s

बहिनी बेच्न हिँडेका दिदीहरू पक्राउ

शंकर आचार्य

जागिर दिने प्रलोभनमा आफ्नै २ सहोदर बहिनीलाई भारतीय वेश्यालयमा लग्दै गर्दा दुई दिदी पक्राउ परेका छन् । सिन्धुपाल्चोक सिंगापुर ५ बगुवा घर भई भारत कोलकातास्थित धरमताला बस्दै आएकी चमेली विक र काभे्र घर भई कोलकातामै बस्ने सुनिता तामाङलाई नियन्त्रणमा लिइएको हो ।

उनीहरूलाई बुधबार बिहान सीमामा खटिएका माइती नेपालका कर्मचारी र प्रहरीको संयुक्त टोलीले पक्राउ गरेको थियो । चमेलीले सहोदर बहिनी १९ वर्षीया मेनुका (नाम परिवर्तन) र सुनिताले १९ वर्षीया बहिनी गीतालाई बिक्री गर्न सँगै लग्दै गरेका थिए ।

गीताका साथमा उनका डेढ वर्षीया छोरासमेत छन् । दुवै दिदीले आ-आफ्ना बहिनीलाई कोलकातामा कल सेन्टरमा काम लगाइदिन्छु भनी लगेका थिए । उनीहरूलाई शंका लागि सोधपुछ गर्दा दुवै चेलीलाई बिक्री गर्न लग्दै गरेको शंका बढेपछि जिल्ला प्रहरीमा लगी छानबिन गर्दा दिदीहरू चमेली र सुनिता पनि करिब ४ वर्षदेखि कोलकातामा यौनकर्मी रहेको खुलासा भएको छ ।

हाल उनीहरूले आफ्नै नेतृत्वमा वेश्यालय सञ्चालन गर्ने तयारी गरेको र यसका लागि नेपालबाट चेलीहरू लग्ने योजना बनाएकाले उनीहरूको योजना तुहिएको हो । पक्राउ परेका दुवैले आफूहरू अपरिचित व्यक्तिको लोभलालचमा परी काठमाडौंबाट कामको खोजीमा कोलकाता पुगेको र त्यहाँ पुगेर आफूहरू यौनकर्मी बनेको प्रहरीमा बयान दिएका छन् । धन्दामा लगाएर लाने व्यक्ति फरार भएकाले आफूहरूले बाध्य भएर यो पेसामा आबद्ध भएको उनीहरू बताउँछन् ।

होटल सञ्चालकले पैसा दिने प्रलोभनमा पारेर सहोदर बहिनीलाई आफूहरूले यौन व्यवसायमा लगाउन झुक्याएर लग्न लागेको उनीहरूले बताए । उनीहरूविरुद्ध बुधबारै जिल्ला अदालतमा मानव बेचबिखन मुद्दा दर्ता गरिएको प्रहरी नायब उपरीक्षक रवीन्द्र केसीले बताए । उद्धार गरिएका चेलीलाई माइती नेपाल आवधिक गृहको संरक्षणमा राखिएको छ ।

उद्धार गरिएका बहिनीहरूले आफ्नै दिदीहरूले यसरी विश्वासघात गर्न लागेकामा पत्यारै नलागेको बताए ।

Published on: 17 February 2012 | Kantipur

Back to list

;