s

वैदेशिक रोजगारीमा लैङ्गिक विभेद घटेन

नेपालको संविधानले स्वदेशी वा विदेशी सबै प्रकारको रोजगारीका अवसरमा लैङ्गिक विभेद नहुने व्यवस्था भए पनि वैदेशिक रोजगारीमा हुने लैङ्गिक विभेद हट्न नसकेको प्रतिवेदन सार्वजनिक भएको छ ।

राष्ट्रिय मानवअधिकार आयोगले तयार गरेको ‘आप्रवासी कामदारको अधिकारको अवस्था’ विषयक अध्ययन प्रतिवेदनले वैदेशिक रोजगारीमा लैङ्गिक विभेद कायमै रहेको उल्लेख छ । वैदेशिक रोजगार ऐन, २०६४ ले वैदेशिक रोजगारीमा लैङ्गिक विभेद नगरिने भनेको भए पनि नेपाल सरकारले महिलालाई कहिले

‘प्रतिबन्ध’ त कहिले ‘उमेरहद’ तोक्ने विभेदकारी नीति लिएको प्रतिवेदनमा उल्लेख गरिएको छ । आयोगका सदस्य सुदीप पाठकले वैदेशिक रोजगारीमा जाने महिलालाई सरकारले विशेष संरक्षणको व्यवस्था गर्नुपर्नेमा त्यस विषयमा कुनै पहल नै नगरी “प्रतिबन्ध” नै समस्याको समाधान ठान्नुले महिला झन् ठूलो जोखिममा परेको बताउनुभयो । उहाँले भन्नुभयो, सरकारले ‘प्रतिबन्ध’ र ‘उमेरहद’ लाई समाधानको उपाय ठाने पनि त्यसले महिलालाई तेस्रो मुलुक पुर्यात्साहन गरेको छ । खुला सिमाना र नेपालकै अन्तर्राष्ट्रिय विमानस्थलको प्रयोग गरी महिलालाई प्रतिबन्धित देशमा पुर्याउने काम भइरहेको छ । परराष्ट्र तथा श्रम समितिको प्रतिवेदनमा खाडी राष्ट्रमा अवैध तरिकाले पुर्याइएका घरेलु कामदारमध्ये ६० प्रतिशत नेपालकै विमानस्थलबाट भिजिट भिसा वा सेटिङमा पुर्याइएको उल्लेख गरिएको छ ।

प्रतिवेदन अनुसार त्यस्तो सेटिङमा विमानस्थलमा कार्यरत अध्यागमनका कर्मचारी, सुरक्षाकर्मी वायुसेवा कम्पनीका कर्मचारी र बिचौलियाको प्रत्यक्ष संलग्नता रहेको पाइएको छ । यस्तै घरेलु काममा लागि विदेश जाने महिलामध्ये ४० प्रतिशत भारतका विभिन्न सहर श्रीलङ्का, चीन र अन्य अफ्रिकी राष्ट्र हुँदै खाडी पु¥याएर बेच्ने गरिएको छ । साउदी अरबस्थित नेपाली राजदूतावासको एक अध्ययनले त्यहाँ अनौपचारिक माध्यमबाट पुर्याइएका÷पुगेका महिलाको सङ्ख्या ७० हजार रहेको उल्लेख गरेको छ । अहिलेसम्म श्रम सम्झौता लिएर वैदेशिक रोजगारीमा जाने महिलाको सङ्ख्या दुई लाख १८ हजार २७३ पुगेको छ । यो वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएकाको कुल सङ्ख्यामा पाँच प्रतिशत मात्रै हो ।
रोजगारीका नाममा बेचबिखन

