s

बहराइनले नेपाली कामदार नि:शुल्क लैजाने

कोटा थपियो, सेवासुविधा पनि बढ्ने

बहराइनमा नेपाली कामदार नि:शुल्क जान पाउने भएका छन्। कामदार लिने विषयमा वार्ता गर्न नेपाल भ्रमणमा आएका बहराइनका श्रम बजार नियमन निकायका प्रमुख असमान अबुल्ला अल अवासीले नेपाली कामदारलाई नि:शुल्क भिसा र टिकट दिइने जानकारी दिएका हुन्।  

श्रम तथा रोजगार मन्त्रालयका उच्च अधिकारी र अल अवासीबीच बिहीबार भएको वार्तापछि बहराइन नेपाली कामदारलाई नि:शुल्क लैजान तयार भएको हो।

हाल बहराइन जाने कामदारले एक लाख ५० हजार रुपैयाँसम्म तिर्ने गरेका छन्। सरकारले नै त्यहाँ जाने कामदारसँग ७० हजार रुपैयाँ लिन म्यानपावर कम्पनीलाई अनुमति दिएको छ। म्यानपावर कम्पनीले भने कामदारसँग दोब्बर बढी रकम असुल्ने गरेका हुन्।  

दुई देशबीच बिहीबार भएको सहमतिपछि अब नेपालले म्यानपावर कम्पनीले ७० हजार रुपैयाँ लिन पाउने व्यवस्था खारेज गर्नुपर्नेछ।  

दुई देशबीच भएको यो सहमति कार्यान्वयन हुन सकेमा त्यहाँ जाने नेपाली कामदारका लागि निकै ठूलो राहत मिल्नेछ। म्यानपावर कम्पनीमार्फत नै कामदार पठाउन निरन्तरता दिइए पनि न्यूनतम सेवाशुल्कबाहेक बाँकी रकम लिन पाउँदैनन्।

श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङ, श्रम तथा रोजगार मन्त्रालयका सविच भोला सिवाकोटी, वैदेशिक रोजार विभागका निमित्त महानिर्देशक भेषबहादुर कार्कीलगायतका अधिकारीसँग बिहीबार अल अवासीले वार्ता गरेका हुन्।  

हाल बहराइन जाने कामदारले एक लाख ५० हजार रुपैयाँसम्म तिर्ने गरेका छन्। सरकारले नै कामदारसँग ७० हजार रुपैयाँ लिन म्यानपावर कम्पनीलाई अनुमति दिएको छ। दुई देशबीच भएको सहमतिपछि अब नेपालले ७० हजार रुपैयाँ लिन पाउने व्यवस्था खारेज गर्नुपर्ने हुन्छ।

वार्तामा अल अवासीले नेपाली कामदारको संख्या बढाएर एक लाख ५० हजार पुर्‍याउने जानकारी दिए। हाल नेपालबाट ४० हजारजनाले बहराइन जान अनुमति पाएको तथ्यांक छ। तर, फर्किएकाको तथ्यांक नभएकाले अहिले त्यहाँ कतिजनाले काम गरिरहेका छन् भन्ने यकिन जानकारी छैन।  

बहराइनले हाल १५ हजार नेपालीले त्यहाँ काम गरिरहेको जनाएको छ। यो बढाएर अधिकतम एक लाख ५० हजारजनालाई रोजगारी दिने प्रतिबद्धता बहराइनले गरेको हो।

वार्तामा सहभागी वैदेशिक रोजगार विभागका निमित्त महानिर्देशक भेषबहादुर कार्कीले बहराइनले नेपाली कामदार नि:शुल्क लिने प्रतिबद्धता व्यक्त गरेको जानकारी दिए। 'नि:शुल्क रूपमा कामदार लैजान र संख्या बढाएर एक लाख ५० हजारजना पुर्‍याउन बहराइन सहमत भएको छ', उनले भने।

बहराइनको जनसंख्या १३ लाख छ तर त्यहाँ वार्षिक करिब ४० लाख विदेशी पर्यटक जाने गरेका छन्। बहराइनले पर्यटन क्षेत्रमै अधिकांश नेपाली कामदार लैजान चाहेको हो। अर्धदक्ष र अदक्ष जनशक्ति पठाउने नेपालको योजना छ।

 नेपाली कामदारको तलब तथा अन्य सुविधा बढाउने आश्वासनसमेत अल अवासीले दिएका छन्। यसबाहेक औषधिउपचार खर्च र बिमा गराउनसमेत बहराइन तयार भएको छ। नेपाललेम्यानपावर कम्पनी वा सरकारकै निगरानीमा बहराइनमा घरेलु कामदारसमेत पठाउन सकिने जानकारी गराएको छ।

कामदार पठाउने मोडालिटीका बारेमा बहराइनले नेपालले चाहेअनुसार हुने जानकारी गराएको विभागका निमित्त महानिर्देशक कार्कीले बताए। नेपालले बहराइनले मानेमा दक्षिण कोरियामा जस्तै दुवै देशका सरकारले सहमति गरेर कामदार पठाउन चाहेको छ।  

बिहीबारको वार्तामा बहराइनका श्रम बजार नियमन निकायका प्रमुख असमान अबुल्ला अल अवासीले सरकारी तबरबाट कामदार आदानप्रदान गर्न कुनै आपत्ति नभएको नेपाललाई जानकारी गराए। 'नेपालले चाहेअनुसार जुनसुकै मोडेलमा कामदार लिन तयार छौं', वार्तामा सहभागी एक अधिकारीले अल अवासीको भनाइ उद्‌धृत गरे।

नेपालले तीनवटा मोडेल अघि सारेको थियो। पहिलो मोडेलका रूपमा दुवै देशका सरकारले सहमति गरेर कामदार पठाउने रहेको छ। यसमा रोजगारदाता मुलुक सहमत नभएमा सरकार र निजी क्षेत्र दुवैको सहभागिता (पीपीपी) मा पठाउने अवधारण अघि सारिएको छ।  

यी दुवैमा बहराइन सहमत नभए म्यानपावर कम्पनीलाई नै पठाउन दिने तेस्रो मोडेल नेपालले तयार गरेको थियो। जुनसुकै मोडेलमा कामदार लिन तयार भएकाले अब नेपाललाई आफूले चाहेको मोडेलमा कामदार पठाउन बाटो खुला भएको छ।

वार्तामा बहराइनले नेपाली कामदारलाई तालिमसमेत दिन सकिने बताएको छ। रोजगारदाता कम्पनीमार्फत नै बहराइनमा पुगेपछि कामसँगै तालिम दिने व्यवस्था मिलाइने आवश्वासन अल अवासीले दिएका हुन्।

नेपाली कामदार निकै मेहनती र इमानदार रहेकाले त्यहाँ लैजान आकर्षित गर्ने नीति बनाएको उनले वार्तामा जानकारी गराएका थिए। दुवै देशले कामदारको रेकर्ड वैज्ञानिक ढंगबाट राख्न अनलाइन प्रणाली विकास गर्ने सहमति गरेका छन्।

Published on: 3 April 2015 | Annapurna Post

Back to list

;