s

बाहिर अस्तव्यस्त, भित्र व्यवस्थित

सुरेन्द्र काफ्ले/  खगेन्द्र भण्डारी

राहदानी विभाग र कन्सुलर विभागमा सोमबार बिहान ८ः५७ बजे पुग्दा प्रतीक्षालयमा सेवाग्राहीको भीड लागिसकेको थियो ।प्रहरीहरू कागजपत्र हेर्दै उनीहरूलाई भित्र पठाइरहेका थिए । कागजपत्र नभएका सेवाग्राही गेटबाहिरै थिए । कार्यालयभित्र राहदानी बनाउने व्यक्ति र कागजात प्रमाणीकरण गर्ने मात्रै जान पाउँछन् ।

कर्मचारी आउने क्रम जारी थियो । राहदानी विभाग र कन्सुलर विभाग एउटै परिसरमा छन् । त्रिपुरेश्वरमा राहदानी र कन्सुलर विभागको भवन निर्माण भइरहेका कारण कन्सुलर विभाग पनि नारायणहिटीमा सरेको छ ।सेवाग्राही कोही राहदानी विभाग त कोही कन्सुलर विभाग छिर्दै थिए । बेलुका ४ बजेसम्म सेवाग्राही आउने क्रम जारी थियो । राहदानीका लागि चाहिने कागजपत्र छुट्याउने काम प्रहरीले गरिरहेको थियो । सोधपुछ कक्ष भए पनि पत्ता लगाउन सेवाग्राहीलाई कठिन रहेछ । सोधपुछ कक्ष कुनामा रहेको अधिकांश सेवाग्राहीले थाहा नै पाउँदैनन् । सोधपुछ कक्ष सर्वसाधारणको पहुँचबाहिर छ ।
 
रौटहटका मोहमद हुसेन अन्सारी भौचर हातमा बोकेर भौतारिरहेका भेटिए । नाता प्रमाणीकरणका लागि बाबुसहित आएका अन्सारीलाई भौचरमा कति पैसा भर्ने हो थाहा थिएन । उनका बाबु ‘५० हजार लेखिदिनुस् न’ भन्दै थिए । तनहुँबाट आएका एक सेवाग्राहीले भने, ‘पहिला त दिनभर लाइन बस्नुपथ्र्यो । सबै कागजात मिलेको छ भने अहिले दुईतीन घन्टाभन्दा कुर्न पर्दैन । अलिक सहज भएको पाएँ ।’
 
जोईको चिन्ता
 
रुकुमका तीन युवा प्रतीक्षालयमा बसेर गाउँघरको कुरा गरिरहेका भेटिए । कुराकानी सुन्दा उनीहरूलाई जोई (पत्नी) को चिन्ता रहेछ । ‘घरमै छोडेर गयो बाबुआमासँग नमिल्ने चिन्ता, काठमाडौं वा सदरमुकाम भाडामा राख्यो अर्को चिन्ता’, उनीहरूमध्ये एकजना भन्दै थिए, ‘विदेश जानेलाई जोईको चिन्ताले सताउने रहेछ । पढाइ पूरा गरिएन, विदेश नगई हुँदैन । गाउँका पढेलेखेका साथी सबै निजामतीतिर गए ।’ उनीहरू अबको विकल्प वैदेशिक रोजगारी नै रहेको भन्दै गफिँदै थिए ।
 
फाराम भर्न एउटै पसलमा भीड
 
केशरमहलको विपरीततर्फ एउटा पसल छ । पसलमा अनलाइन (प्रि–इनरोलमेन्ट) फाराम, एमआरपी फोटो र फोटोकपी सेवा दिइने लेखिएको छ । त्यहाँ पनि बिहान ९ नबज्दै भीड लाग्छ । पसल सञ्चालक फाराम भराउन र फोटोकपी गर्न व्यस्त हुन्छन् । अनलाइनबाट फाराम भर्न सकिने भए पनि धेरै सेवाग्राही त्यही पसलमा पुग्छन् । फाराम भर्न र फोटोकपी गर्न सेवाग्राहीले पालो पर्खनुपर्छ । विभागको गेटमा बसेका प्रहरीले सेवाग्राहीलाई त्यही पसलमा पठाउँछन् । यसबाट स्पष्ट हुन्छ राहदानीबारे सर्वसाधारणले उचित परामर्श पाएका छैनन् ।
 
