s

वैदेशिक रोजगारीमा जाने महिला कामदारले जान्नैपर्ने विषय

रमा भट्टराई
 
मुलुकमा पर्याप्त उद्योग–धन्दा, कलकारखानाको विकास हुन नसक्दा र रोजगारको अवसर न्यून हुँदा आमनेपालीका लागि वैदेशिक रोजगारी बाध्यताको विषय बनेको छ । वर्तमान समयमा कुनै पनि नेपाली घरपरिवार प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा वैदेशिक रोजगारीसँग जोडिएका छन् । कतिपय सामाजिक तथा आर्थिक परिवेश र बाध्यताले पछिल्लो समय महिला कामदार पनि वैदेशिक रोजगारीमा जान थालेका छन् । पुरुष कामदारकै लागि सुरक्षित हुन नसकेको वैदेशिक रोजगारी महिला कामदारका लागि झन् चुनौतीपूर्ण रहेको छ । दुई वर्षदेखि वैदेशिक रोजगार विभागमा निर्देशकका रूपमा कार्यरत रमा भट्टराईले महिला कामदारका लागि वैदेशिक रोजगारीमा जाँदा अपनाउनुपर्ने सावधानी र सचेतताको विषयमा यस्ता सुझाव दिएकी छन् :
 
स्वयं सचेत हुनुपर्छ 
 
वैदेशिक रोजगारीमा गइसकेपछि महिलाहरू दोहोरो, तेहरो समस्यामा पर्ने गरेका छन् । महिलाहरूलाई श्रमशोषण गर्ने, काम गरेको पैसा नदिने, फरक काममा लगाउनेदेखि यौन शोषणको सिकारसमेत हुने गरेको अवस्था छ । एकातर्फ सरकारले घरेलु कामदारका रूपमा महिलालाई वैदेशिक रोजागरीमा जान रोक लगाएको छ । तर, एउटा काममा भनेर गएका महिलालाई घरेलु काममै लगाउने गरेको पाइन्छ । यस्ता विषयमा स्वयं जाने मान्छे नै सचेत हुन सक्यो भने ठगीबाट बच्न सकिन्छ । यस किसिमका जोखम निर्मूल गर्ने र ठगी रोक्ने अर्को उपयुक्त उपाय देखिँदैन । विद्यमान कानुनी व्यवस्थाअनुसार एउटा काम भनेर विदेश लैजाने र रोक लगाइएको घरेलु काममा लगाउँदासमेत कडा कारबाही गर्न नसकिने अवस्था छ । त्यस किसिमको जोखिमबाट बच्न कुन कम्पनीमा जाने हो, के कामका लागि जाने हो भन्नेजस्ता कुरा स्वयं कामदारले नै हेक्का राख्नुपर्ने हुन्छ । कथंकदाचित सम्झौताभन्दा फरक काममा लगाएको अवस्थामा स्वदेश फर्किन र क्षतिपूर्ति भराउने कार्यमा विभागले सहयोग गर्छ ।
 
घरेलु कामदारका रूपमा नजाने
 
हालका दिनहरूमा कुनै निश्चित मुलुकमा महिला कामदार जानै नपाउने भन्ने छैन । केही समयअगाडि कुवेत र खाडी मुलुकमा महिला कामदार पठाउन रोक लगाइएको भए पनि हाल खुला भइसकेको छ । पुरुषहरू जाने देशमा महिला कामदार जान मिल्ने व्यवस्था छ । तर, गएको जेठदेखि घरेलु कामदारका रूपमा भने खासगरी खाडी मुलुकहरूमा महिला कामदार पठाउन प्रतिबन्ध लगाइएको छ । घरेलु कामदारका लागि दिइने श्रम स्वीकृति नै रोकिएको छ । तर, खाडी मुलुकमै नेपाली महिला घरेलु कामदारका रूपमा उच्च माग छ । केही समयअगाडि घरेलु कामदारका रूपमा अफ्रिकन महिलाहरू खाडी मुलुक जाने गरेको अवस्था थियो । तर, अफ्रिकन महिलाहरू कालो वर्णका हुने भएकाले त्यहाँका बालबालिकाहरू डराउने र तर्सिने भएपछि उनीहरूको ठाउँमा नेपाली महिलाहरूको माग उच्च भएको हो । त्यसैको मौका छोपी मानव तस्करहरूले नेपाली महिला कामदार घरेलु कामदारका रूपमा खाडी पुर्‍याउँदै आएका छन् । त्यहाँको धार्मिक, सांस्कृतिक तथा सामाजिक परिस्थितिमा नेपाली महिलालाई काम गर्न निकै कठिन छ । कतिपय महिला यौनजन्य हिंसाको सिकारसमेत भएका छन् । त्यहाँको काफ्ला प्रणालीमा मालिकले स्वीकृति नदिएसम्म आफ्नै देशमा पनि फर्किन नपाउने व्यवस्था छ भने काम चित्त नबुझेको अवस्थामा अर्को कुनै साहुकहाँ काम सक्ने अवस्थासमेत रहँदैन । यस्तो अवस्थामा महिला कामदारका लागि खाडीको घरेलु कामदारको पेसा बन्धक बसेजस्तो, जेल बसेजस्तो हुन्छ ।
 
