s

वैदेशिक कामदारलाई सहयोग गर्न ६२ करोड

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गत आर्थिक वर्ष २०७५/७६ मा वैदेशिक रोजगारमा गएका कामदारलाई सहयोग गर्न ६२ करोड ३६ लाख रुपैयाँ खर्चिएको छ । वैदेशिक रोजगार बोर्डले ४ हजार ९ सय ७३ कामदारलाई विभिन्न शीर्षकमा सहयोगबापत उक्त रकम खर्चिएको हो ।

मृतक परिवारलाई ४८ करोड सहयोग

वैदेशिक रोजगार बोर्डले मृतक कामदारका परिवारलाई आर्थिक सहायताबापत ४८ करोड ४९ लाख रुपैयाँ खर्च गरेको छ । गत आवमा बोर्डले २३ जना महिलासहित ७ सय ५३ मृतकका परिवारलाई आर्थिक सहयोग प्रदान गरेको छ । त्यस्तै, बोर्डले अंगभंग बिरामी भएका कामदारलाई ९ करोड १४ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । यस्तो सहयोग पाउनेमा १२ जना महिलासहित ३३५ जना कामदार छन् । बोर्डले २९ जना कामदारका परिवारलाई औषधोपचार लागि १२ लाख १५ हजार खर्च गरेको छ । जसमध्ये ९ जना महिला छन् भने २० जना पुरुष छन् ।

साढे ६५ लाखको टिकट

वैदेशिक रोजगार बोर्डले विदेशमा अलपत्र परेका कामदारलाई नेपाल झिकाउन टिकटबापत ६५ लाख ६५ हजार रुपैयाँ खर्च गरेको छ । गत आवमा बोर्डले ७८ जनालाई टिकट काटेर सहयोग गरेको बोर्डको तथ्यांकमा उल्लेख छ । जसमध्ये ५ जना महिला छन् भने ७३ जना पुरुष छन् । त्यस्तै, बोर्डले ८२ अलपत्र कामदारको शव नेपाल ल्याउन सहयोग गरेको छ । शव नेपाल ल्याउँनका लागि बोर्डले पेस्कीबापत ७८ लाख ५८ हजार रुपैयाँ खर्च गरेको छ । जसमध्ये एकजना महिला र ८१ जना पुरुष छन् ।

७ सय ८३ शव घरसम्म पुर्‍याउन साढे एक करोड

वैदेशिक रोजगार बोर्डले गत आवमा १७ महिलासहित ७ सय ८३ मृतक कामदारको शव घरसम्म पुर्‍याउन सहयोग गरेको छ । जसका लागि बोर्डले १ करोड ५७ लाख रुपैयाँ खर्च गरेको तथ्यांक छ । बोर्डले वैदेशिक रोजगार छात्रवृत्तिसमेत वितरण गरेको छ । जसबापत १ करोड ४८ लाख रुपैयाँ खर्च भएको छ । जसबाट ६९१ महिला र ७४२ जना पुरुष लाभान्वित भएका छन् । अभिमुखीकरण तालिमका लागि भने १० लाख ६६ हजार खर्च भएको छ  ।

के छ ऐनमा ?

वैदेशिक रोजगार नियमावलीअनुसार वैदेशिक रोजगारमा गएका कामदारको करार अवधिमा मृत्यु भएमा मृतकको नजिकको नातेदारलाई अधिकतम ७ लाख रुपैयाँसम्म भुक्तानी गर्ने व्यवस्था छ । यसका लागि परिवारले मृत्यु भएको एक वर्षभित्र आवश्यक कागजपत्रसहित बोर्डमा निवेदन दिनुपर्नेछ । तर, करार अवधि सकिएपछि मृत्यु भएमा, एक वर्षपछि निवेदन दिएमा वा आवश्यक कागजपत्र पूरा नगरेमा बोर्डले भुक्तानी गर्दैन । यद्यपि, किरिया खर्चबापत भने १० हजार रुपैयाँ भुक्तानी गर्ने व्यवस्था रहेको बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले बताए । ‘गत आवमा हामीले ३८ जनालाई किरिया खर्चबापत १० हजार रुपैयाँ भुक्तानी गरेका छौँ,’ उनले भने ।

त्यस्तै, कामदार पूर्णरूपमा अशक्त भएमा बोर्डको स्वास्थ्य विशेषज्ञ टोलीको सिफारिसमा अधिकतम ७ लाख रुपैयाँसम्म सहयोग उपलब्ध गराउने कार्यकारी निर्देशक श्रेष्ठले बताए । साथै मृतक परिवारका छोराछोरीलाई कक्षा आठसम्म पढाउन वार्षिक ८ हजार रुपैयाँ दिने व्यवस्था छ भने कक्षा ९ देखि १२ सम्मका लागि वार्षिक १२ हजार रुपैयाँ सहयोग दिने व्यवस्था छ ।

गत वर्ष ७० करोड कल्याणकारी रकम संकलन

गत आर्थिक वर्षमा वैदेशिक रोजगारीमा जाने कामदारबाट बोर्डले कल्याणकारी कोषका लागि करिब ७० करोड रुपैयाँ संकलन गरेको छ । २ वर्षको भिसा अवधिमा वैदेशिक रोजगारीमा जाने कामदारले १५ सय रुपैयाँ कोषमा जम्मा गर्नुपर्छ भने सो अवधिभन्दा बढी समयमका लागि जाने कामदारले २५ सय रुपैयाँ कोषमा जम्मा गर्नुपर्ने व्यवस्था छ । बोर्डले गत आवमा प्राप्त भएको रकममध्ये करिब ६४ करोड कामदारको कल्याणकारी कार्यमा नै खर्च भएको बोर्डका कार्यकारी निर्देशक श्रेष्ठले बताए ।

Published on: 28 July 2019 | Naya Patrika

Back to list

;