s

बहराइन र ओमनलाई न्यूनतम तलब सिफारिस

दिनेश रेग्मी

खाडीका बहराइन र ओमनमा काम गर्न जाने नेपालीको अब न्यूनतम तलब निर्धारण हुने भएको छ । खाडीका साउदी अरब, कतार, यूएई र कुवेतमा न्यूनतम तलब मान लागू भइसकेको छ ।

नेपाली दूतावाससमेत नभएका बहराइन र ओमनलाई साउदीको रियादस्थित नेपाली दूतावासले सहप्रमाणीकरण गर्दै आएको छ । उक्त दूतावासले नै पहिलो पटक दुवै देशको लागि न्यूनतम तलब प्रस्ताव गरी पठाएको हो । त्यसलाई हालै वैदेशिक रोजगार विभागले निर्णय गरी श्रम तथा रोजगार मन्त्रालयमा सिफारिस गरेको छ । दूतावासले दुवै देशका लागि साउदीमा नेपाली कामदारको न्यूनतम तलब बराबरै प्रस्ताव गरेको छ । विभागले त्यसैलाई सिफारिस गरेको हो । प्रस्तावअनुसार दुवै देशमा काम गर्न जाने अदक्ष कामदारको न्यूनतम मासिक तलब ८ सय साउदी रियाल -१८ हजार रुपैयाँ) र कम्पनीबाट निःशुल्क खाना र खाना नभए २ सय रियाल -४ हजार ६ सय रुपैयाँ) सहित २३ हजार रुपैयाँ छ । 

दूतावासले साउदी रियाललाई रूपान्तरण गरी बहराइनका लागि बहराइन डिनार र ओमनका लागि ओमनी रियालमा तलबमान प्रस्ताव गरेको छ । 'साउदी अरबलाई तलब निर्धारण गर्ने बेला यही -साउदी) बराबर नै बहराइन र ओमनको पनि गर्न भनेर ९ महिनाअघि नै प्रस्ताव गरेका थियौं,' साउदी अरबका लागि नेपाली राजदूत उदयराज पाण्डेले भने । दूतावासले अदक्ष, अर्धदक्ष, दक्ष र प्रोफेसनल गरी ४ तहमा न्यूनतम तलब निर्धारण गरेको छ । जस अनुसार अदक्ष कामदारको ८० बहाराइन डिनार तथा खानाको २० डिनार र ओमनको ८० ओमनी रियाल तथा खानाको २० रियाल छ । स्थानीय बहराइन डिनार र ओमनी रियालअनुसार प्रस्तावित सबै तहको तलब र खानाको रकम बराबर छ । 

अर्धदक्ष कामदारको तलब १ सय डिनार/रियाल र खानाको २० डिनार/रियाल, दक्षको १ सय २० डिनार/रियाल र खानाको ३० डिनार/रियाल र उच्च दक्षको ५ सय डिनार/रियाल र खानाको ५० डिनार/रियाल दूतावासले सिफारिस गरेको छ । 'नेपालले तलब निर्धारण नगरे पनि हामीले योभन्दा घटीमा अहिले पनि माग प्रमाणीकरण गरेका छैनौं,' पाण्डेले भने, 'जतिसक्दो चाँडो तलब निर्धारण भए सजिलो हुन्थ्यो ।'

विभागका महानिर्देशक पूर्णचन्द्र भट्टराईले सरोकार निकायसँग छलफल गरेर साउदी दूतावासले प्रस्ताव गरेर पठाए अनुसार नै मन्त्रालयमा बहराइन र ओमनको न्यूनतम तलब सिफारिस गरिसकेको बताए । श्रम तथा रोजगार मन्त्रीस्तरीय निर्णयबाट पारित भएर नेपाल राजपत्रमा प्रकाशित भएपछि यो कायान्वयनको तहमा पुग्छ । 'हामीले धेरै पहिल नै तलब निर्धारण हुनुपर्छ भनेर माग गर्दै आएका छौं,' बहराइनस्थित एनआरएन तथा नेपाली क्लबमा महासचिव झम्कप्रसाद सापकोटाले भने ।' 

Published on: 11 March 2013 | Kantipur

Back to list

;