s

वैदेशिक रोजगार : ७ सय ८३ को ज्यान गयो, ८ खर्ब ७० अर्ब रेमिट्यान्स आयो

जनार्दन बराल कृष्ण रिजाल

आर्थिक वर्ष ०७५/७६ मा वैदेशिक रोजगारीमा ५ लाख ८ हजार युवा बिदेसिए, करिब ८ सयले उतै ज्यान गुमाए, जसको बदलामा राज्यले पौने ९ खर्ब रेमिट्यान्स प्राप्त गर्‍यो, त्यसैको बलमा अर्थतन्त्र धानिएको छ ।

गत आर्थिक वर्ष ०७५/७६ मा मुलुकले विदेशबाट करिब पौने ९ खर्ब रेमिट्यान्स भित्र्याए पनि त्यसको मूल्य भने अकल्पनीय रूपमा तिर्नुपरेको छ । सो वर्षभरि ८ खर्ब ७० अर्ब रेमिट्यान्स भित्रिएको नेपाल राष्ट्र बैंकको तथ्यांक छ । तर, सो आर्थिक वर्षभरिमा ७ सय ८३ जना नेपाली युवाले बिरानो भूमिमा काम गर्दागर्दै ज्यान गुमाएका छन् । १३ खर्बभन्दा बढीको व्यापार घाटा भोगेको मुलुकलाई टाट उल्टाउनबाट जोगाउन विदेशमा पसिना बगाएका युवाले पठाएको रेमिट्यान्सले भूमिका खेलेको छ । तर, आफ्नो परिवार र मुलुकका लागि बाहिरिएका युवाले अत्यन्तै असुरक्षित वातावरणमा काम गर्नुपर्दा ज्यान नै गुमाउनुपरिरहेको छ ।

अर्कातर्फ मुलुकभित्र पर्याप्त रोजगारीका अवसर सिर्जना नहुँदा वैदेशिक रोजगारीमा नेपाली युवाको बाध्यता घटेको छैन । सरकारले हरेक वर्ष ५ लाख रोजगारी सिर्जना गर्ने घोषणा गरेको छ । मुलुकभित्र कति रोजगारी सिर्जना भयो, त्यो तथ्यांक सरकारसँगै छैन । तर, गत आवमा ५ लाख नेपाली युवा नै रोजगारीको खोजीमा बिदेसिएको तथ्यांक भने सरकारले प्रकाशन गरेको छ ।

नेपालबाट श्रम स्वीकृति लिएर मात्रै नभई विद्यार्थीका रूपमा समेत वैदेशिक रोजगारीमा जानेको संख्या बढिरहेको छ । सोहीकारण श्रम स्वीकृति लिएर जाने मुलुकबाट भन्दा अध्ययन भिसामा गएका मुलुकबाट नेपालमा रेमिट्यान्स बढी भित्रिरहेको छ ।

एक वर्षमा ५ लाख ८ हजार बिदेसिए

आर्थिक वर्ष ०७५/७६ मा कुल ५ लाख ८ हजार ८ सय २८ नेपाली वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक गएका छन् । यसमध्ये २ लाख ३६ हजार २ सय ११ जना पहिलोपटक श्रम स्वीकृति लिएर विदेश गएका हुन् । २ लाख ७२ हजार ६ सय १७ जना भने पुनः श्रम स्वीकृति लिएर बिदेसिएका छन् । वैदेशिक रोजागारीमा गएकामध्ये ४ लाख ७६ हजार ७ सय ५ जना पुरुष र ३२ हजार १ सय २३ जना महिला छन् ।

अघिल्लो आर्थिक वर्ष ०७४/७५ मा ६ लाख १७ हजार ४ सय १७ जना वैदेशिक रोजगारीमा गएका थिए । त्यसको तुलनामा गत आव ०७५/७६ मा काम गर्न विदेश जानेको संख्या करिब १८ प्रतिशतले घटेको हो । हालसम्म कामका लागि विदेश जाने नेपालीको संख्या करिब ४५ लाख ४० हजार रहेको सरकारी तथ्यांक छ ।

७ सय ८३ जनाले विदेशमै ज्यान गुमाए

०७५/७६ मा वैदेशिक रोजगारीमा बिदेसिएका ७ सय ८३ जना नेपालीले ज्यान गुमाएका छन् । विभिन्न दुर्घटना, रोग, हत्या तथा आत्महत्यासमेत गरेर त्यति नेपालीको विदेशमै मृत्यु भएको हो । विदेशमा आफ्नो ज्यान गुमाउनेमध्ये सबैभन्दा बढी मलेसियामा २ सय २९ जना छन् । त्यस्तै, साउदी अरेबियामा १ सय ९७ जना, कतारमा १ सय ३५ र युएईमा ८५ जनाको मृत्यु भएको छ । अघिल्लो आर्थिक वर्ष ०७४/७५ मा ८ सय २१ जनाले विदेशमा ज्यान गुमाएका थिए ।

८ खर्ब ७० अर्ब रेमिट्यान्स भित्रियो

गत आर्थिक वर्षको अवधिमा नेपालमा कुल ८ खर्ब ७० रुपैयाँ रेमिट्यान्स भित्रिएको प्रक्षेपण नेपाल राष्ट्र बैंकले गरेको छ । वर्षभरिमा भित्रिएको अन्तिम तथ्यांक तयार भइनसकेको भए पनि करिब पौने ९ खर्ब रेमिट्यान्स भित्रिएको प्रक्षेपण राष्ट्र बैंकले गरेको अनुसन्धान विभाग प्रमुख डा. गुणाकर भट्टले जानकारी दिए ।

