s

वैदेशिक रोजगारीमा सूचना प्रवाह

पुनम थपलिया

वैदेशिक रोजगारको इतिहास नेपालको सन्दर्भमा आन्तरिक द्वन्द्वपश्चात् मौलाएको देखिन्छ । वैदेशिक रोजगार नेपाली युवाका लागि एउटा गतिलो गन्तव्य भएको छ । यद्यपि भारतको बजारमा कामदारको रूपमा काम गर्न गएकालाई वैदेशिक रोजगारीका रूपमा हेर्ने परम्परा नेपालमा विकास भएको छैन र यो एउटा बहसको विषय भएको छ किनभने पैसा त भारतबाट पनि नेपालमा भित्रिरहेको छ । वैदेशिक रोजगारले हाम्रो देशमा सकारात्मक तथा नकारात्मक छाप छोडिरहेको छ । ४० लाख नेपाली श्रमिक वैदेशिक रोजगारमा संलग्न भई काम गरिरहेको तथ्यांक हामीसँग छ ।

वैदेशिक रोजगारका मुख्य कारण रोजगारीको अभाव, राजनीतिक अस्थिरता जेजे भने पनि नेपाली युवामाझ वैदेशिक रोजगारको आकर्षण बढ्दो छ । यसको कारणले नेपालमा विप्रेषणको प्रवाहमा वृद्धि भएको देखिन्छ जसले गर्दा दैनिक उपभोग्य जीवनमा, स्वास्थमा तथा शिक्षामा सकारात्मक परिवर्तन भएको विभिन्न अध्ययनले पुष्टि गरिसकेको छ । महिलाहरू घरमुली भएर घर सम्हाल्न सक्ने भएका छन् भने बालबालिकाको शिक्षाको गुणस्तरमा विकास भएको छ ।

यो आर्थिक वर्षमा ५ लाखभन्दा बढी नेपाली युवाले श्रम स्वीकृति लिएको देखिन्छ । अन्य अवैधानिक तवरबाट अथवा भारतलगायत देश हुँदै कामको खोजीमा गएका कामदारको संख्या यसमा उल्लेख छैन । त्यसकारण बाहिरिनेको संख्या योभन्दा बढी नै छ भनी अनुमान गर्न सकिन्छ । वैदेशिक रोजगार प्रवद्र्धन बोर्डबाट १ हजारभन्दा बढी मृतकका परिवार आर्थिक क्षतिपूर्तिबाट लाभान्वित भएको देखिन्छ । त्यसैगरी ५०० भन्दा बढी बिरामीले उपचार खर्च प्राप्त गरेको देखिन्छ । तर अझ पनि गाउँगाउँसम्म जनमानसमा नेपाल सरकारमार्फत आर्थिक सहयोग पाउन सकिन्छ भन्ने जानकारी छैन । त्यसैले पनि यस किसिमको सूचना सर्वसाधारणसमक्ष पुर्‍याउन जरुरी छ । अन्योल र पर्याप्त जानकारी अभावमा आर्थिक सहायता लिनबाट परिवारहरू वञ्चित छन् ।

यद्यपि वैदेशिक रोजगारमा जानेमा अधिकांश अदक्ष कामदारको बाहुल्य छ । वैदेशिक रोजगारमा माग भएबमोजिम सीपमूलक तालिम लिएर सम्बन्धित देशको नियमकानुनबारे जानकारी लिएर, आफूले काम गर्न जाने कम्पनीबारे विस्तृत जानकारी लिएर, आफूले पाउनुपर्ने तलबसुविधाका बारेमा सही सूचना लिएर, सबै कागजात सही तरिकाले जाँचबुझ गरेर आफूसँग राख्न पनि जरुरी छ । त्यसैगरी एकप्रति परिवारका सदस्यलाई दिनेदेखि सम्बन्धित निकायको नम्बर तथा अन्य विषयमा जानकार नभई कामदार बिदेसिने प्रचलन पनि उत्तिकै छ । किनभने वैदेशिक रोजगारमा जानेमा एसएलसीभन्दा कम शैक्षिक योग्यता भएका, १८–४४ उमेर समूहका, निम्नमध्यम वर्गका, ग्रामीण क्षेत्रका तथा अदक्ष कामदारको बाहुल्य छ । वैदेशिक रोजगारमा जान मानसिक, पारिवारिक, सामाजिक तथा आर्थिक रूपमा तयार भई निर्णय गर्नुपर्छ । 

वैदेशिक रोजगारमा जान चाहने जोकोहीले सहज रूपमा आधिकारिक सूचना प्राप्त गरून् भन्ने उद्देश्यले विभिन्न जिल्लामा वैदेशिक रोजगारसम्बन्धी सूचना केन्द्रको स्थापना भएको छ । वैदेशिक रोजगारमा जानुपूर्व, विदेश जाँदाको अवस्था, विदेशमा काम गर्दाको अवस्था, नेपाल फर्केर आएपछि तथा विदेशमा काम गर्दाको अवस्थामा अंगभंग हुँदा, मृत्यु हुँदा तथा विदेशमा अलपत्र परेमा भनेबमोजिमको काम, तलब, भत्ता नपाएको लगायत अन्य अवस्थाबारे केके कुरामा ध्यान दिनुपर्छ ? सम्बन्धित निकाय कहाँ कहाँ छन् र कुन कुन हुन् भन्नेबारे सम्पूर्ण जानकारी लिन जरुरी छ । कामदारले अपनाउनुपर्ने प्रक्रिया तथा के गर्ने, के नगर्ने तथा सम्बन्धित कागजातबारे पनि जानकारी लिन आवश्यक छ ।

सूचना केन्द्र सञ्चालन गर्न विभिन्न सूचना, शिक्षा र सञ्चारका सामग्री, वृत्तचित्र निर्माण भएका छन् तर सम्प्रेषणको सन्दर्भमा सबैमा समन्वयको कमी देखिन्छ । नेपालमा जति पनि सञ्चालनमा आएका वैदेशिक रोजगारीसम्बन्धी सूचना केन्द्र छन्, केन्द्रीय स्तरबाट ती केन्द्रसँग अनुगमन, अवलोकन हुन सकिरहेको छैन । केन्द्रले प्रदान गरिरहेको सेवामा प्रभावकारी रूपमा एकरूपता अपनाउन सकिएको छैन । त्यसैगरी वैदेशिक रोजगार सूचना तथा परामर्श केन्द्र, सूचना केन्द्र राहदानी विभाग, श्रम डेस्क, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल लगायत जिल्लामा सञ्चालित सूचना केन्द्रको कार्यप्रणाली तथा सूचना प्रवाहमा एकरूपता ल्याउनु साथै केही सूचना केन्द्रलाई नमुनाका रूपमा स्थापित गर्न सकेमा अन्य सूचना केन्द्रको पनि क्षमता विकास गर्न सजिलो हुनेछ । किनभने गाउँस्तरमा वैदेशिक रोजगारमा जानका लागि इच्छुक व्यक्तिका लागि भरपर्दो व्यक्ति भनेको एजेन्ट नै हो । एजेन्टको सम्पर्कपश्चात् मात्र म्यानपावर एजेन्सीसम्म आइपुग्न सकिन्छ । कामदारले सूचना एजेन्टका भरमा मात्र पाइरहेका हुन्छन् जुन कतिपय अवस्थामा अपुग हुन्छ । 

Published on: 6 March 2017 | Kantipur

Back to list

;