यस्तै मानवअधिकार आयोगले वैदेशिक रोजगारीका नाममा मानव बेचबिखन भइरहेको जनाएको छ । वैदेशिक रोजगार र स्थानीय एजेन्टले कामको मूलभूत पक्ष (काम, रोजगारदाता, पारिश्रमिक, कार्यघण्टा)का बारेमा झुक्याई कामदार भर्ना गर्ने गरेको आयोगको अध्ययन प्रतिवेदनमा उल्लेख छ । अत्यधिक वा गैरकानुनी शुल्क, कामको प्रकार, पारिश्रमिकलगायतका कुरामा शोषणमा पर्ने गरेको हुँदा अन्तर्राष्ट्रिय मानवअधिकार कानुन एवं नेपालको मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ ले गरेको परिभाषाअनुसार यस्तो काम मानव बेचबिखन तथा ओसारपसार अन्तर्गत पर्ने भएकाले पीडकलाई सोही कानुनमा टेकेर कारबाही गरिनुपर्नेमा प्रतिवेदनले जोड दिएको छ ।

श्रम स्वीकृति लिने घटे

स्वदेशमा रोजगारीको अवसर नपाएर वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनेको सङ्ख्या अघिल्लो वर्षको तुलनामा यो वर्ष घटेको छ । वैदेशिक रोजगार विभागका अनुसार नेपालबाट यो वर्ष गत वर्षको तुलनामा एक लाख तीन हजार ८५७ जना कमले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन् ।

अघिल्लो वर्ष नयाँ तथा नवीकरणसहित छ लाख १२ हजार ६८५ जनाले रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिएकोमा त्यो सङ्ख्या यस वर्ष पाँच लाख आठ हजार ८२८ ले मात्रै अन्तिम श्रम स्वीकृति लिएका छन् । यो वर्ष वैदेशिक रोजगारीमा जानेको सङ्ख्या घट्नुमा मलेसियाको रोजगारी रोकिनुलाई मुख्य कारण मानिएको छ ।

आर्थिक वर्ष २०७४÷७५ मा मलेसिया जानका लागि अन्तिम श्रम स्वीकृति लिनेको सङ्ख्या एक लाख ३७ हजार ३११ रहेकोमा पछिल्लो आर्थिक बर्ष २०७५÷७६ मा मलेसिया जान अन्तिम श्रम स्वीकृति लिनेको सङ्ख्या ४२ हजार १४६ रहेको छ । यो तथ्याङ्कले पछिल्लो १४ महिनामा मलेसियाको लागि अन्तिम श्रम स्वीकृति लिनेको सङ्ख्या मात्र ९५ हजार १६५ जनाले घटेको देखिन्छ ।
मलेसियामा नेपाली श्रमिक पठाउने विषयमा अहिले जस्तै अन्योल रहिरहेमा अर्को वर्ष यो सङ्ख्या अझै घट्ने बताइएको छ । मलेसियाको रोजगारीमा जाने श्रमिकसँग स्वास्थ्य परीक्षणको नाममा नेपाली युवामाथि आर्थिक शोषण भएको भन्दै श्रममन्त्री गोकर्ण विष्टले २०७५ जेठ २ गते रोक लगाउनुभएको थियो । गएको कात्तिक १२ गते नेपाल र मलेसियाबीच शून्य लागतमा नेपाली श्रमिक लैजाने विषयमा सम्झौता भएको थियो तर अहिलेसम्म कलिङ भिसामा आएका र पहिले नै श्रम स्वीकृति लिएकाबाहेक नयाँ श्रम स्वीकृति लिएर जान पाएका छैनन् ।

वैदेशिक रोजगार व्यवसायी कम्पनीले भने सरकारको पछिल्ला नीतिका कारण वैदेशिक रोजगारीमा जाने नेपालीको सङ्ख्या घटेको दाबी गरेका छन् । पछिल्लो समय सरकारले नेपाली कामदारको सुरक्षा र श्रमको ग्यारेन्टीका लागि भन्दै सम्बन्धित देशको दूतावासले प्रमाणीकरण गरेको डिमान्डमा मात्र म्यानपावर कम्पनीले कामदार पठाउन पाउने व्यवस्था छ ।

Published on: 19 July 2019 | Gorkhapatra

Back to list

;