s

वैदेशिक रोजगार विभागमा घूस - महानिर्देशक पक्राउ

कृष्ण ज्ञवाली, होम कार्की
 
अवकाश पाउन एक साता बाँकी रहेका वैदेशिक रोजगार विभागका महानिर्देशक विश्वराज पाण्डे घूसकाण्डमा पक्राउ परेका छन् । मंगलबार साँझ विभागका दुई कर्मचारी १० लाख रुपैयाँ घूससहित पक्राउ परेको भोलिपल्ट अख्तियार टोलीले सहसचिव पाण्डेलाई पक्राउ गरेको हो । मित्रपार्कको अम्बे अपार्टमेन्टस्थित निवासबाट उनी पक्राउ परेका हुन् । कालोसूचीमा रहेको म्यानपावर कम्पनीको कारोबार रोक्का फुकुवा गर्न घूस मागेपछि सञ्चालकले अख्तियारलाई खबर गरेका थिए । 
 
अख्तियार टोलीले मंगलबार साँझ विभागका अधिकृत कृतिबल्लभ पौडेल र नासु खडग केसीलाई १० लाख रुपैयाँसहित पक्राउ गरेको थियो । पाण्डे २०७३ कात्तिकमा श्रम विभागबाट वैदेशिक रोजगार विभागमा सरुवा भएका थिए । उनलाई हटाउन यसअघिका दुई मन्त्रीले प्रयास गरे पनि शक्ति र पहुँचका कारण उनी त्यहीं टिकिरहेका थिए । ‘घूस लिने टोलीमा महानिर्देशक पाण्डे पनि छन् भन्ने हामीलाई सूचना थियो,’ स्रोतले भन्यो, ‘तर अरू दुई कर्मचारीलाई पैसा लिन निर्देशन दिएर उनी बाहिरै बसेका रहेछन् ।’ कर्मचारी पक्राउ परेपछि उनीहरूको बयान र अन्य प्रमाणका आधारमा महानिर्देशकलाई समेत पक्राउ गरेको अख्तियारस्रोतले बतायो । अख्तियारले वैदेशिक रोजगार विभागका प्रमुखलाई पक्राउ गरेको यो पहिलो हो । कामदारलाई वैदेशिक रोजगारमा पठाउँदा ठगीको आरोपमा विभागले एसआरएस ओभरसिजको कारोबारका साथै सञ्चालक शुभद्रादेवी बरालको सम्पत्ति रोक्का गरेको थियो । ओभरसिजले यूएईस्थित हिमाया सेक्युरिटी सर्भिस कम्पनीमा पठाएका ४३ सुरक्षागार्डले ९ महिनासम्म काम नपाएर फर्किनुपरेपछि झन्डै तीन करोड रुपैयाँ दाबी गरी विभागमा उजुरी हालेका थिए । एसआरएसले उनीहरूसँग प्रतिव्यक्ति ८ लाख ५० हजार रुपैयाँसम्म लागत शुल्क लिएको थियो । त्यतिखेर हिमायाबाट ११७ कामदार फर्किएका थिए । आबुधावीस्थित नेपाली दूतावासले पनि एसआरएसलाई कारबाही गर्न विभागलाई पत्राचार गरेको थियो । विभागले पटक–पटक एसआरएसका सञ्चालक बराललाई उपस्थित हुन पत्राचार गरे पनि उनी नआएपछि रेडकर्नर नोटिस जारी गरिएको थियो । 
 
उजुरी पर्नुअघि नै तत्कालीन श्रममन्त्री दीपक बोहराको निर्देशनमा विभागले सुरक्षागार्ड पठाउने एसआरएससहित ४ म्यानपावरको कारोबार रोक्का गरेको थियो । त्यतिखेर कारबाही फुकाउन प्रतिम्यानपावर ३० लाख रुपैयाँसम्म लेनदेन भएको थियो । वैदेशिक रोजगार ऐनअनुसार म्यानपावरलाई तीनपल्ट जरिवाना गरेपछि लाइसेन्स खारेज हुन्छ । 
 
एसआरएस सञ्चालकले पीडितलाई रकम फिर्ता गरे पनि विभागबाट कारबाही फुकुवा भएको थिएन । लाइसेन्स खारेज हुनबाट रोक्न सञ्चालकले उच्च अदालत पाटनमा मुद्दा हालिन् । अदालतले खाता र कारोबार रोक्का नगर्न आदेश दियो । तैपनि विभागका अधिकारीले घूस माग्दै खाता र कारोबार खुला गरेका थिएनन् । ‘आदेशपछि समेत कारोबार फुकुवा नगरेका वैदेशिक रोजगार विभागका महानिर्देशक पाण्डेसहितका अधिकारीले म्यानपावर सञ्चालकसँग १५ लाख रुपैयाँ घूस मागेका रहेछन्,’ स्रोतले भन्यो, ‘मोलमोलाई हुँदा १० लाख लिने र कारोबार फुकुवा गरिदिने सहमति भएछ ।’ घूस लिएपछि कारोबार फुकुवाको निर्णय गर्न कर्मचारीले म्यानपावर कम्पनीको फाइल बोकेर सञ्चालक भेट्ने तयारी गरेका थिए । महानिर्देशक पाण्डेले सतर्कताका साथ घूस लिन र निर्णय गर्न कर्मचारीलाई अह्राएका थिए । सञ्चालकलाई भेट्ने कुरा भए पनि उनी गएनन् । सुरुमा एउटा रेस्टुरेन्टमा भेट्ने तय भएकोमा पछि कर्मचारीले व्यवसायीलाई अन्तै बोलाए । त्यसमा समेत शंका भएपछि अरू साथीलाई पठाइदिनू भनेर आग्रह गरे । त्यसपछि तेस्रो लोकेसनमा भेट्ने निधो भयो । ‘उनीहरूले सीसीटीभी नभएको रेस्टुरेन्ट खोज्न निकै मिहिनेत गरेको देखियो,’ स्रोतले भन्यो । 
 
