s

बागमतीमा युवा सम्मेलन सुरु, २०८१ लाई सीप वर्ष घोषणा गरिने

हेटौंडा : बागमती प्रदेशको राजधानी हेटौंडामा शुक्रबारबाट तीनदिने युवा सम्मेलन सुरु भएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयअन्तर्गत रहेको प्रदेश युवा परिषद्को आयोजनामा सम्मेलन सुरु भएको हो ।

युवा सम्मेलनको बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले उद्घाटन गर्दै स्वदेशमै दक्ष सीपयुक्त जनशक्ति उत्पादन गर्र्दै उद्यमशीलताको विकासका निम्ति युवा सम्मेलनलाई विशेष चासो दिएको बताए । मुख्यमन्त्री जम्मकट्टेलले अहिले युवाहरूमा चरम निराशा र देशमा केही हँुदैन भन्ने भाष्य निर्माण गर्न खोजिएको भन्दै युवाहरूलाई निराश नहुन आग्रह गरे । देशमा अथाहा सम्भावनाहरू रहेको केही समस्याहरू रहेता पनि ती समस्याहरू विस्तारै हल हुँदै जाने उनले बताए ।

राज्य संघीय संरचनामा आएको भर्खरै ६ वर्ष हुँदै गरेको भन्दै यीबीच भौतिक संरचनालगायत अन्य नीतिगत विशेष कामहरू तुलनात्मक रूपमा धेरै भए पनि पछिल्लो केही वर्षयता युवाहरूलाई लक्षित गर्दै विविध योजना ल्याई प्रदेश सरकार अघि बढेको उनले बताए । यसैअन्तर्गत प्रदेशको युवा परिषद्ले युवालाई लक्षित गर्दै यस सम्मेलन गरेको र यसै वर्षलाई युवा सीप वर्ष घोषणा गर्न लागेको समेत मुख्यमन्त्री जम्मकट्टेलले बताए ।

प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेल राज्य संघीय संरचनामा आएसँगै आफ्नो कार्यकालबाटै परिषद् गठन गरी युवाहरूका निम्ति प्रदेश सरकारले काम गर्न सुरु गरेको बताए । देशको राजनीतिक एवं सामाजिक विकास र आर्थिक विकासमा समेत सधैं निर्णायक तत्व युवालाई बाहिर राखेर देश विकास सम्भव नरहने भन्दै आफ्नै कार्यकालमा युवाहरूका लागि काम सुरु गरिरहेको र वर्तमान सरकारले पनि विशेष चासोका साथ विविध योजना ल्याएर काम गरिरहेको उनले बताए ।

बागमती प्रदेशका युवालाई सशक्तीकरण गर्दै सिर्जनशील र उद्यमशील बनाउने लक्ष्यसहित हेटौंडामा युवा सम्मेलन गरिएको प्रदेशको सामाजिक विकास मन्त्रालयका मन्त्री कुमारी मुक्तानले बताइन् । उनले युवालाई राज्यले गरेको लगानी खेर नजानेर र पछि त्यसको रिटर्नस्वरूप देश विकासमा उनीहरूसँग भएको सीप क्षमतालाई प्रयोगमा ल्याउन सक्ने बताइन् । त्यसले प्रदेश सरकारले विशेष योजनासहित युवाहरूमा निरन्तर लगानी गर्दै सिर्जनशीलताको विकास र उद्यमशीलता विकास गर्र्ने बाटोमा अघि वढेको बताइन् ।

शुक्रबारबाट सुरु भएको युवा सम्मेलन यही वैशाख ३० गतेसम्म चल्नेछ । सम्मेलनमा बागमती प्रदेशका १३ जिल्लाका युवाको सहभागितामा युवा सम्मेलनमा सहभागिता रहेको प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईंले बताए । सम्मेलनमा २ सयभन्दा बढी १६ वर्षदेखि ३० वर्ष उमेरसमूहका युवाको सहभागिता रहेको छ ।

सम्मेलनमा जिल्लाको सामुदायिक क्याम्पसका उत्कृष्ट विद्यार्थी, आदिवासी जनजाति, दलित, सीमान्तकृत समुदायलाई प्राथमिकता दिएर महिलालाई सहभागी गराइएको छ । जिल्लाहरूबाट युवा समितिमार्फत र अनलाइनमार्फत युवा सहभागी गराइएको चौलागाईंले बताए । सम्मेलनमा सहभागी समावेशी अवधारणामा छनोट गरिएको छ । युवालाई अवसर र प्रदेशको राजधानीसँग जोड्न सम्मेलनले भूमिका खेल्ने विश्वास व्यक्त गरे । प्रदेश सरकारले युवाको बृहत् हितका लागि सम्मेलन गरेको बताउँदै युवा प्रदेश नीतिका विषय, एआई, साइबर अपराधलगायतका विषयमा पनि छलफल गरिने छ ।

युवा सम्मेलनपश्चात् २०८१ लाई सीप वर्ष घोषणा गर्ने तयारी गरिएको छ । ‘युवा सीप वर्ष २०८१’ घोषणा गरी प्रदेशका पाँच हजार युवालाई सीपमूलक तालिम प्रदान गरी उद्यमशीलतातर्फ अग्रसर गराउने तयारी रहेको उपाध्यक्ष चौलागार्इंले बताए । सिर्जनशीलता र उद्यमशीलता प्रवद्र्धन बागमतीमा युवा सशक्तीकरण भन्ने मूल नाराका साथ सुरु भएको सम्मेलनमा सहभागीलाई पर्यटकीय क्षेत्रको भ्रमणसमेत गराइनेछ ।

