s

वैदेशिक रोजगार (म्यादी) जीवन बिमालेख : दाबी विवाद र विद्यमान व्यवस्था

मञ्जु थापा

नेपाली श्रम बजारमा बर्सेनि मागभन्दा बढी श्रमशक्ति आपूर्ति हुने गरेको छ । जसका कारण वैदेशिक रोजगार नेपाली युवाका लागि बाध्यता बन्दै गएको छ । यद्यपि, कमाइका हिसाबले कतिपय वैदेशिक रोजगारी आकर्षकसमेत रहेको छ । नेपाली युवाको वैदेशिक रोजगार बजार विश्वका विभिन्न १ सय १० देशमा फैलिएको छ । वैदेशिक रोजगार विभागको आर्थिक वर्ष ०७३/७४ को अद्यावधिक डाटाबेसअनुसार वैदेशिक रोजगार ऐन, २०६४ लागू भएपछिको ९ वर्षमा ३५ लाखभन्दा बढीले श्रम स्वीकृति लिएका छन् ।

अधिकांश नेपाली जनशक्ति अदक्ष हुने गरेकाले उनीहरू जोखिमपूर्ण काम गर्न बाध्य छन् । त्यस्तै तापक्रमको अन्तर, खानपानमा असावधानीजस्ता कारणले पनि केही कामदारले विदेशमै ज्यान गुमाउने गरेका छन् । वैदेशिक रोजगारीमा गएका युवाको उतै ज्यान जाँदा स्वदेशमा रहेका आश्रित परिवारको मानसिक तथा आर्थिक बिचल्ली हुने गरेको छ । सोही तथ्यलाई मध्यनजर गर्दै नेपाल सरकारले वैदेशिक रोजगार ऐन, २०६४ जारी गरेर वैदेशिक रोजगारीमा जाने कामदारको मृत्यु वा अंगभंग भएमा क्षतिपूर्ति पाउने गरी कम्तीमा ५ लाख रुपैयाँको बिमा गराउनुपर्ने बाध्यकारी व्यवस्था गरेको छ ।
 
यस्तो व्यवस्थापछि विभिन्न जीवन बिमा कम्पनीले तोकिएको रकमबराबरको सुविधा राखेर वैदेशिक रोजगारीमा जाने कामदारका लागि बिमालेख जारी गर्दै आएका थिए । तर, विभिन्न कम्पनीले छुट्टाछुट्टै बिमालेख जारी गर्दा बिमितले पाउने सुविधा तथा बिमा शुल्कमा विविधता भएपछि बिमालेखमा एकरूपता कायम गर्न बिमा समितिले ०६८ कात्तिक १ गते वैदेशिक रोजगार (म्यादी) जीवन बिमालेख तथा सोसम्बन्धी निर्देशन जारी गरेको हो । त्यसपछि पनि व्यावहारिक कठिनाइ अन्त्य तथा बिमितलाई अझ बढी सुविधा दिने उद्देश्यले वैदेशिक रोजगार (म्यादी) जीवन बिमालेख विभिन्न समयमा गरी ६ पटक परिमार्जन गरिएको छ ।
 
दाबीयोग्य घटनामा बिमित पक्षले बिमा कम्पनीमा गएर आवश्यक कागजातसहित दाबी गर्नुपर्नेछ । सामान्यतया आवश्यक कागजात पुगेको बिमा दाबीको भुक्तानी १५ दिनभित्र हुन्छ । बिमा कम्पनीले दाबी भुक्तानी गर्न इन्कार गरेमा वा भुक्तानी गर्न खोजेको क्षतिपूर्तिमा बिमित पक्षको चित्त नबुझेमा बिमा समितिमा निवेदन दिन सक्ने व्यवस्था छ । वैदेशिक रोजगार (म्यादी) जीवन बिमालेखको दाबीउपर भुक्तानी गर्ने क्रममा सामान्यतया शव ल्याउन लागेको खर्चबापतको सुविधा, आयको नोक्सानीबापतको सुविधा तथा औषधोपचार खर्चको शोधभर्नाका सम्बन्धमा विवाद उठ्ने गरेको छ । जसका सम्बन्धमा बिमालेखमा भएको व्यवस्था निम्नबमोजिम छन् ।
 
शव ल्याउन लागेको खर्चबापतको सुविधा
 
हाल प्रचलनमा रहेको बिमालेखको व्यवस्थाअनुुसार बिमितको स्वदेशमा मृत्यु भएमा मृत्युलाभ १० लाख, आयको नोक्सानी २ लाख तथा किरिया खर्चबापत १ लाख गरी कुल १३ लाख भुक्तानी हुने व्यवस्था रहेको छ । बिमितको विदेशमा मृत्यु भएमा मृत्युलाभ १० लाख, आयको नोक्सानी २ लाख तथा किरिया खर्चबापत १ लाख, शव ल्याउने सुविधास्वरूप १ लाख गरी कुल १४ लाख भुक्तानी हुने व्यवस्था रहेको छ । शव विदेशबाट ल्याउने खर्चको शोधभर्ना सम्बन्धमा बिमा समितिले पहिलोपटक ०६८ कात्तिक १ मा जारी गरेको बिमालेखमा व्यवस्था रहेको थियो । तत्कालीन समयमा शव ल्याउँदा लागेको खर्चको शोधभर्ना ८५ हजारको सीमाभित्र रहेर दिने व्यवस्था गरिएको थियो ।
 