श्रम स्वीकृति लिएर मात्रै जाने
 
घरेलु कामदारका रूपमा महिलालाई वैदेशिक रोजगारीमा जान सरकारले रोक लगाएको छ । तर, भारतको खुला सीमा भएर महिला कामदारलाई घरेलु कामदारका रूपमा खाडी मुलुक पुर्‍याउन विभिन्न गिरोह सक्रिय रहेका छन् । त्यसरी अवैधानिक तवरमा विदेशमा लुकेर बसेका नेपाली महिला कामदार कति छन् भन्ने कुनै निश्चित तथ्यांक छैन । त्यसरी गएर अलपत्र परेका महिलाले घरपरिवार र विदेशस्थित दूतावासको सम्पर्कमा आउन सकेको खण्डमा उद्धार गर्न सकिने सम्भावना हुन्छ । तर, खाडी मुलुक पुर्‍याएर बन्धक बनाएर राखिने भएकाले परिवारको सम्पर्कमा आउन पनि असम्भवजस्तै हुन सक्छ । त्यसैले वैदेशिक रोजगारीमा जानै परे श्रम स्वीकृति लिएर वैधानिक तवरबाट मात्रै जानुपर्ने हुन्छ ।
 
पर्यटक भिसामा जानै नहुने
 
पर्यटक भिसामा कामदारहरू विदेश पठाउने कार्य वैदेशिक रोजगारीमा सबैभन्दा ठूलो समस्याका रूपमा रहेको छ । वैदेशिक रोजगारीका नाममा म्यानपावरभन्दा बाहिरबाट तथा सरकारी व्यवस्थाविपरीत दलालहरूले भारतको बाटो भएर पनि महिलालाई विदेश पुर्‍याउने गरेका छन् । पर्यटक भिसामा लगेर मानव तस्करी गर्ने गरेका घटना पनि बढ्न थालेको सुनिँदै आएको छ । त्यसतर्फ वैदेशिक रोजगारीमा जाने सबै महिलाको ध्यान जान जरुरी छ । वैदेशिक रोजगारीमा जाने हो भने श्रम स्वीकृति लिएर कामदार भिसामै जानुपर्ने हुन्छ । यस्तो हुँदा ठगिने र विदेशमा अलपत्र पर्ने सम्भावना कम हुन्छ ।
 
भारतको बाटो भएर नजाने
 
कानुनतः भारत तथा अन्य तेस्रो मुलुकको बाटो भएर वैदेशिक रोजगारीमा जान मिल्दैन । तर, दलालले घरेलु कामदारका रूपमा त्यस्तो बाटो प्रयोग गरी महिलाको मानव तस्करी गर्दै आएका छन् । भारतसँगको खुला सीमाले गर्दा हाम्रो वर्तमान प्रशासनिक संयन्त्रले त्यस्तो कार्य पूर्ण रूपमा नियन्त्रण गर्न सक्ने अवस्था छैन । यस्तो कार्यमा संलग्न गिरोहलाई नियन्त्रण गर्न वैदेशिक रोजगार विभाग सक्षम हुने कुरा पनि भएन । यस्तो अवस्थामा सबैभन्दा उत्तम विकल्प भनेकै गाउँ–गाउँका महिला वैदेशिक रोजगारीमा जाँदा आवश्यक विषयमा जानकार र सचेत हुनु हो ।
 
