s

बाहिरिँदै चिकित्सक : जति उत्पादन, उति नै विदेशतिर

काठमाडौँ — नेपालमा प्रतिहजार जनसंख्याका लागि १.९४ स्वास्थ्य जनशक्ति मात्र उपलब्ध छ । सरकारी तथ्यांकले नै स्वास्थ्य क्षेत्रमा जनशक्तिको यति ठूलो अभाव देखाएका बेला दक्ष चिकित्सक भने विदेश जाने क्रम बढ्दो छ । चार–पाँच वर्षयताको मात्रै तथ्यांक हेर्ने हो भने एक वर्षमा जति चिकित्सक उत्पादन हुन्छन् त्यही हाराहारीमा उच्च शिक्षा अध्ययन, फेलोसिप वा कामकै लागि विदेश जाने गरेका छन् ।
यो ट्रेन्डले आगामी दिन अस्पताल सञ्चालन गर्नकै लागि दक्ष चिकित्सकको अभाव हुने जोखिम बढाएको स्वास्थ्य क्षेत्रका विज्ञ बताउँछन् ।

सन् २०२३ मा मात्रै नेपाल मेडिकल काउन्सिलबाट असल चारित्रिक प्रमाणपत्र (गुड स्ट्यान्डिङ सर्टिफिकेट) लिने चिकित्सकको संख्या अघिल्लो वर्षभन्दा झन्डै ४ सय बढी छ । नेपाली चिकित्सकले विदेशमा अध्ययन वा काम गर्नका लागि यस्तो प्रमाणपत्र लिने गरेका छन् ।

विदेशका नियामक निकायमा दर्ता हुनका लागि पनि यो आवश्यक पर्छ । प्रमाणपत्र लिने चिकित्सकमा एमडीभन्दा एमबीबीएस गर्नेको संख्या ठूलो भएको काउन्सिल स्रोतले बतायो । काउन्सिलबाट २०२३ मा २ हजार ३१८ जनाले विभिन्न देशमा जान प्रमाणपत्र लिएका छन्, जबकि २०२३ मै एमबीबीएसको लाइसेन्स परीक्षा उत्तीर्ण गर्ने संख्या योभन्दा कम २ हजार २२२ छ । २०२२ मा भने यो संख्या १ हजार ९ सय ५४ मात्र थियो । २०२१ मा १ हजार ३ सय २७ र २०२० मा ८ सय ६९ जनाले यस्तो प्रमाणपत्र लिएका थिए ।

यसरी प्रमाणपत्र लिनेमध्येमा सबैभन्दा बढी बेलायत जानेहरू छन् । सन् २०२० मा बेलायत जान १६२, २०२१ मा ३१९, २०२२ मा ५९२ र २०२३ मा ५०५ जनाले प्रमाणपत्र लिएको काउन्सिलको तथ्यांकले देखाउँछ । अमेरिका जाने चिकित्सकको संख्या पनि ठूलो छ । २०२० मा २७६, २०२१ मा २७३, २०२२ मा ४९६ र २०२३ मा ८४३ जनाले अमेरिका जानकै लागि प्रमाणपत्र लिएका छन् । यस्तै, माल्दिभ्स जान २०२० मा २१६, २०२१ मा ४०३, २०२२ मा ४५३ र २०२३ मा ३९५ जनाले प्रमाणपत्र लिएका छन् । यससँगै अस्ट्रेलिया, यूएई, क्यानडा र कतार जाने चिकित्सकको संख्या पनि बढ्दै गएको तथ्यांकले देखाउँछ ।