करिब ३ महिनापछि ०६८ पुस २५ गते भएको परिमार्जनले सुविधाको सीमा बढाएर खर्चको शोधभर्ना १ लाखको सीमाभित्र रहेर दिने व्यवस्था गर्यो । अज्ञानताका कारणले कहिलेकाहीँ शव ल्याउँदा लागेको खर्चको सक्कल एयरवेज बिल बिमित पक्षलाई प्राप्त गर्न असहज हुने हुन्छ । त्यसकारण बिमित पक्षको हितलाई मनन गरी ०७३ माघ १५ पछि जारी भएका बिमालेखमा लागू हुने गरी कामदारको विदेशमा मृत्यु भएको तथा शव स्वदेश ल्याएको प्रमाणित भएमा शव स्वदेश ल्याउन लागेको सुविधास्वरूप एकमुष्ठ १ लाख भुक्तानी हुने व्यवस्था भयो । अब बिमित पक्षले सो सुविधाका लागि शव ल्याउँदा लागेको खर्चको बिल बुझाउनुपर्दैन ।
 
आयको नोक्सानीबापतको सुविधा
 
वैदेशिक रोजगारको सिलसिलामा पर्ने दाबीमा हुने गरेको अर्को विवाद आयको नोक्सानीसँग सम्बन्धित रहेको छ । बिमा समितिले ०६८ कात्तिक १ गते वैदेशिक रोजगारी (म्यादी) जीवन बिमालेख तथा निर्देशनमा आयको नोक्सानीबापतको सुविधाको व्यवस्था थिएन । सो जारी भएको करिब २ महिनापश्चात् ०६८ पुस २५ गते गरिएको परिमार्जनमा आयको नोक्सानीबापतको सुविधा थप गरिएको हो ।
 
तत्कालीन समयमा बिमितको मृत्यु भएमा, पूर्ण स्थायी अशक्त भएमा वा पूर्ण अंगभंग भएमा आयको नोक्सानीबापत १ लाख तथा तोकिएका आंशिक अंगभंग भएमा ५० हजार भुक्तानी हुने व्यवस्था थियो । सो व्यवस्था ०७३ वैशाख १ गते परिमार्जन हुँदा सो सुविधालाई बढाएर बिमितको मृत्यु भएमा, पूर्ण स्थायी अशक्त भएमा वा पूर्ण अंगभंग भएमा आयको नोक्सानीबापत २ लाख तथा तोकिएका आंशिक अंगभंग भएमा १ लाख भुक्तानी हुने व्यवस्था गरियो । बिमितको विदेश वा स्वदेशमा जहाँ मृत्यु वा अंगभंग भए पनि आयको नोक्सानीबापतको रकम बिमित पक्षलाई भुक्तानी हुन्छ ।
 
औषधोपचार खर्चको शोधभर्ना
 
वैदेशिक रोजगार (म्यादी) जीवन बिमालेखको दाबी भुक्तानीका क्रममा विवाद हुने गरेको अर्को मुख्य शीर्षक औषधोपचार खर्चको शोधभर्ना हो । बिमा समितिले ०६८ कात्तिक १ गते वैदेशिक रोजगारी (म्यादी) जीवन बिमालेखमा बिमित कामदार दुर्घटना परी औषधोपचार गर्नुपरेमा औषधोपचार खर्चको शोधभर्ना ५० हजारको सीमाभित्र हुने गरी व्यवस्था गरेको थियो ।
 
वैदेशिक रोजगारमा जाने कामदारहरू विभिन्न घातक रोगबाट पीडित हुने गरेको तथा सोको शोधभर्नाको व्यवस्था बिमालेखमा नहुँदा बिमितले सुविधा पाउन नसकेको तथ्यलाई मनन गरी ०७३ वैशाख १ गते भएको परिमार्जनमा सो सुविधालाई बढाएर कामदार दुर्घटना परी वा घातक रोग लागेर औषधोपचार गर्नुपरेमा औषधोपचार खर्चको शोधभर्ना १ लाखको सीमाभित्र रही भुक्तानी हुने व्यवस्था गर्यो । त्यसैगरी, यो बिमालेखले ०७५ वैशाख १ देखि बिमित दुर्घटनामा परेर वा घातक रोगको निदानपूर्व गरिएको उपचार खर्चको शोधभर्ना गर्छ । महत्वपूर्ण बुझ्नुपर्ने कुरा के हो भने दुर्घटना वा तोकिएका १५ घातक रोगबाहेक अन्य कारणले बिरामी परेर गर्नुपरेको औषधोपचार खर्चको शोधभर्ना यस बिमालेखले गर्दैन ।
 
बिमा समितिबाट करिब ७ वर्षअघि जारी भएको वैदेशिक रोजगार (म्यादी) जीवन बिमालेख बिमितका लागि सुविधायुक्त तथा परिष्कृत बनाउने क्रममा हालसम्म ६ पटक संशोधन भएको छ । विभिन्न संशोधन तथा प्रयासका बाबजुद बिमा दाबीका क्रममा शव ल्याउन लागेको खर्चबापतको सुविधा, आयको नोक्सानीबापतको सुविधा तथा औषधोपचार खर्चको शोधभर्नालगायतका विषयमा बिमा कम्पनी तथा बिमित पक्षबीच विवाद उठ्ने गरेको छ ।
 
सो विषयमा बिमालेखमा स्पष्ट व्यवस्था भए पनि मुख्यतः बिमित पक्ष यस विषयमा अनभिज्ञ हुनु तथा सोसँग बिमा कम्पनी उदासीन हुनुजस्ता कारणले कहिलेकाहीँ बिमित पक्ष अनावश्यक झन्झट तथा अन्यायमा पर्ने गरेका छन् । तसर्थ, बिमा गर्दाकै बखतमा कामदारलाई बिमा सुविधाका बारेमा सुसूचित गराइनु उपयुक्त हुन्छ ।
 
Published on: 28 July 2018 | Naya Patrika

Back to list

;