s

बहुसंख्यक नेपाली उत्पादन क्षेत्रमा

मलेसियाका औद्योगिक क्षेत्रमा कामदार अभाव
 
रामचन्द्र गिरी
 
मलेसियाली सरकारले विदेशी कामदार ल्याउन रोक लगाएपछि यहाँका औद्योगिक क्षेत्रहरुमा कामदार अभाव हुन थालेको छ । मलेसियाली सरकारले गत फेब्रुवरीदेखि सबै विदेशी कामदार लिनमा रोक लगाएपछि यस्तो समस्या भएको हो ।
 
कामदार अभावका कारण अर्बौं रकम लगानीका व्यवसाय चौपट हुनसक्ने भन्दै सरोकारवाला रोजगारदाताले चिन्ता व्यक्त गरेका छन् । सरोकारवालाले कामदार ल्याउन लगाइएको बन्देज हटाउन सरकारसित आग्रह गर्दै आएका छन् ।
 
मलेसियाले हाल गैरकानुनी विदेशी कामदारहरुलाई बैध हुने र काम गर्न पाउने अवसरसहितको कार्यक्रम (रिहाइरिङ प्रोग्राम) सञ्चालन गरिरहेको छ । गत फेब्रुवरी १० देखि शुरु भएको यो कार्यक्रमसंगै नयाँ विदेशी कामदार ल्याउनमा रोक लगाइएको हो ।
सरकारले गैरकानुनी कामदारलाई कानुनी दायरामा ल्याई रोजगारी दिन ल्याउने भनिएको कार्यक्रम आगामी जुन महिनाको ३१ सम्म सञ्चालन हुने छ । बर्षेनी डेढलाखदेखि दुई लाख नेपाली कामदार मलेसिया आउने गरेकोमा सरकारले ‘फ्रि भिसा फ्रि टिकट नीति’ र मलेसियाको बन्देजपछि यता आउने नेपाली हवात्तै घटेका छन् भने नयाँ कामदार आउन पाएका छैनन् ।
 
 करिब ५५ हजार विदेशी कामदार ‘रिहाइरिङ प्रोग्राम’ अन्तर्गत बैध भई रोजगारी गर्नका लागि दर्ता भएका छन् । तीमध्ये नेपाली कमै छन । यहाँका उत्पादन र निर्माण क्षेत्रमा कामदारको अभाव खटिएपछि रोजगारदाता एवं सरोकारवालाहरुले बन्देज फुकुवा गर्न सरकारको ध्यान खिच्दै आएका छन् । यद्यपी सरकार भने तत्काल मुलुकमै भएका गैरकानुनी हैसियतका कामदारलाई बैध गराई कामदार अभाव टार्ने मुडमा रहेको रोजगारदाताहरु बताउँछन् ।
 
यतिखेर यहाँका उत्पादन क्षेत्र (रबर, इलेक्ट्रोनिक्स र फर्नीचर) र निर्माण एवं प्लान्टेशन क्षेत्रमा कामदारको अभाव हुँदा समयमै कामदार नपाएमा व्यवसाय चौपट हुने चिन्ता यस क्षेत्रका संघसंस्थाका प्रतिनिधिको छ । मलेसियामा कार्यरत नेपालीमध्ये बहुसंख्यक उत्पादन र सेवा क्षेत्रमा कार्यरत छन् ।
 
फर्नीचर निर्यातकर्ता मुलुकमध्ये मलेसिया विश्वमै आठौं स्थानमा छ । क्वालालम्पुर एण्ड सेलांगर फर्नीचर एसोसियसनले कामदार अभावका कारण उत्पादन सामाग्रीमा ह्रास हुन गई उक्त स्थान भियतनाम र इण्डोनेसियाले लिनसक्ने े भन्दै चेतावनी दिएका छन् ।
उक्त एसोसियसनका अध्यक्ष दातुक एरिक लि ले मलेसियाली अंग्रेजी दैनिक ‘द स्टार’ सित भनेका छन्, ‘हामीले उत्पादन सामाग्रीको गुणस्तरमा राम्रो छबी बनाएका छौं तर हामीले डेडलाइनभित्रै निर्यात गर्न सक्नुपर्दछ । कतिपय मागहरु ६ महिना र एक बर्षभित्र पठाइसक्नुपर्ने हुन्छ । त्यसैले सरकारले कामदार बन्देजबारे पुर्नविचार गर्नुपर्दछ ।’
 
गतबर्षको एक तथ्यांकअनुसार करीब २३ लाख विदेशी कामदार बैध रहेको भनिएको मलेसियामा करिब ४ लाख ८३ हजार हाराहारीमा नेपाली बैध रहेको देखिएको छ । ‘मलेसियाको औद्योगिक क्षेत्रमा नेपालीहरुको उल्लेखनीय योगदान छ ।
 
फेडेरेसन अफ मलेसियन म्यानुफ्याक्चरर्सको एक सर्भेका अनुसार करिब ८४ प्रतिशत उत्पादन क्षेत्रमा कामदार अभाव छ ।
 
मलेसियाका फर्नीचर, रबर विश्वमा प्रसिद्ध छन् । यी सामानहरु मलेसियाबाट युरोप, अमेरिका, जापान लगायत मुलुकहरुमा निर्यात हुन्छ । मलेसियाको तथ्यांकअनुसार बैमध्ये १ तिहाईभन्दा बढी विदेशी कामदार उत्पादन क्षेत्रमा काम गर्छन् । अन्य क्षेत्रमा भन्दा यी क्षेत्रमा ओभरटाइम पाइने हुँदा प्राय नेपाली सेवा र उत्पादन क्षेत्रमा बढी रुचाउने गरेका छन् । मलेसियामा उत्पादनबाहेक कृषि, निर्माण र सेवा क्षेत्रमा पनि नेपालीहरु कार्यरत छन् ।
 
गत सन् २०१३ को तथ्यांक हेर्ने हो भने मलेसियामा रहेका २२ लाख ५० हजार तीनसय २२ विदेशी कामदारमध्ये ७ लाख ५१ हजार सातसय ७२ जना उत्पादन क्षेत्रमा कार्यरत रहेको देखिन्छन् । त्यस्तै कृर्षिमा ६ लाख २५ हजार ९३, निर्माणमा ४ लाख ३४ हजार दुईसय, सेवा क्षेत्रमा २ लाख ६९ हजार तीनसय २१, घरेलु क्षेत्रमा १ लाख ६९ हजार ९ सय ३६ जना कार्यरत रहेका देखिन्छन् । तीमध्ये ३ लाख ८५ हजार चारसय ४६ जना नेपाली कामदार हुन् ।
 
Published on: 25 April 2016 | Kantipur 

Back to list

;