शौचालय दुर्गन्धित
 
राहदानी र कन्सुलर विभाग परिसरमा रहेको शौचालय निकै दुर्गन्धित छ । नाक थुनेर शौच गर्न जानुपर्ने अवस्था छ । ‘कमोट’ मा फोहर भरिएका छन् । प्लास्टिकका बोतल यत्रतत्र छन् । शौच गर्न गएका एक वृद्धले आक्रोशित हुँदै भने, ‘हामीसँग यत्रो पैसा असुल्ने, यति ट्वाइलेट पनि सफा नगर्ने, छ्या !’ राहदानीका लागि दक्षिण एसियामै महँगो राजस्व असुलेको सरकारले शौचालय व्यवस्थित बनाउन नसकेको गुनासो सेवाग्राहीको थियो । उनीहरू भन्दै थिए, ‘थोरै पन्ना भएको राहदानी दिन्छन् तर बढी राजस्व लिन्छ । यस्तो शौचालय छ ।’ यो लेख्नुहोस् न यहाँको राम्रो पाटो मात्र हेरेर भयो र ? भन्दै एक सेवाग्राहीले तानेर शौचालयतिर लगे ।
 
पानी चुहिने प्रतीक्षालय
 
सेवाग्राही बस्न विभाग परिसरमा प्रतीक्षालय छ । कुर्सीहरू भरिभराउ छन् । तर भुइँभरि फोहोर छ । सोमबार पानीले कुर्सी भिजेका थिए । सेवाग्राही कोही चिसो कुर्सीमा बसेका थिए भने कोही उभिरहेका थिए । गेटको दाहिनेतिर लाइन बस्ने ठाउँमा उभिएका सेवाग्राहीलाई प्रहरीले धपाइरहेको थियो । प्रतीक्षालय भरिभराउ भएका कारण सेवाग्राही उभिनुको विकल्प थिएन । बस्न पाएका सेवाग्राहीमध्ये केही निदाइरहेका थिए । प्रतीक्षालयमा चिया, पानी, चिसो भन्दै ७÷८ वर्षकी बालिका र महिला ओहोरदोहोर गरिरहेका थिए ।
 
पार्किङ छैन
 
सवारीसाधन लिएर गएका सेवाग्राहीलाई प्रहरीले बाहिर पठाइरहेको थियो । पार्किङ स्थल नहुँदा समस्या भएको गुनासो सेवाग्राहीको छ । पार्किङ शुल्क लिएर भए पनि पार्किङको व्यवस्था गर्नुपर्ने सुझाव उनीहरूको छ । ‘बाहिर राख्ने ठाउँ छैन, भित्र लान पाइँदैन’, एक सेवाग्राहीले भने । नारायणहिटीभित्र खुला स्थल भए पनि प्रयोग गरिएको छैन । कूटनीतिक कार्यालय भए पनि जनतासँग प्रत्यक्ष सम्पर्क गर्ने स्थान भएकाले यसको व्यवस्थापन गर्न सके थप राम्रो हुने सेवाग्राही बताउँछन् ।
 
भित्र व्यवस्थित
 
राहदानी विभाग र कन्सुलर विभागभित्र भने व्यवस्थित छ । कन्सुलर विभागको छुट्टै काउन्टर छ । राहदानीको एकदिने सेवा, दुईदिने सेवा र तीनदिने सेवाका लागि फरकफरक काउन्टर छन् । सोमबार प्रहरी र कर्मचारीले सेवाग्राहीलाई सहयोग गरिरहेका थिए । नयाँ र नवीकरणको लागि जिल्ला÷इलाका प्रशासन कार्यालयमा आवेदन पेस गर्दा ५ हजार दस्तुर लाग्छ भने विभागमा आवेदन पेस गर्दा तीन दिनमा राहदानी लिन १० हजार, दुई दिनमा लिन १२ हजार र एकै दिनमा लिन १५ हजार तिर्नुपर्छ । बिग्रिएर पुनः आवेदन गर्दा थप ५ हजार तिर्नुपर्छ । १० वर्षमुनिका नाबालकका हकमा सबै उही प्रक्रियाको आधा मात्र राजस्व लाग्छ ।
 