अघिल्लो आर्थिक वर्ष ०७४/७५ मा ७ खर्ब ५५ अर्ब रेमिट्यान्स भित्रिएको थियो । ०७५/७६ मा भित्रिएको रेमिट्यान्स अघिल्लो वर्षको तुलनामा १५ दशमलव २३ प्रतिशतले बढी हो । ०७५/७६ को ११ महिनामा ७ खर्ब ९९ अर्ब रेमिट्यान्स भित्रिएको थियो ।

कामदार घट्दो, रेमिट्यान्स बढ्दो

कामका लागि बिदेसिने नेपालीको संख्या घट्दै गएपनि रेमिट्यान्स आय भने बढ्दो अवस्थामा छ । आर्थिक वर्ष ०७५/७६ मा कामका लागि विदेश जाने नेपालीको संख्या करिब १८ प्रतिशतले घटेको छ भने रेमिट्यान्स आय भने १५ प्रतिशतले बढेको छ । कुल रेमिट्यान्स आयमा करिब ३७ प्रतिशत हिस्सा शैक्षिक भिसामा जानेहरूको रहेको नेपाल राष्ट्र बैंकको तथ्यांक छ । ‘विदेशमा अध्ययन गर्न गएका नेपालीले खर्च मात्रै गराएका छैनन्, आम्दानी पनि गराएका छन्,’ नेपाल राष्ट्र बैंकका पूर्वकारी निर्देशक भीष्मराज ढुंगाना भने, ‘खासगरी शैक्षिक भिसामा अमेरिका, जापान, अस्ट्रेलियालगायत मुलुकमा गएका नेपालीले धेरै पैसा पठाउँछन् ।’

४८ करोड ४९ लाख आर्थिक सहयोग

वैदेशिक रोजगार बोर्डले वैदेशिक रोजगारीका क्रममा मृत्यु हुने नेपालीका परिवारलाई आर्थिक सहयोग गर्दै आएको छ । श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका नेपालीको मृत्यु भएमा बोर्डले मृतकका परिवारलाई ७ लाख रुपैयाँ दिने गरेको छ । यदि मृत्यु भएको एक वर्षभन्दा ढिला आएमा १० हजार रुपैयाँ मात्रै आर्थिक सहयोग दिने गरिएको छ । आर्थिक वर्ष ०७५/७६ मा बोर्डले ४८ करोड ४९ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

५ लाख ८ हजार बिदेसिए

आर्थिक वर्ष ०७५/७६ मा कुल ५ लाख ८ हजार ८ सय २८ नेपाली वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक गएका छन् । यसमध्ये २ लाख ३६ हजार २ सय ११ जना पहिलोपटक श्रम स्वीकृति लिएर विदेश गएका हुन् । २ लाख ७२ हजार ६ सय १७ जना भने पुनः श्रम स्वीकृति लिएर बिदेसिएका छन् । अघिल्लो आर्थिक वर्ष ०७४/७५ मा ६ लाख १७ हजार ४ सय १७ जना वैदेशिक रोजगारीमा गएका थिए ।

सुरक्षित र गुणस्तरीय रोजगार गन्तव्य खोज्ने प्रयत्न भइरहेको छ

गोकर्ण विष्ट, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री

सरकारले आन्तरिक रोजगारी प्रवर्द्धनलाई पहिलो प्राथमिकतामा राखेको छ । तर, अहिले वैदेशिक रोजगार पनि मुलुकको अर्थतन्त्रको एक प्रमुख खम्बा रहिरहेको अवस्थामा त्यसलाई सुरक्षित र गुणस्तरीय बनाउनुपर्नेछ । त्यसैले सरकारले तुलनात्मक रूपमा सुरक्षित र गुणस्तरीय श्रमबजार बढाउन प्रयत्न गरिरहेको छ । हाल कम सुरक्षित र सस्ता रोजगारी बजारमा सीप नभएका कामदार जाने प्रवृत्ति छ, त्यसलाई सीपयुक्त जनशक्तिलाई बढी पारिश्रमिक आउने र सुरक्षित गन्तव्यतर्फ रूपान्तरण गर्न सरकारले काम गरिरहेको छ ।

रेमिट्यान्सको विकल्प खोज्नुपर्छ

डा. गुणाकर भट्ट, अनुसन्धान विभाग प्रमुख, नेपाल राष्ट्र बैंक

मुलुकको अर्थतन्त्रमा रेमिट्यान्सले महत्वपूर्ण योगदान पुर्‍याइरहेको छ । बैंकिङ क्षेत्रको साधन परिचालनमा पनि रेमिट्यान्सले महत्वपूर्ण योगदान दिएको छ । बैंकको निक्षेपको मुख्य स्रोत नै रेमिट्यान्स हो । आप्रवाह बढ्दै जाँदा बैंकको कर्जा क्षमता पनि बढ्छ । राज्यले रेमिट्यान्सलाई उत्पादनमूलक क्षेत्रमा लगाउन प्राथमिकता दिइरहेको छ । त्यसैले वैदेशिक रोजगार बचतपत्रलाई वर्षैभरि खुला गर्ने व्यवस्था गरिएको छ । तर, रेमिट्यान्स दिगो स्रोत बनाउनुहुँदैन । हामीले दीर्घकालीन रूपमा रेमिट्यान्सको विकल्पतर्फ ध्यान दिनुपर्छ । विदेशी मुद्रा आर्जनका अन्य स्रोतहरूजस्तै निर्यात बढाउने, प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउने, सेवा आय, पर्यटन आयलगायतलाई वृद्धि गर्नुपर्छ ।

Published on: 30 July 2019 | Naya Patrika

Back to list

;