s

बहसमा 'माइग्रेन्ट लाहुरे'

देवेन्द्र भट्टराई

माओवादी सभासदहरूको बहुमत रहेको सर्वदलीय संसदीय समितिको प्रतिवेदनमा विदेशी सेनामा रहेर नेपालीहरू अपमानजनक ढङ्गबाट लडिरहेको र राजतन्त्रको अवसान भएको गणतान्त्रिक नेपालमा यो स्थितिको अन्त्य हुनुपर्नेमा जोड दिइएको छ । एक दशक लामो सशस्त्र संघर्षपछि प्रमुख राजनीतिक शक्ति बनेको माओवादी दलले युवा नेपाली शक्तिलाई विदेशी सेनामा भर्ती गराउनु लाजमर्दो भनी टिप्पणी गरेको छ ।' पृष्ठभूमिमा यो समाचार बजिरहेका बेला बि्रटिस गोर्खामा भर्ती हुन तम्तयार १० हजार प्रतिस्पर्धीहरूले धरान र पोखराका छनौट क्याम्पहरूमा आफ्नो बलबुता देखाइरहेको दृश्य देखिन्छ । यो संख्याबाट छानिएर १७६ जनामात्रै बि्रटिस गोर्खामा भर्ती हँुदासम्मको ८० घन्टा लामो फुटेजबाट नेपाली समाजको यथार्थ दृश्य पहिल्याउने काम गरेका छन्, एक निर्देशकले । वर्षौवर्षदेखि चल्दै आएको यो लाहुरे छायाछविसँग प्रथम र द्वितीय विश्वयुद्धको इतिहास पनि जोडिएको छ । ती दुई युद्धहरूमा बेलायती सेनामा भर्ती भएका २ लाख गोर्खा सैनिकमध्ये ६० हजारले ज्यान गुमाएको तथ्य-वृत्तान्त पनि जोडिएको छ । वैदेशिक रोजगार र आप्रवासनको मामला स्मरण गर्नासाथ इष्ट इन्डिया कम्पनीसँगको सम्झौता र सन् १८१५ पछि बेलायती सेनामा नेपाली भर्ती हुनथालेको इतिहास खोतल्ने काम हुन्छ । तर सधैंभरि 'माइग्रेन्ट लेबर'को सन्दर्भमात्रै बहसमा आउने गरेकोमा 'माइग्रेन्ट लाहुरे'को मामला भने वैदेशिक रोजगारभन्दा पर्तिर अर्कै दुनियाँको अर्कै मुद्दा हो कि झैं गरिँदै आएको छ । पछिल्ला वर्षहरूमा आप्रवासनमा रहेका कामदारका विषयमा डकुमेन्ट्री बनाउँदै आएका निर्देशक केसाङ छेतेन 'माइगे्रन्ट लेबर'बाट 'माइग्रेन्ट लाहुरे'तिर मोडिएका छन् । 'लेबर' हुन् वा 'लाहुरे'— दुबै वैदेशिक रोजगारीका क्रममा देश छाडेर गएका हुन् । वैदेशिक रोजगारी र आप्रवासनको अर्को यो पाटोमा विगतका फिल्महरूमा झैं केसाङले 'सांकेतिक बहस' भित्र्याउने प्रयास गरेका छन् । गोर्खाली वीरता, साहस र योगदानका धेरै चर्चा-परिचर्चा आइरहेको भए पनि गल्लावालदेखि गोर्खा-प्लाटुनसम्मका मिहिन विषय 'हु विल बि अ गुर्खा ?' -को बन्ने लाहुरे ?) फिल्ममा छाएको छ । अघिल्लो चरणमा आएका 'रियालको खोजीमा', 'खाडीले खान्छ', 'सेभिङ डोल्मा'जस्ता खाडी केन्दि्रत वैदेशिक रोजगारीमा गएका नेपालीको संघर्षशील कथानकपछि रोजगारीकै निम्ति अरु देशका लागि लड्न-भिड्न हिंडेका युवाहरूको सपना र यथार्थ छेतेनको पछिल्लो काममा उत्रिएको छ ।