काउन्सिलका अनुसार २०२० मा १ हजार ६६८ जनाले एमबीबीएसको लाइसेन्स परीक्षा पास गरेका थिए । यस्तै, २०२१ मा १ हजार २९८, २०२२ मा १ हजार ७५३ र २०२३ मा २ हजार २२२ ले यो परीक्षा पास गरेका थिए । हालसम्म नेपालमा मेडिकल र डेन्टल गरेर कुल ३४ हजार ९१० चिकित्सक दर्ता छन् । विशेषज्ञ चिकित्सकको संख्या पनि मेडिकल र डेन्टल गरी कुल १० हजार ५८८ छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नेपाल स्वास्थ्य क्षेत्र रणनीतिक योजना (२०७९/८०–२०८७/८८) अनुसार नेपालमा प्रति १० हजार ९.०४ को अनुपातमा चिकित्सकको संख्या रहेको छ । यस्तै, स्वास्थ्यका लागि जनशक्तिसम्बन्धी विश्वव्यापी रणनीति २०३० अनुसार प्रतिएक हजार जनसंख्याका लागि ४.४५ स्वास्थ्य जनशक्ति चाहिन्छ । नेपाल मेडिकल काउन्सिलका पूर्वअध्यक्ष तथा वरिष्ठ मुटु शल्यचिकित्सक भगवान कोइराला विदेश जाने दक्ष चिकित्सकको संख्या बढ्दै गएको स्विकार्छन् । उनका अनुसार नेपालमा स्नातकोत्तर वा पीजी सकेर भन्दा पनि एमबीबीएस गरेर जाने चिकित्सकको संख्या धेरै देखिन्छ ।

एमबीबीएसपछि उच्च शिक्षाका लागि नेपालमा पर्याप्त सिट उपलब्ध नहुनु पनि पलायनको एक कारण हुन सक्ने डा. कोइरालाले बताए । ‘नेपालमा बर्सेनि करिब २२ सयदेखि २५ सय एमबीबीएस पास गरेका चिकित्सक उत्पादन हुन्छन् । यसमा भारत, चीन, बंगलादेशमा पढेर आएकाहरू पनि छन् । ‘एमबीबीएस पढेर विदेश गएका अधिकांश चिकित्सक कुनै न कुनै हिसाबमा उतै बस्छन् । पीजी पढेर उच्च शिक्षाका लागि गएकाहरू भने ज्ञान र सीप पनि लिएर आउने पनि छन्,’ उनले भने ।

नेपालको राजनीतिक तथा प्रशासनिक क्षेत्रको भद्रगोल अवस्था देखेर पनि विदेश जान बाध्य भएको डा. कोइराला बताउँछन् । ‘चिकित्सकहरूमा नेपालमै काम गरेर जीविकोपार्जन गर्न सकिन्छ भन्ने विश्वास कम हुँदै जानु पलायनको अर्को कारण हो,’ उनले भने, ‘उनीहरूलाई रोक्ने हो भने सरकारका निकायमा दरबन्दी हुनुपर्‍यो र त्यो खुल्नुपर्‍यो । प्रदेश, स्थानीय र निजी क्षेत्रमा पनि अवसर मिल्नुपर्‍यो ।’

स्वास्थ्य सेवा विभागले प्रकाशन गरेको नेपाल हेल्थ फ्याक्ट सिट २०२३ को तथ्यांकलाई नै आधार मान्ने हो भने सरकारी अस्पतालमा कन्सल्टेन्ट र मेडिकल अफिसर तहमा कुल स्वीकृत दरबन्दीको झन्डै ४६ प्रतिशत पद खाली छ । जनरल फिजिसियन तहको ६२ प्रतिशत पदपूर्ति हुन सकेको छैन । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकी चिकित्सकसहित कर्मचारीलाई दक्ष प्राविधिक जनशक्तिका रूपमा नहेरी निजामती कर्मचारीसरह सेवासुविधाको व्यवस्था हुँदासम्म यो खाडल पुर्न कठिन हुने बताउँछन् । ‘जुन

रफ्तारमा चिकित्सक विदेशिएका छन्, त्यसले भोलिका दिन निर्माणाधीन आधारभूत अस्पताल पनि सञ्चालनमा ल्याउन कठिन हुने देखिन्छ,’ उनले भने, ‘स्वास्थ्य सेवालाई निजामतीबाट बाहिर निकाल्नुपर्छ भनेर सुझाव दिएका छौं । संघीय कर्मचारी ऐन नै जारी नभएकाले स्वास्थ्य सेवा ऐनलाई अगाडि बढाउन सकिरहेका छैनौं ।’

