s

बहराइनका श्रम बजार नियामक नेपाल आउँदै

नेपाली कामदारको कोटा र सेवासुविधा बढाउनेबारे छलफल गर्न बहराइनका श्रम बजार नियमन निकायका प्रमुख असमान अबुल्ला अल अवासी आगामी सोमबार नेपाल भ्रमणमा आउने भएका छन्।

 नेपाल सरकारको निमन्त्रणामा अवासीले औपचारिक भ्रमण गर्न लागेका हुन्। उनी ६ दिन नेपाल बस्ने कार्यक्रम तय भएको छ। अवासीले श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङसहित श्रम तथा रोजगार मन्त्रालयका उच्च अधिकारीसँग वार्ता गर्ने कार्यक्रम तय भएको छ।

 बहराइनले नेपाली कामदारको कोटा बढाइदिने मौखिक आश्वासन दिइसकेको छ। यसलाई औपचारिकता दिन त्यहाँको श्रम बजार नियमन निकाय (एलएमआरए) का प्रमुखलाई निमन्त्रणा गरिएको हो।

हाल बहराइनमा ४० हजार नेपालीले काम गरिरहेको अनुमान छ। आगामी एकदेखि दुई वर्षभित्रमा थप एक लाख कामदार लिने अनौपचारिक जानकारी बहराइनले नेपाललाई गराएको छ।

बहराइनले नेपाली कामदारको कोटा बढाइदिने मौखिक आश्वासन दिइसकेको छ। यसलाई औपचारिकता दिन त्यहाँको श्रम बजार नियमन निकाय (एलएमआरए) का प्रमुखलाई निमन्त्रणा गरिएको हो।

कामदारको संख्यासँगै तलब र अन्य सेवासुविधा बढाउनसमेत नेपालले प्रस्ताव गर्नेछ। हाल बहराइनमा औसतमा नेपाली कामदारले मासिक ३० हजार रुपैयाँ कमाइ गरिरहेका छन्।

 अब कम्तीमा ४० हजार रुपैयाँ दिनुपर्ने प्रस्ताव नेपालले गर्ने भएको छ। बहराइनले नेपाली कामदारको तलबसुविधा बढाउने संकेत गरिसकेको छ। यसअघि त्यहाँ गएका नेपाली कामदारले उत्कृष्ट काम गरेकाले बहराइनले नेपाली कामदारलाई उच्च प्राथमिकतामा राखेको जानकारी दिएको छ।

 वैदेशिक रोजगार विभागका निमित्त महानिर्देशक भेषबहादुर कार्कीले विभागको निमन्त्रणमा बहराइनका श्रम बजार नियमन निकायका प्रमुख नेपाल भ्रमणमा आउन लागेको बताए।

 नेपाली कामदारको कोटा बढाउन र सेवासुविधा वृद्धि गर्न नेपालले अधिकतम लबिङ गर्ने उनले बताए। 'बहराइनमा कामदारको माग बढेकाले नेपालले सेवासुविधा वृद्धिसहित त्यहाँ आफ्ना कामदार पठाउन विशेष पहल गर्न लागेको हो,' उनले भने।

बहराइनले पूर्वाधार, सुरक्षा गार्ड, डिमार्टमेन्टल स्टोरमा कामदारको माग बढाएको छ। यसबाहेक पर्यटन, उद्योग प्रतिष्ठानमा पनि उसलाई कामदारको अभाव छ। अर्ध दक्षस्तरका धेरै कामदार नेपालबाट लैजाने रणनीति यो मुलुकले बनाएको हो।

 उद्योगधन्दा तथा होटेल, रेस्टुराँमा आवश्यक सुरक्षा गार्डमा नेपाललाई उच्च प्राथमिकता दिने उसले योजना बनाएको छ। नेपालमा सुरक्षा निकायमा काम गरेर निवृत्तिभरण लिइसकेका व्यक्तिले त्यहाँ सजिलै काम पाउन सक्ने म्यानपावर व्यवसायी बताउँछन्।

 नेपालले बहराइनसँग श्रम सम्झौता नगरीकन कामदार पठाइरहेको छ। सम्झौताबिना पठाउँदा कामदार समस्यामा परेमा कानुनी उपचार पाउन कठिन हुन्छ। नेपालले श्रम सम्झौताका बारेमा पनि छलफल गर्ने भएको छ।

 हाल कामको खोजीमा दैनिक औसतमा १५ सय नेपाली बिदेसिने गर्छन्। सरकारी अनुमति लिएर वैदेशिक रोजगारीमा जानेको संख्या ३५ लाख नाघिसकेको छ। आन्तरिक बजारमा रोजगारीको अभाव भए पनि नेपालले नयाँ श्रम गन्तव्य भने खोजी गर्न सकेको छैन।

Pubished on: 27 March 2015 | Annapurna Post

Back to list

;