s

वैदेशिक रोजगार व्यवसायीलाई डलर खाताको सुविधा

राष्ट्र बैंकले म्यानपावर कम्पनीलाई अमेरिकी डलरमा खाता खोली कारोबार गर्न सक्ने सुविधा दिएको छ। बैंकले सोमबार एक परिपत्रमार्फत यो जानकारी दिएको हो। राष्ट्र बैंकको यो निर्णयसँगै म्यानपावर कम्पनीले वैदेशिक रोजगार व्यवसायी संघको सिफारिसमा क वर्गको वाणिज्य बैंकमा खाता खोली कारोबार गर्न सक्नेछन्।

व्यवसायीहरुले लामो समयदेखि अमेरिकी डलरमा खाता खोल्ने व्यवस्था गर्न माग गर्दै आएका थिए। उनीहरुले विदेशबाट कामदारको माग ल्याउँदा एजेन्सी वा एजेन्टलाई दिनुपर्ने कमिसन हुन्डीमार्फत पठाउनुपर्ने बाध्यता रहेको बताउँदै आएका थिए।
अमेरिकी डलरमा खाता खोलेपछि व्यवसायीले विदेशी मुद्रामा प्राप्त गर्ने सम्पूर्ण कमिसन, शुल्क आदि बैकिङ प्रणालीमार्फत खातामा जम्मा गर्न सक्नेछन्। यस्तै व्यवसायीले विदेशमा भुक्तान गर्नुपर्ने सेवा शुल्क, कमिसन एजेन्सी शुल्क, रिसोर्सिङ शुल्क आदि बिल भर्पाइको आधारमा सटही गरी इजाजतपत्र प्राप्त क वर्गका वाणिज्य बैंकमार्फत भुक्तानी पठाउन सक्नेछन्। 
डलरमा खाता खोल्ने सुविधापछि वार्षिक रुपमा १ सय कामदार पठाउने कम्पनीले व्यापार प्रवर्द्धन, मनोरन्जन खर्चबापत व्यवसायीले विदेशमा जाँदा निवेदनको आधारमा आफ्नो विदेशी मुद्रा खाताबाट बैंक तथा वित्तीय संस्थाहरुको वर्षमा एकपटक वा पटकपटक गरी धेरैमा १० हजार अमेरिकी डलर सटही सुविधासमेत पाउने राष्ट्र बैंकले जनाएको छ। त्यस्तै वर्षमा १ सयभन्दा बढी कामदार पठाउने कम्पनीले वर्षमा एकपटक वा पटकपटक गरी बढीमा २० हजार अमेरिकी डलर सटही सुविधा पाउनेछन्। सटही सुविधाको विवरण भने त्रैमासिक रुपमा वाणिज्य बैंकले राष्ट्र बैंकलाई उपलब्ध गराउनुपर्नेछ। 
नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको ११३ मा पनि म्यानपावर कम्पनीलाई परिवर्त्य विदेशी मुद्रामा खाता खोल्न दिने सुविधा प्रदान गरेको थियो। तर बिहीबार कति रकम, कस्तो प्रकृतिमा, विदेश जाँदा कति डलर लैजान पाउने भन्ने विवरणसहित परिपत्र जारी गरेको हो। 
वैदेशिक रोजगार व्यवसायीले २ वर्षदेखि वैदेशिक रोजगारमा हुन्डीमार्फत अवैधानिक रुपमा कारोबार भइरहेको भन्दै व्यवस्थित गर्न डलरमा खाता खोल्ने पाउनुपर्ने माग राख्दै आएका थिए। संघका अध्यक्ष बलबहादुर तामाङले राष्ट्र बैंकको नयाँ निर्णयले रोजगार व्यवसायीलाई धेरै राहत पुगेको भन्दै त्यसको प्रत्यक्ष फाइदा सरकारलाई पनि भएको बताए। 
'अब विदेशबाट आउने कमिसन, सर्भिस चार्ज डलर खातामा आउँदा करको दायरा पनि बढ्छ, यसले सरकारलाई प्रत्यक्ष फाइदा पुग्छ,' उनले भने। 'विगतमा कामदारको माग लिन जाँदा गलत बाटो अपनाउनुपर्थ्याे, कारोबार हुन्डीबाट हुन्थ्यो अब व्यवसायीले आफ्नै खाताबाट कारोबार गर्छन्, यो सुविधा बढेको छ,' उनले भने। 'डलरमा खाता खोल्दा हुन्डी धेरै न्यूनीकरण हुन्छ,' तामाङले भने। 
संघका महासचिव रोहन गुरुङले अवैध बाटो प्रयोग गर्नुपर्ने बाध्यतालाई राष्ट्र बैंकको निर्णयले सजिलो बनाइदिएको बताए। 'विगतमा अवैध बाटोमार्फत कारोबार हुन्थ्यो अब बैकिङ च्यानलमार्फत काम हुन्छ, यसले काम गर्नेको तथ्यांक पनि राख्छ, धेरै कारोबार गर्ने धेरै कर पनि तिर्छ,' उनले भने। 
वैदेशिक रोजगार व्यवसायीबीच कामदारको माग ल्याउन चर्काे प्रतिस्पर्धा हुँदा विदेशमा एजेन्टलाई बढी कमिसन तिर्नुपर्दा अवैधानिक बाटोबाट धेरै रकम बाहिरिनेसमेत गरेको थियो तर कम्पनीले डलरमा खाता खोल्न पाउने नियम भएपछि प्रवर्द्धन खर्च भनेर राष्ट्र बैंकले सीमा तोकिदिएपछि अनाश्यक कमिसनको खेल पनि घट्ने व्यवसायी बताउँछन्। 
 

विगतमा 
• हुन्डीबाट रकम आउने–जाने हुन्थ्यो
• कमिसन, सर्भिस चार्ज करको दायरामा थिएन
• प्रवर्द्धन खर्चका लागि धेरै रकम लान पाइने थिएन

अब
• बैंकिङ च्यानल प्रयोग हुन्छ। 
• कमिसन, सर्भिस चार्ज करको दायरमा आउँछ। 
• प्रवर्द्धन खर्चको सीमा बढ्छ।

 

Published on: 7 January 2014 | Nagarik 

Back to list

;