s

वैदेशिक रोजगारीका ठगीः दश महिनाम १७ सय उजुरी

उत्तम काप्री
 
चालू आर्थिक वर्षको वैशाख मसान्तसम्म वैदेशिक रोजगारीसम्बन्धी ठगीका करिब एक हजार सय उजुरी छन् । चालू आव २०७३/७४ को साउनदेखि वैशाख मसान्तसम्म आफू ठगिएको भन्दै एक हजार सात सय १७ जना कामदारले वैदेशिक रोजगार विभागमा उजुरी दिएका हुन् ।
 
विभागका निर्देशक अर्जुन खतिवडाका अनुसार वैदेशिक रोजगारमा गएका र जाने तयारीमा रहेकाले ठगिएको भन्दै उजुरी दिन आउने गरेका छन् । उजुरी दिनेको संख्या बढ्दो छ । विभागमा सबैभन्दा बढी संस्थागत ठगीका उजुरी छन् । उहाँले भन्नुभयो, ‘म्यानपावरले नै ठगेको भनेर उजुरी दिने बढी छन् ।'संस्थागत उजुरी भन्नाले म्यानपावर कम्पनीबाट भएको ठगी हो । विभागले दिएको जानकारी अनुसार चालू आर्थिक वर्षको १० महिनामा म्यानपावर कम्पनीबाट ठगीमा परेका नौ सय २५ जना कामदारले उजुरी दिएका छन् । पछिल्लो समय व्यक्तिगत ठगीका घटना पनि बढिरहेका छन् । यस्तै व्यक्तिगत ठगीका सात सय ९२ वटा उजुरी दर्ता गरिएको छ ।
 
जसमा फागुन महिनामा मात्रै संस्थागत ठगी ७१ थियो भने व्यक्तिगत ठगी ८३ छ । यसैगरी चैतमा संस्थागत ठगीको उजुरी एक सय तीन थियो भने वैशाखमा ८५ वटा रहेको विभागको भनाइ छ । यसैगरी आर्थिक वर्षको फागुनमा व्यक्तिगततर्फ ८३, चैतमा एक सय पाँच र वैशाखमा ५४ वटा उजुरी विभागका दर्ता भएका छन् ।
 
विभागका अनुसार पछिल्लो समय संस्थागत ठगी क्रमशः घट्दो छ भने व्यक्तिगत ठगी बढ्दो छ । संस्थागत ठगीका पीडितलाई जति सहजै राहत दिन सकिए पनि व्यक्तिगततर्फ असहज हुने खतिवडा बताउनुहुन्छ । रोजगारीका लागि दैनिक करिब दुई हजार नेपाली विभिन्न मुलुक जाने गरेका छन् । ऋण खोजेर वा जग्गाजमिन धितो राखेर विदेश पलायन हुने युवा स्वदेशमै दलाल र म्यानपावर व्यवसायीबाट ठगिएका छन् ।
 
चालू आवको १० महिनामा मात्रै सवा तीन लाखभन्दा बढी युवा विदेश पलायन भइसकेका छन् । यसरी विदेश पलायन हुनेले विदेशमा गएपछि नेपालमा सम्झौता भएअनुसार काम नपाएको भन्दै व्यापक उजुरी दिने गरेका छन् । तलब र अन्य सुविधा पनि यहाँ भने जस्तो दिइँदैन । म्यानपावर कम्पनीले पठाउँदा एउटा कम्पनी भन्ने र उता गएपछि अर्को कम्पनीमा काम गर्नुपर्ने कारण पनि बढी समस्या हुने गरेको विभागले जनाएको छ ।वैदेशिक रोजगारमा गएका र जाने तयारीमा रहेकाले आफू ठगिएको भन्दै उजुरी दिन आउनेको संख्या बढ्दो छ ।
 
