s

बहराइनमा थप १० नेपालीमा कोरोना भाइरसको संक्रमण

होम कार्की 

काठमाडौँ — बहराइनमा कोरोना भाइरसबाट थप १० नेपाली संक्रमित भएका छन् । योसँगै बहराइनमा मात्रै भाइरसबाट संक्रमित नेपालीको संख्या २२ पुगेको छ ।

मनामास्थित नेपाली दूतावासका अनुसार क्वारेन्टाइनमा राखिएका नेपालीको स्वास्थ्य परीक्षण गर्दा कोरोना संक्रमण भएको देखिएको हो। राजदूत पदम सुन्दासले केही समय अगाडि सल्मावाद स्थित एक क्याम्पमा एक जना विदेशी कामदारमा संक्रमण देखिएपश्चात त्यहाँ कार्यरत करिब ४ सय जनालाई क्वारेन्टाइनमा राखिएकोमा हाल १० नेपालीमा संक्रमणको पुष्टि भएको बताए। 

यसअघि त्यस क्याम्पमा भएका ९ नेपालीलाई कोरोनाको संक्रमण भएको देखिएको थियो। ३ जना भने अन्य क्याम्पमा बस्ने नेपाली थिए। राजदूत सुन्दासका अनुसार उनीहरूको स्वास्थ्य अवस्था स्थिर छ। 

बुधबारसम्म बहराइनमा ५२ हजार ३ सय ५१ जनाको स्वास्थ्य परीक्षण गरिएको छ। संक्रमित ३ सय ४९ जनाको उपचार जारी छ। ३ जनाको अवस्था गम्भीर रहेको बताइएको छ। ४ सय ६७ जनालाई निको भइसकेको छ। 

दूतावासले ७ अप्रिलदेखि डिसेम्बर ३१ सम्म अवैधानिक कामदारलाई स्वदेश फिर्नका लागि आममाफी दिएको जनाएको छ।

Published on: 9 April 2020 | Kantipur

Link

Back to list

;