राहदानी विभागमा फोटो खिच्ने ठाउँमा निकै भीड हुन्छ । तर सेवा सहजै पाइने सेवाग्राही बताउँछन् । सप्तरीका दीपकुमार चौधरीले राहदानी लिन सहज रहेको बताए । ‘पहिला कहिलेकहीं दुई दिनसम्म पनि लाइनमा बस्नु पर्थ्यो, अहिले एकै दिनमा हुन्छ’, चौधरीले भने। कन्सुलर विभागमा सबै कागजात पूरा भएमा आधा घन्टादेखि एक घन्टाभित्र काम भइरहेको सेवाग्राही बताइरहेका थिए । पहुँचवालाको राहदानी अझ सहज रूपमा बनिरहेका थिए ।
 
पहुँचवालाले गर्दा अवरोध
 
कोही सांसद र नेताहरूले कानुनविपरीतका काम लिएर आउने गरेको विभागका कर्मचारीले गुनासो गरे । एक कर्मचारीले भने, ‘उनीहरू प्रक्रिया नपुगेको काम पनि म आइसकें गरिदिनुहोस् भन्दै दबाब दिन्छन् । कतिपयले केही भए मै जिम्मेवारी लिन्छु भनेर लेखेर सहीछाप गरेर दिनुहोस् भनेर आग्रह गरेपछि हच्किने गरेका छन् ।’ केही पहुँचवालाले त कर्मचारीलाई ‘म तपाईंहरुलाई देखाइदिन्छु’ भनेर धम्की पनि दिन गरेका छन् । विभागमा कुनै बेला सोर्स फोर्समा आउनलेका लागि त भिन्ने काउन्टर राख्नुपरेको एक कर्मचारीले बताए । ती कर्मचारीले भने, ‘एकदिने, दुईदिने र तीनदिने लागू भएपछि त्यस्तो समस्याबाट मुक्ति मिलेको छ ।’
 
परिसरभित्र सेवाग्राहीलाई कानुनी सेवा र परामर्श दिने व्यवस्था पनि छ । तर परामर्श कक्षमा सेवाग्राही थिएनन् । क्यान्टिन नजिक रहेको कानुनी सेवा केन्द्र सर्वसाधारणको पहँुचबाहिर रहेको गुनासो सेवाग्राहीको छ । कन्सुलर विभाग र राहदानी विभाग एकै ठाउँमा भएकाले सेवाग्राहीलाई धेरै सहज भएको छ । वैदेशिक रोजगार सूचना केन्द्र पनि छ । तर त्यो केन्द्रचाहिँ बन्द थियो । त्यहाँ माइती नेपालको एउटा युनिट पनि देखिन्छ । तर व्यक्ति देखिँदैन ।
 
सख्त मनाहीको उल्लंघन
 
विभाग परिसर वरिपरि पसल राख्न, खाद्य वा पेय पदार्थ बेच्न, राहदानीको प्लास्टिक खोल बेच्ने लगायत काम गर्न सख्त मनाही गरिएको छ । कसैले बेचेको पाइएमा कारबाही गरिनेछ भनेर भित्तामा लेखिएको छ । तर त्यहीं राहदानीको खोल, पेय पदार्थ, चुरोट बेच्नेको लाइन थियो । उनीहरू प्रत्येक सेवाग्राहीसँग प्लास्टिक खोलको बार्गेनिङ गरिरहेका थिए । केशरमहलबाट राहदानी विभागको गेटअगाडिसम्म उनीहरूले भेटिन्थे । प्रतीक्षालयमुनि पनि चिया, पेयपदार्थ बेच्नेहरू घुमिरहेका थिए । प्रहरीले सेवाग्राहीलाई नै गाली गरिरहेका थिए । त्यस्तालाई त्यहाँबाट खेद्न नभ्याउने उभिएका प्रहरीले जानकारी दिए । उनीहरूभित्र पस्ने सेवाग्राहीको खोजीनिती गरिरहेका थिए तर त्यस्तालाई कडाइँ गरिरहेका थिएनन् ।
 
Published on: 2 April 2019 | Annapurna Post

Back to list

;