मातहतका दुई कर्मचारी पक्राउ परेपछि घरमा रहेका महानिर्देशक पाण्डे निकै बेचैन भएर सहकर्मीलाई बारम्बार फोन गरेको स्रोतले बतायो । त्यसपछि उनी आफैंले मन्त्रालयका सचिवलाई फोन गरेर ‘बिरामी परेकाले बिदा बस्ने’ भनी खबर गरेर मोबाइल स्विच अफ गरेका थिए । आफू बस्ने अपार्टमेन्टमा समेत उनले गार्डलाई कोही खोज्न आए छैन भन्दिनु भनेर कुरा मिलाउन खोजेका थिए । आगामी मंसिर ५ गते उमेर हदका कारण अवकाश लिन लागेका सहसचिव पाण्डेसहित दुई कर्मचारीलाई अख्तियारले बुधबार विशेष अदालतमा पेस गरिसकेको छ ।
 
यसरी बग्छ घूसको खोलो
 
वैदेशिक रोजगार विभागमा म्यानपावरको अनुगमन, श्रम स्वीकृति, म्यानपावरविरुद्ध हुने उजुरी र म्यानपावर दर्तालगायत प्रक्रियामा ठूला अनियमितता र घूसकाण्डका घटना पटक–पटक दोहोरिने गरेका छन् । सरकारले नयाँ म्यानपावर दर्ता गर्न रोक लगाए पनि अदालतले आदेश दिएको भन्दै कम्पनी दर्ता गर्ने प्रक्रियामा ठूलो चलखेल हुने गरेको छ । अख्तियारले यसअघि पनि म्यानपावर दर्ता प्रक्रियामा लेनदेन गरिरहेका बेला कर्मचारीलाई पक्राउ गरेको थियो । व्यवसायीका अनुसार एउटा म्यानपावर दर्ता गर्दा कम्तीमा दुई लाख रुपैयाँसम्म लिने गरिन्छ । शून्य लागत (फ्रि भिसा र फ्रि टिकट) लाई कार्यान्वयन नगरेको भन्दै विभागले ६ सयभन्दा बढी म्यानपावरको आर्थिक कारोबार छानबिन प्रकरणमा समेत विभागले व्यवसायीसँग ठूलो रकम असुल गरेको आरोप छ । आफ्नो काम रोक्का भएपछि प्रतिम्यानपावर ३ देखि ५ लाख रुपैयाँसम्म बुझाउनुपरेको व्यवसायीले आरोप लगाउँदै आएका छन् । २०६८ असोजमा राष्ट्रिय सतर्कता केन्द्रले विभागबारे तयार पारेको प्रतिवेदनमा तलबका आधारमा प्रतिकामदार पाँच सय रुपैयाँदेखि हजार रुपैयाँ घूस लिने गरेको विवरण उल्लेख छ । केन्द्रका तत्कालीन उपसचिवहरू शेरबहादुर ढुंगाना र अर्जुन खनालले स्थलगत अध्ययन गरी तयार पारेको प्रतिवेदनमा दैनिक एक हजार जनाको श्रम स्वीकृति दिँदा कम्तीमा पनि १० लाख रुपैयाँ घूसबापत संकलन हुने भनी २३ बँुदे सुधार सुझाव दिइएको थियो । त्यसमा बिमाको ६ सय रुपैयाँसमेत जोड्दा अनियमितताको ग्राफ २० लाख रुपैयाँसम्म पुग्ने भनी प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाइएको थियो । 
 
०७० पुसमा कामदारको फाइल स्वीकृतिकै क्रममा हराएको घटनामाथि अख्तियारले छानबिन थाल्यो । त्यसक्रममा वैदेशिक रोजगार विभागमा दैनिक २० लाख रुपैयाँको हाराहारीमा घूस संकलन हुने गरेको प्रतिवेदन तयार भयो । 
 
वैदेशिक रोजगारीमा जाने ७७ जना कामदारको फाइल रहस्यमय ढंगले गायब गरिएको घटनाको अनुसन्धानका क्रममा अख्तियारले प्रक्रिया नपुर्‍याएको फाइल सदरका क्रममा प्रतिव्यक्ति करिब दस हजार रुपैयाँका दरले घूस असुली हुने गरेको उल्लेख गरेको छ । त्यतिबेला ६४ कर्मचारीविरुद्ध मुद्दा दायर भएको थियो । 
 
०७० चैतमा अख्तियारले छानबिन गर्दा वैदेशिक रोजगार विभागमा प्रमाण लुकाउन फाइल नै गायब बनाएको भेटिएको थियो । त्यतिबेला हराएका फाइलहरू टिप्पणी च्यातिएको अवस्थामा फेला परेका थिए । ‘फर्जी इमेल ठेगानाका आधारमा समेत निर्णय गरेको भेटियो,’ अख्तियारको प्रतिवेदनमा उल्लेख छ । त्यतिबेलाको अनुसन्धानले श्रम स्वीकृति शाखाका कर्मचारीले प्रतिकामदार ४ हजार रुपैयाँसम्म असुलेको भेटिएको थियो । श्रम स्वीकृतिको प्रक्रिया पार भएपछि प्रतिव्यक्ति ४ हजार रुपैयाँ उठाई बाँडफाँड हुन्थ्यो । पछिल्लो समयमा भने श्रम स्वीकृति र पुन: श्रम स्वीकृतिको तुलनामा अनुगमनका नाममा अनियमितता बढेको हो ।
 
Published on: 16 November 2017 | Kantipur

Back to list

;