक वर्षको मंसिरमा वैदेशिक रोजगारीमा जाने कामदारको संख्या १७ प्रतिशत घटेको छ। मंसिरमा ५२ हजार सात सय ८३ जना रोजगारीका लागि विभिन्न देश पुगेका छन्। वैदेशिक रोजगार विभागका अनुसार कात्तिकको तुलनामा यो संख्या करिब आठ हजार कम हो।
 
विभागका प्रवक्ता मोहन अधिकारीले कात्तिकमा रोजगारीका लागि श्रम स्वीकृति लिँदै विदेश जानेको संख्या ६० हजार पाँच सय ७३ रहेको जानकारी दिए। निर्वाचनसँगै विदेशबाट कामदारको मागमा कमी आउँदा पनि रोजगारीमा जानेको संख्या क्रमशः घटेको उनको भनाइ छ।
 
उनका अनुसार मंसिरमा २४ सय २३ जना महिला कामका लागि विदेसिएका छन्। कात्तिकको तुलनामा मंसिरमा वैदेशिक रोजगारीका जाने महिलाको संख्यामा आठ सयभन्दा बढीले कमी आएको छ। कात्तिक महिनामा रोजगारीका लागि विदेश जानको महिलाको संख्या ३२ सय ८२ जना थियो।
 
नयाँ कामका लागि २८ हजार
 
चालु आवको मंसिर महिनामा म्यानपावरमार्फत नयाँ कामका लागि विदेश जानेको संख्या २७ हजार नौ सय ६५ पुगेको छ। निर्वाचन भए पनि कात्तिकको तुलनामा नयाँ कामका लागि विदेश जानेको संख्यामा भने खासै असर गरेको देखिन्न। कात्तिकमा म्यानपमावरमार्फत नयाँ कामका लागि २८ हजार पाँच सय २२ जना गएका थिए। तर, बिदामा आई पुनः फर्कनेको संख्यामा भने कात्तिकको तुलनामा मंसिर महिनामा झन्डै सात हजारले कमी आएको छ। कात्तिकमा बिदामा आई पुनः विदेश फर्कनेको संख्या २८ हजार सात सय ७७ थियो। यो संख्या मंसिरमा घटेर २१ हजार ९ सय २९ मा झरेको थियो।
 
फेरि पहिलो गन्तव्य कतार खाडी राष्ट्रले कतारमाथि नाकाबन्दी लगाएसँगै नेपालबाट कतार जाने कामदारको संख्यामा कमी आएको थियो। जुन ५ तारेखदेखि कतारमा खाडीका सात राष्ट्र साउदी अरब, दुबई, कुवेत, ओमन, बहराइनलगायतले कतारमाथि आतंकवादीलाई सहयोग गरेको भन्दै नाकाबन्दी लगाएका थिए।
 
कतारमा नाकाबन्दी सुरु भएसँगै नेपाली कामदारका लागि मलेसिया पहिलो गन्तव्य बनेको थियो। तर, मंसिरमा नयाँ काममा लागि विदेश जानेमध्ये सबैभन्दा बढी कतार पुगेका छन्। मंसिरमा नेपालबाट ८ हजार पाँच सय ५९ जना कामदार कतार गएका छन्। दोस्रो गन्तव्यका रूपमा मलेसिया पनि आठ हजार तीन सय ६५ जना कामदार गएका छन्। कात्तिकमा कतार जानेको संख्या सात हजार पाँच सयको हाराहारीमा थियो भने मलेसिया जानेको संख्या आठ हजार आठ सय ७३ थियो। मंसिरमा नयाँ रोजगारीका लागि चार हजार चार सय ९८ जना दुबई, तीन हजार तीन सय ९० जना साउदी अरब र १६ सय १६ जना कामदार कुबेत पुगेका छन्।
 
Published on: 31 December 2017 | Annapurna Post

Back to list

;