s

वैदेशिक रोजगार र सामाजिक सञ्जालको प्रभाव : सानैमा बिहे, वर्षदिन नबित्दै सम्बन्ध विच्छेद

श्यामशितल परियार

लमजुङमा बर्सेनि सम्बन्ध विच्छेदका घटना बढ्दै गएको छ । लमजुङ जिल्ला अदालतको तथ्यांक अनुसार बर्सेनि १ सयभन्दा बढी दम्पत्तिले सम्बन्धविच्छेद गर्ने गरेका छन् । आर्थिक वर्ष २०७४/७५ मा अदालतमा दर्ता भएका २०७ थान मुद्धामा सबैभन्दा बढी सम्बन्ध विच्छेदकै घटना छन् । जिल्ला अदालतमा दर्ता भएका ८६ वटा मुद्धा सम्बन्ध विच्छेदको रहेका छन् । सम्बन्ध विच्छेदका ६४ वटा मुद्धा फर्स्याैट भएका छन् । २२ वटा मुद्धा फर्स्याैट हुन बाँकी छ । विहीबार जिल्ला अदालतमा आयोजित पत्रकारसँगको अन्तरक्रिया कार्यक्रममा अदालतले यस्तो जानकारी गराएको हो । 

गएको आर्थिक वर्ष (२०७३/०७४) को तथ्यांक अनुसार जिल्ला अदालतमा १ सय ८ वटा सम्बन्ध विच्छेदका मुद्धा परेका थिए । यसैगरी, आर्थिक वर्ष २०७२/७३ मा एकसय १६ वटा सम्बन्ध विच्छेदका मुद्दा परेका थिए । अदालतमा वर्षभरीमा पर्ने कुल मुद्धा मध्ये सबैभन्दा बढी सम्बन्ध विच्छेदका मुद्धा हुने गरेको छ ।
 
सामाजिक सञ्जालको बढ्दो प्रयोग, वैदेशिक रोजगार, कम उमेरमा प्रेम हुने, वैवाहिक जीवनमा बाँधिने र अन्य पारिवारिक, सामाजिक समस्याका कारण सम्बन्ध विच्छेद बढेको जिल्ला न्यायाधिश कोमलप्रसाद आचार्यको भनाई छ । ‘व्यक्तिगत, सामाजिक, आर्थिक र वैदेशिक रोजगारीकै कारण सम्बन्ध विच्छेदका घटना बढ्दो छ,’ उहाँले थप्नुभयो ।
 
मुख्यतः दाम्पत्य जीवनको बारेमा पूर्ण जानकारी नभएका, कानुनी प्रावधानका बारेमा जानकार नभएका, कलिला उमेरका केटाकेटीहरु आफ्नै मर्जीले विवाह गर्ने र वर्ष दिन नबित्दै सम्बन्ध विच्छेद गर्ने क्रम बढेको जिल्ला वार एसोसियसन लमजुङका अध्यक्ष कृष्णप्रसाद अधिकारीले बताउनुभयो । 
 
‘सम्वन्ध विच्छेदका घटना न्यूनिकरणका लागि परिपक्व उमेरमा विवाह गर्नु आवश्यक छ, आपसमा समझदारी भए, विश्वास भए, स्वदेश विदेश, नजिक टाढा जहाँ रहे पनि दम्पत्तिबीचमा माया प्रेम, अगाध हुन्छ, जसका कारण सम्बन्ध विच्छेदका घटना कम हुन जान्छन्’ उहाँले भन्नुभयो । 
 
जिल्लामा पछिल्लो समय सम्बन्ध विच्छेद गर्नेको संख्या अधिक रहेको अदालतका श्रेस्तेदार भूमिप्रसाद शर्माले उल्लेख गर्नुभयो ।
 
Published on: 23 March 2018 | Ujyaaloonline

Back to list

;