s

वैदेशिक रोजगारीमा जाने ५५ प्रतिशत कामदार समस्यामा

गोपाल साउद
 
वैदेशिक रोजगारीका विभिन्न मुलुक जानेहरूमध्ये ५५ प्रतिशत कामदारमा कुनै न कुनै किसिमको समस्या हुने एक अध्ययनले देखाएको छ । ‘एकाउन्टिबिलिटी ल्याब’ नामक संस्थाले केही महिनाअघि नेपालका विभिन्न जिल्लाहरूमा गरेको स्थलगत माइग्रेसन सर्भेबाट यस्तो तथ्य सार्वजनिक भएको हो ।
 
अमेरिकी सहयोगमा सञ्चालित सो संस्थाले नेपालको प्रशासनिक क्षेत्रको पारदर्शिता र जवाफदेहिताको क्षेत्रमा काम गर्दै आएको छ । संस्थाले अनुसन्धानका लागि भूकम्पबाट अतिप्रभावित काभ्रे, धादिङ, नुवाकोट र सिन्धुपाल्चोक गरी चार जिल्लालाई समेटेको थियो । हरेक जिल्लाबाट १ सयजनाको सहभागिता रहेको ल्याबले जानकारी दिएको छ ।
 
पछिल्लो समय हरेक दिन नेपालबाट ११ सयभन्दा बढी नेपाली रोजगारको सिलसिलामा बिदेसिने गरेका छन् । खासगरी मध्य पूर्व, दक्षिण–पूर्वी एसिया र भारतमा सबैभन्दा बढी नेपाली जाने गरेका छन् । यस्ता कामदारहरूमा सौदाबाजी गर्ने क्षमता कमजोर हुँदा म्यानपावर कम्पनी तथा विदेशी कम्पनीको शोषणमा पर्ने गरेको देखिन्छ । परिणामस्वरूप मानव तस्करी र मानवअधिकार हनन सामान्य भइसकेको छ ।
 
अनुसन्धानमा प्रक्रियागत जानकारीको अभाव, म्यानपावरलाई जिम्मेवार बनाउने नीतिको अभाव तथा वैदेशिक रोजगारका सिलसिलामा आइपर्ने चुनौतीको सामना गर्ने सरकारी क्षमता पनि कमजोर रहेको पाइएको छ । रोजगारीलाई सुरक्षित र जवाफदेही बनाउन कामदारका भोगाइ, विचार र सुझाबहरू संश्लेषण गरी सरकार, नागरिक समाज र सञ्चारमाध्यमलाई काम गर्न सहज बनाउने उद्देश्यबाट अनुसन्धान गरिएको ल्याबकी रेसिडेन्ट सिटिजन हेल्प डेस्क परियोजना प्रमुख कल्पना आचार्यले बताइन् । ‘अनुसन्धानबाट वैदेशिक रोजगारको क्षेत्रमा देखिएका चुनौती उजागर गर्न सहयोग पुग्ने विश्वास लिएका छौँ,’ उनले भनिन् ।
 
यस्ता छन्, वैदेशिक रोजगारीका समस्या 
सम्झौताअनुसारको तलब र काम नपाउने रोजगारका लागि विभिन्न मुलुक पुगेका नेपाली कामदारका साझा समस्या हुन् । बिदेसिनेमध्ये ४१ प्रतिशतले सम्झौताअनुसारको काम नपाउने तथा ४० प्रतिशतले तलब नपाउने समस्या देखिएको छ । बाँकी ५ प्रतिशतले स्वास्थ्य परीक्षणमा फेल हुने गरेको पाइएको छ । यस्ता समस्या समाधानका लागि उजुरी दिँदा एकतिहाइभन्दा बढीको सुनुवाइ नै नहुने पनि अध्ययनमा उल्लेख छ ।
 
यस्ता छन् बिदेसिने कारण
नेपालमा भन्दा राम्रो आम्दानी हुने आशामा बिदेसिने नेपालीको संख्या सबैभन्दा बढी ३१ प्रतिशत रहेको अध्ययनले देखाएको छ । त्यस्तै, रोजगार पाउन कठिन भएपछि बिदेसिने कामदार २६ प्रतिशत, राजनीतिक अस्थितरताका कारण १२ प्रतिशत, बिदेसिने परिपाटी पछ्याउँदै जाने ११ प्रतिशत, द्वन्द्वका कारण ५ प्रतिशत, सामाजिक दबाबका कारण ६ प्रतिशत र बाँकी अन्य कारणले ९ प्रतिशत नेपाली बिदेसिएको अनुसन्धानमा उल्लेख छ ।
 
आधाजसोले पाउँदैनन् सही सूचना
वैदेशिक रोजगारीमा जानेमध्ये आधाजसोले पर्याप्त सूचनासमेत पाउन नसकेको देखिन्छ । पाएकाहरूले पनि गलत तथा द्विविधायुक्त सूचना पाउने गरेको देखिन्छ ।
 
पुनः किन फर्कन्छन् विदेश ?
एकपटक विदेश गएर फर्केकामध्ये धेरैजसो कामदार स्वदेशमा रोजगारी नपाउँदा बिदेसिन बाध्य हुने गरेको देखाएको छ । पुनः बिदेसिने कामदारमध्ये १० प्रतिशत भूकम्पले आयआर्जनको स्रोत खोसिएका रहेका छन् । ३१ प्रतिशत कामदार भने राम्रो कमाइ हुने आशामा बिदेसिने गरेका छन् ।
 
करिब आधाजसो स्वदेशमै रहन खोज्ने
वैदेशिक रोजगारीबाट फर्केका करिब आधाजसो कामदारले स्वदेशमै आम्दानीका अवसर खोज्ने गरेका छन् । यस्ता कामदारमध्ये सबैभन्दा बढी ६३ प्रतिशतले आफ्नै नयाँ व्यवसाय सुरु गर्न चाहेको अध्ययनका क्रममा फेला परेको छ । बाँकी १५ प्रतिशत कृषि कर्ममा लाग्ने गरेका छन् भने ९ प्रतिशतले स्वदेशमै रोजगारी खोज्ने गरेका छन् । २ प्रतिशत भने लामो समय विदेशमा बिताएका कारण स्वदेशमै बस्न रुचाउने गरेका छन् ।
 
रिपोर्टमा जस्तो समस्या छैन
मोहन अधिकारी
प्रवक्ता, वैदेशिक रोजगार विभाग
 
कानुनी तथा गैरकानुनी रूपमा विदेश गएका कामदारलाई समेटेर उहाँहरूले अनुसन्धान गरेको हुन सक्छ । त्यसो गर्दा पनि ५५ प्रतिशत कामदार नै समस्यामा रहेको भन्ने सही होइन । पछिल्लो वर्ष मात्रै ११ लाख कामदार रोजगारका लागि विदेश गएका छन् । तर, विभागमा लिखित तथा मौखिक रूपमा आउने उजुरीको संख्या हर्ने हो भने ६ हजारको हाराहारीमा मात्रै छ । यहाँबाट विभिन्न मुलुकमा गरिएको स्थलगत अध्ययनका क्रममा पनि त्यति धेरै समस्या रहेको देखिएको छैन ।
 
Published on: 8 September 2017 | Naya Patrika

Back to list

;