s

वैदेशिक रोजगारीको भार सामाजिक मूल्यले चुकाउनुपर्ने : मन्त्री विष्ट

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले १५ वर्षपछि नेपालले वैदेशिक रोजगारीको भार सामाजिक मूल्यले चुकाउनुपर्ने बताएका छन् । मंगलबार कोरियन दूतावास र अंकुर संस्थाको सहकार्यमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री विष्टले वैदेशिक रोजगारीका कारण नेपाली सामाजिक संरचनामा परेको प्रभाव भोलिका दिनमा भयावह हुने बताएका हुन् । उनका अनुसार वैदेशिक रोजगारीबाट प्राप्त आम्दानीको ९० प्रतिशत उपभोग्य वस्तुमा नै खर्च हुने गरेको छ ।

नेपाली युवाले महत्वपूर्ण उमेर खर्चेर गरेको आम्दानी अझै पनि पुँजी निर्माणमा लगानी हुन नसकेको उनले बताए । तर, पछिल्लो वर्ष कोरियाबाट भित्रिने रेमिट्यान्स वैधानिक माध्यमबाट आउन थालेको उनले बताए । ‘सन् २०१७ मा कोरियाबाट जम्मा ५ अर्ब मात्रै बैंकिङ माध्यमबाट रकम नेपाल भित्रिएको थियो । तर, २०१८ आउँदा यो रकम १६ अर्ब पुगेको छ । अब बिस्तारै रेमिट्यान्स बैंकिङ माध्यमबाट आउन थालेको छ । अझै यसमा थप कडाइ गर्नुपर्छ,’ उनले भने । अर्थशास्त्री विश्व पौडेलले भने वैदेशिक रोजगारबाट प्राप्त रकमलाई विभिन्न सम्भावित क्षेत्रमा लगानी गर्न सकिने बताए ।

कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले कोरियामा काम गर्न जाने युवाहरूमा डिप्रेसन बढ्दै गएको बताए । ‘कृषि क्षेत्रमा काम गर्न जाने युवाहरूलाई धेरै कामको दबाब हुने गरेको सुनिएको छ । पछिल्लो समयमा कोरियामा काम गर्ने युवाहरूले आत्महत्या पनि गर्न थालेका छन्,’ उनले भने । यस्तो खालको प्रवृत्तिलाई रोक्न वैदेशिक रोजगारलाई व्यवस्थित बनाउनुपर्ने उनले बताए । कार्यक्रममा बोल्दै एसियन सांस्कृतिक सेन्टर कोरियाका डिन किम योङ कुकले पछिल्लो समयमा कोरियामा काम गर्ने युवाहरूमा आत्महत्याको क्रम बढेको पाइएको बताए ।

कामको दबाबका कारण युवाहरूमा निराशा बढ्दै जाँदा आत्महत्याको विकल्प रोजेको हुन सक्ने उनले बताए । त्यसैले कोरियाली रोजगारदाताले कामदारलाई सुरक्षित र काम गर्नका लागि सहज वातावरण निर्माण गर्न सुझाब दिए । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले वैदेशिक रोजगारीका लागि कोरिया पुगेका युवालाई भिसा अवधि सकिनेबित्तिकै नेपाल फर्कन आग्रह गरेका छन् ।

Published on: 24 July 2019 | Naya Patrika

Back to list

;