धरान वा पोखराका भर्तीकेन्द्रहरूमा नेपाली युवाको शारीरिक वा मानसिक 'फिटनेस'का कुराहरूमात्रै जोडिएका छैनन् । अफगानिस्तानमा भैरहेको युद्ध, लिबियाको द्वन्द्व, इराकी समस्या र ओसामा बिन लादेनको पतनसम्मका स्मरणीय घटना-सन्दर्भ पनि कुराकानीमा आएका छन् । 'नेपालमा काम पाइन्न, फेरि काम पाउनै पनि सोर्सफोर्स चाहिन्छ,' भर्ती हुनआएका एक युवा भनिरहेका छन्— 'यो बेला म अफगानिस्तानको युद्धमा जान पनि तयार छु, म आफूलाई बलिदान दिन पनि तयार छु ।' खाडी मुलुक वा मलेसिया जाने युवाको बयानझैं बेलायती सेनामा जाने तन्नेरीले देश छोड्नाको 'कारण' पनि एउटै छ । 'यता जागिर नपाउने समस्या, उता नाम र ख्यातिको स्थिति', अर्का लाहुरे भन्छन्— 'पराइ भूमिमा मरे पनि केही छैन, यता बाबुआमालाई पैसा त आउँछ ।'

कुनै नाटकीय पक्ष नसमेटी 'प्रत्यक्ष फिल्म' बनाउन सिपालु केसाङले ७५ मिनेट लामो दृश्यचित्रमा कहीं कतै प्रश्न गरेका छैनन् । प्रत्याशी लाहुरे र भर्ती गर्न आएका पात्रहरू बीचको संवादमै नेपाली समाजको विडम्बना, संघर्ष र यथार्थ चित्रको झलक पाइन्छ । केसाङको प्रस्तुति विगतका फिल्महरूमा झैं हाउभाउ केन्दि्रत छ, संवादभन्दा । बेलायतको गोर्खा म्युजियमदेखि इम्पेरियल वार म्युजियमसम्मका दुर्लभ फुटेजहरू यसमा समेटिएका छन् । लाहुरे बन्न आएका प्रत्याशीहरूमा कोही जातीयताको कुरामा अल्झेका छन् भने माओवादी द्वन्द्वका कारण बिचलित बनेको शिक्षादीक्षाको 'व्यक्तिगत कारण' पनि संवादमा उत्रिएको छ । बि्रटिस सेनामा भर्ती भएर जेजस्तै बलिदानी गर्न तयार भनेर प्रतिबद्ध बनेका आवाजलाई रोक्न भर्ती गर्न आएका हाकिमहरूले कठिन प्रश्न पनि राख्ने गरेका रहेछन् । एउटा प्रश्नमा एक प्रत्याशी जवाफ दिने क्रममा अवाक्झैं बन्छन्, प्रश्न छ— 'किन जाने बेलायती सेनामा ? किन अर्काको देशका लागि लड्न जाने ?'

'स्वतन्त्रता, जीवनशैली, परिवार र प्रेमिका' त्याग्न तयार भएर विदेशी भूमिमा जाने 'माइग्रेन्ट लाहुरे'का बारेमा केसाङले नयाँ स्वरुपबाट बहस भित्र्याएका छन् । आप्रवासी लाहुरे बन्नु ठीक हो/होइन भनेर बहस गर्नुभन्दा पनि नेपाली समाजमा लुकेको एउटा यथार्थ तस्वीर बनेर बाहिर आएको छ— 'हु विल बि अ गुर्खा ?' विशुद्ध राजनीतिक अर्थमा माओवादी दलले 'विदेशी सेनामा रहेर नेपालीहरू अपमानजनक ढङ्गबाट लडिरहेको र युवा नेपाली शक्तिलाई विदेशी सेनामा भर्ती गराउनु लाजमर्दो' भन्दै एकतर्फी प्रतिवेदन तयार पारिरहेका बेला यो मामलासँग जोडिएर स्वरोजगार र रोजगारीका विकल्पहरूमाथि बहस थालिनु जरुरी छ । अन्यथा भर्ती भर्न आउने विदेशी अधिकारीले नेपाली युवा जनशक्तिलाई सामुमा राखेर छेतेनको फिल्ममा झैं सोधिरहेछन्— 'तिमी आफूसँग बिक्री गर्नलायक के छ ?'

Published On: 3 December 2012 | Kantipur

Back to list

;