निर्देशक खतिवडा भन्नुहुन्छ, ‘विदेश जाने बेलामा नेपाल सरकारले तोकेभन्दा बढी रकम तिर्ने र पछि समस्यामा परेर नेपाल आएपछि मैले यति रकम तिरेको भन्दै विभागमा उजुरी गर्न आउने युवाको संख्या धेरै छ ।' संस्थागतभन्दा व्यक्तिगत उजुरीका समस्या समाधान गर्न कठिन हुन्छ । व्यक्तिगततर्फ उजुरी गर्न आउनेमा कन्सलटेन्सीबाट ठगिएका बढी हुने गरेको विभागको भनाइ छ । विभागमा खाडी र मलेसिया जाने कामदारभन्दा अमेरिका, पोर्चुगाल, पोल्यान्डजस्ता देश पठाइदिन्छु भन्दै लाखौं रुपैयाँ ठगी भएको उजुरी गर्न विभाग आउनेको संख्या बढी छ । यस्तो उजुरीमा विभागले प्रमाण भएको अवस्थामा मात्रै कारबाही र क्षतिपूर्ति दिलाउने गरेको विभागले जनाएको छ । पाँच सय उजुरी छिनोफानो विभागमा दर्ता भएका १७ सयभन्दा बढी उजुरीमध्ये पाँच सय २६ को छिनोफानो भएको विभागको भनाइ छ । व्यक्तिगततर्फ सयभन्दा बढी र अन्य संस्थागततर्फका उजुरी छिनोफानो भएका हुन् । विभागका अनुसार माघसम्म दर्ता भएका पाँच सय ५४ वटा व्यक्तिगत उजुरीतर्फ १७ करोड ७६ लाख ३१ हजार रुपैयाँभन्दा बढीको दाबी गरेका थिए । यसमा विभागले १७ करोड आठ लाख रुपैयाँभन्दा बढी बिगो रकम भराएको छ ।
 
यसैगरी विभागमा दर्ता भएका ६ सय २९ जना संस्थागत उजुरीकर्ताले २९ करोड १९ लाख ६४ हजार रुपैयाँभन्दा बढीको दाबी गरेका थिए । यसमा विभागले चार करोड ८६ लाख १८ हजार रुपैयाँभन्दा बढी बिगो रकम भराएको छ । फागुन, चैत र वैशाख महिनाको दाबी र बिगो रकमको विवरण भने आर्थिक वर्षको अन्त्यसँगै सार्वजनिक हुने विभागको भनाइ छ । विभागले चालू आर्थिक वर्षको वैशाख मसान्तसम्म तीन सयभन्दा बढी उजुरी अदालतमा दायर गरेको छ । विभागका अनुसार म्यानपावर कम्पनीको नाममा आउने उजुरी कानुनी दायरामा कमै मात्र जान्छ तर व्यक्तिगत उजुरी भने कानुनको दायरमा बढी जाने गरेको छ । माघ महिनासम्म एक सय ५८ वटा व्यक्तिगत उजुरीमा मुद्दा चलाइएको थियो भने अहिले यो संख्या बढेर सवादुई सय भइसकेको छ । तर, संस्थागततर्फ अदालतमा कम उजुरी जाने गर्छ ।
 
म्यानपावर सञ्चालक र पीडित पक्षलाई एकै ठाउँमा राख्न सकिने हुँदा समस्या समाधान विभागबाटै हुने गरेको छ । व्यक्तिगत उजुरीकर्ताबाट अदालतमा करिब साढे आठ करोड रुपैयाँ बराबरको बिगो दाबी गरिएको छ । तर, संस्थागततर्फको उजुरी अदालतमा गए पनि बिगो दाबी रकम शून्य छ । विभागले अहिलेसम्म संस्थागततर्फ उजुरी भएका १० वटा उजुरीबाट १९ लाख १० हजार रुपैयाँ म्यानपावर कम्पनीलाई जरिवाना गरिएको छ ।
 
Published on: 4 July 2017 | Annapurna Post

Back to list

;