बिदेसिने चिकित्सकको संख्या यकिन भन्न नसकिए पनि काउन्सिलबाट प्रमाणपत्र लिने र केहीले श्रम स्वीकृतिसमेत लिएर जाने गरेको उनले बताए । ‘सरकारी तथ्यांक भनेकै एनएमसी र श्रमको रेकर्ड हो । चिकित्सा शिक्षा आयोगबाट अनुमति लिएर गएकाहरू अधिकांश पढ्नलाई मात्रै गएका हुन्,’ उनले भने, ‘अब यो तथ्यांकलाई पनि दुरुस्त राख्नुपर्ने भएको छ ।’ नेपालमा पढाइपछि काम गर्ने अवसर नै नपाउने भयमा आफू अमेरिका जाने तयारीमा लागेको निजी अस्पतालका एक मेडिकल अफिसरले बताए । ‘यहाँ पीजीमा सिट पाउनै कठिन भयो । पाए पनि पैसा तिरेर पढ्ने अवस्था छैन,’ उनले भने, ‘पीजी गरेपछि पाउने तलब पनि निकै कम छ । यहाँ जतिकै मिहिनेतले त्यहाँ काम गर्न, कमाउन र जीवनयापन गर्न सहज हुन्छ भन्ने लागेको छ ।’

बेलायतमा कार्यरत नेपाली चिकित्सकको संस्था नेप्लिज डक्टर्स एसोसिएसन यूकेका निवर्तमान अध्यक्ष डा. कमल अर्यालका अनुसार बेलायतमा काम गर्ने नेपाली चिकित्सकको वास्तविक तथ्यांक छैन । संस्थामा २५० सदस्य भए पनि अधिकांश नेपाली चिकित्सक आबद्ध नरहेको उनले बताए । बेलायतभर करिब एक हजारभन्दा बढी नेपाली चिकित्सक रहेको उनको अनुमान छ ।

बेलायतमा धेरै चिकित्सक प्रोफेसनल ल्याङ्वेज एन्ड एसेसमेन्ट बोर्ड एक्जाम (पीएलएबी) का लागि आउने र नेपाल फर्किने गरेको उनले बताए । उनका अनुसार बेलायत आउने अधिकांश चिकित्सकले नेपालमा बस्ने र काम गर्ने वातावरण कम हुँदै गएको बताउने गरेका छन् । ‘अस्पतालमै कुटपिट गर्ने, तलब चित्तबुझ्दो नहुँदा डाक्टरको मनोबल गिरेको सहकर्मीहरूबाट सुनेको छु,’ बेलायतको जेम्स प्यागेट युनिभर्सिटी हस्पिटलका कन्सल्टेन्ट सर्जन रहेको अर्यालले भने, ‘नेपालमा अहिले उत्तीर्ण हुने सबै नयाँ डाक्टरका लागि पर्याप्त अवसर नहुनु पनि अर्को कारण हो ।’ राम्रो प्रशिक्षण र तलब भएकाले पनि धेरै नेपाली चिकित्सकको पहिलो रोजाइ बेलायत हुने गरेको उनले बताए ।

बेलायतपछि सबैभन्दा धेरै नेपाली चिकित्सक अमेरिका जान्छन् । अमेरिका जाने अन्तर्राष्ट्रिय चिकित्सकबारे तथ्यांक राख्ने संस्था इन्टेल्थका अनुसार २०२२ मा नेपालबाट ३८० जना चिकित्सक अध्ययन भिसा लिएर पुगेका थिए । संस्थाका अनुसार २०२२ मा अमेरिकामा चिकित्सक आउने देशहरूमा नेपाल प्रमुख १० देशमध्ये सातौं स्थानमा थियो ।

Published on: 12 January 2024 | Kantipur

Link

Back to list

;