s

'बहिनीहरू पढाउँछु, बा-आमालाई सुख दिन्छु भन्थे, मलेसियामा खुट्टा गुमाए'

रोल्पाको रुन्टीगढी गाउँपालिका-८ मगरगाउँका डिलबहादुर घर्ती असोजमा मलेसिया गएका थिए।

घरको आर्थिक अवस्था सुधार्न भनेर २१ वर्षको कलिलै उमेरमा वैदेशिक रोजगारका लागि मलेसिया पुगेका उनी बाम कम्पनीमा काम गर्थे।

भाइबहिनी पढाउने र बाबुआमालाई टेको दिने भनेर हिँडेका उनले शुक्रबार आफ्नै खुट्टा गुमाएका छन्।

शुक्रबार काम गरिरहेको बेला उनको दाहिने खुट्टा अचानक मेसिनमा पर्दा गोलीगाँठो मुनिको भाग छिनालिएको र घुँडा तलतिरको भाग छियाछिया भएको उनका मामा दलबहादुर बाँठाले जानकारी दिए।

यो खबरले डिलबहादुरका ४६ वर्षीय बुवा र ४४ वर्षीया आमा भावविह्वल छन्। दलबहादुरका अनुसार डिल्ली बहादुरको अहिले मलेसियामै उपचार भइरहेको छ।

त्यहाँ कम्पनीले नै खर्च ब्यहोरेर उपचार गरिरहेको छ।

‘कमाएर भाइ बहिनी पढाउँछु। आमा बाबुलाई हेर्छु भन्थ्यो। आफै खुट्टा गुमाएर आउने भए,’ डिलबहादुरका मामा दलबहादुरले सेतोपाटीसँग भने।

विदेश जानका लागि उनले ऋण लिएको पनि दलबहादुरले बताए।

उनका १९ वर्षका भाइ र दुई बहिनीहरू छन्। दुई बहिनी ७ र ८ कक्षामा पढ्छन्। आमबुवाले खेती किसानीबाहेक आयआर्जनको अन्य बाटो नभएको दलबहादुर बताउँछन्।

डाक्टरहरूले डिलबहादुरको खुट्टा घुँडासम्मै काट्नुपर्ने भनेको उनका साथीहरूले बताएको मामा दलबहादुरले सुनाए।

‘भान्जाको खुट्टा कति काट्नु पर्ने हो र खुट्टा काटेपछिको उनको अवस्था के होला भन्ने निकै चिन्ता भइरहेको छ। केही हुन्छ कि भनेर गएको त्यस्तो हालत भयो,’ उनले भने।

वडाध्यक्ष तुलसी पुनले घटनाबारे आफूले पनि जानकारी पाएको बताइन्।

‘आर्थिक अवस्था पनि कमजोर थियो। त्यसैले २१ वर्षमै जानुभएको खुट्टा नै गुमाउनुभएको भन्ने सुनेँ। परिवारलाई भोलि भेट्न जान्छु,’ उनले भनिन्।

Published on: 13 May 2024 | Setopati

Link

Back to list

;