म्यानपावरमार्फत मात्रै जाने
 
वैदेशिक रोजागरीमा जान चाहने महिला कामदारले त्यसका लागि सरकारले तय गरेको विधि प्रक्रियाअन्तर्गत म्यानपावरमार्फत जाँदा तुलनात्मक रूपमा बढी सुरक्षित हुन सकिन्छ । त्यसरी जाने कामदारको २ वर्षसम्मको जिम्मेवारी सम्बन्धित म्यानपावरले लिन्छ । गन्तव्य मुलुकमा पुगिसकेपछि सम्झौताअनुसारको काम, तलब र अन्य सुविधा पाउन नसकेको अवस्थामा फर्काउने उत्तरदायित्व पनि सोही म्यानपावरको हुन्छ । म्यानपावरमार्फत जाँदा कानुनअनुसार वैदेशिक रोजगार विभागमा उजुरी गर्न सकिने र विभागले राहत, उद्धार र क्षतिपूर्तिका लागि त्यस्तो म्यानपावरलाई ताकेता गर्न सक्ने अवस्था रहन्छ ।
 
वैदेशिक रोजगारीमा जाँदा व्यक्तिगत तथा संस्थागत दुवै किसिमबाट जान सक्ने अहिलेको व्यवस्था छ । जसअनुसार साथीभाइ, आफन्त, आफ्नै गाउँको मान्छेलगायतको सम्पर्कको माध्यमबाट व्यक्तिगत श्रम स्वीकृतिमा महिलाहरूसमेत वैदेशिक रोजगारीमा गइरहेका छन् । यसरी जाँदा सम्बन्धित व्यक्ति आफैँ सचेत हुन नसक्दा ठगिने अवस्था आउँछ । त्यस्ता मान्छेले यस्तो भिसा आएको छ, व्यक्तिगत रूपमा जानुपर्ने हुन्छ भनेर कसैले भन्छ भने त्यसैमा शंका गर्नुपर्ने हुन्छ । विदेशमा कोही आफ्नै मान्छेले भिसा पठाएको हो र आफैँले सबै प्रक्रिया पुर्‍याएर जानुपर्ने हो भने त्यसमा जोखिम कम हुन सक्छ । तर, दलालका रूपमा विदेश पठाउने मान्छेको पछि लागेर व्यक्तिगत रूपमा विदेश नगएकै राम्रो हुन्छ ।
 
गाउँका लेखपढ गर्न नजानेका अथवा सामान्य लेखपढ गरेका महिलाले आफैँ खर्च हाल्ने र उनीहरूलाई सिकाएर यस्तो–यस्तो भन्नुपर्छ भनेर कसैले भन्छ भने त्यस्ता मान्छेमार्फत वैदेशिक रोजगारीमा जानुहुँदैन । कतिपयले त्यसलाई मानवअधिकार, काम गर्न जान पाउने महिलाको स्वतन्त्रताजस्ता नाममा पनि व्याख्या गर्ने गरेको पाइन्छ । तर, महिलाको सुरक्षाको दृष्टिकोणबाट भन्ने हो भने यस्तो विषयमा सावधानी अपनाउनैपर्ने हुन्छ । व्यक्तिगत रूपमा वैदेशिक रोजागारीमा जाने महिला कामदारप्रति उत्तरदायी र जिम्मेवार हुने कुनै व्यक्ति तथा संघ–संस्था नहुने अवस्था रहन्छ । यसरी गएर विदेशमा अलपत्र परेको अवस्थामा पनि उद्धारका लागि समस्या हुन सक्छ ।
 
सीप सिकेर मात्रै जाने
 
वैदेशिक रोजगारीमा महिलाहरू जानै हुँदैन भन्ने कुरा त भएन । तर, जाने नै हो भने पनि कुनै सीप सिकेर मात्रै जानुपर्छ । अदक्ष कामदारका रूपमा वैदेशिक रोजगारीमा जानु भनेको आफैँमा असुरक्षित हुने र चुनौती थप्नु हो । वैदेशिक बजारमा राम्रो पारिश्रमिक पाउन सकिने किसिमका पेसा तथा रोजगारीका क्षेत्र पनि हुन्छन् । त्यस्ता क्षेत्रमा वैदेशिक रोजगारीमा महिला कामदार जानु ठीकै मान्न सकिन्छ । तर, घरायसी, शारीरिक श्रम गर्ने हिसाबले अदक्ष कामदारका रूपमा वैदेशिक रोजगारीमा जानुभन्दा स्वदेशमै अन्य कुनै किसिमले गुजारा चलाउँदा राम्रो हुन्छ ।
 
Published on: 26 October 2017 | Naya Patrika

Back to list

;