तीन दिनसम्म चल्ने कार्यक्रमका लागि १५ लाख बजेट विनियोजन गरिएको छ । कार्यक्रमका लागि हिजो नै सहभागीहरू हेटौँडा आइपुगेका थिए । ११ बुँदे घोषणापत्र जारी गर्दै पहिलो युवा सम्मेलन सकिएको थियो भने ७ वटा बुँदा बागमती प्रदेश सरकारले कार्यान्वयनमा ल्याएको युवा परिषद्को दाबी छ ।

उद्घाटन कार्यक्रममा बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेल, बागमती प्रदेशका मन्त्रीहरू वन तथा वातावरणमन्त्री केशवप्रसाद पोख्रेल, सामाजिक विकासमन्त्री कुमारी मुक्तान, खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री एकालाल श्रेष्ठ, प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री लक्ष्मण लम्साललगायतकाको आतिथ्यता रहेको छ । कार्यक्रम युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईंको अध्यक्षतामा भएको हो ।

परिषद्ले स्वरोजगार बनाउँदै युवाहरू

युवा परिषद्ले बागमती प्रदेशका विभिन्न जिल्लामा युवाहरूलाई विभिन्न किसिमका सीपमूलक तालिम दिई स्वदेशमा रोजगारी सिर्जनाका साथसाथै आत्मनिर्भर बनाउने कामसमेत गर्दै आएको छ । जसमध्ये यस वर्ष पाँच हजार जनालाई सीप सिकाउँदै प्रदेश युवा परिषद् बागमतीको वार्षिक स्वीकृत कार्यक्रमअन्तर्गत बनेपामा सञ्चालित ३९० घण्टे प्लम्बिङ तालिम, मकवानपुरको मनहरी गाउँपलिकामा महिला लक्षित ३९० घण्टे ढाका बुनाइ तथा उत्पादनसम्बन्धी सीपमूलक तालिम, यस्तै हेटौंडामा रहेको सशस्त्र प्रहरी बल १४ नम्बर गणमा आयोजित ‘मन्टेश्वरी तालिम– ३९० घण्टे’ तालिमलगायतका तालिमहरू विभिन्न जिल्लामा सञ्चालन गर्दै आएको छ । परिषद्ले तालिमलाई तालिममा मात्रै सीमित नराखी उनीहरूलाई स्वरोजगार बनाएको छ ।

रोजगारीको खोजीमा विदेश जाने सोच बनाउँदै गरेका मकवानपुरको हेटौंडा उपमहानगरपालिका—१२ का बुद्धिबहादुर बम्जनले अघिल्लो वर्ष कपाल काट्ने तालिम लिए । परिषद्ले दिएको तालिममा सहभागी भएका बम्जन तालिम सम्पन्न भएसँगै स्वदेशमै गर्छु भन्ने अभिलाषा बोकेर घर फर्के । घर फर्केलगत्तै आफूले सैलुन खोलेर अहिले स्वरोजगार बनेको उनले बताए ।

यस्तै सोही स्थानका विकास घलानले पनि परिषद्ले दिएको तालिमपश्चात् आफैं सैलुन खोलेर बसेका छन् । उनले वर्तमान समयमा युवा पुस्ता प्रायः सामान्य तलबका लागि पनि आफ्नो देश छोडेर बाहिर जान थालेको भन्दै कामलाई सम्मान गर्दे यही गर्छु भन्यो भने स्वदेशमै सम्भावनाहरू धेरै रहेको बताए । केही वर्षअघि के गर्ने अब दोधाँरमा रहेको आफू अहिले यही सीप सिकेर यही आफ्नो व्यवसाय सञ्चालन गर्न पाउँदा खुसी लागेको बताए । यस्तै हेटौंडा— १२ मा बस्दै आएकी देवी कुमालले पनि परिषद्ले दिएको लिएको बताइन् । परिषद्ले दिएको तालिमपछि आफूले व्यवसाय सुरु गरेको भन्दै उनले खुसी व्यक्त गरिन् ।

सम्मेलनमा के–के हुन्छ ?

सम्मेलनमा प्रदेशका १३ वटै जिल्लाका युवाहरूको सहभागिता रहनेछ । सम्मेलनमा सहभागी युवालाई नै लक्षित गरी अन्तरक्रिया, बहस, कार्यशाला, सहभागीबीच आपसी सञ्जाल निर्माण, प्रेरक सन्दर्भको व्याख्या र नेतृत्व तथा व्यक्तित्व विकाससँग सम्बन्धित क्रियाकलाप गरिनेछ ।

पहिलो सम्मेलनको सफलताकै जगमा दोस्रो संस्करणको प्रदेश युवा सम्मेलनको सुरु गरेको परिषद्ले यसपटक सहभागीलाई अझ गुणस्तरीय र भौगोलिक रूपमा प्रदेशका सबै पालिकाको सहभागिता गराएको उपाध्यक्ष चौलागाईंले बताए । सम्मेलनमा सहभागीहरूले अनलाइनमार्फत मात्रै आवेदन दिने व्यवस्था मिलाइएको थियो ।

सम्मेलनमा सहभागी हुन चाहने ५ सय ३७ जनाले अनलाइनमार्फत आवेदन दिएका थिए । आवेदन दिएकामध्ये २०० जनालाई पूर्ण समावेशी अवधारणामा छनोट गरिएको छ । सम्मेलनमा सहभागी हुने २०० जना वागमती प्रदेशको ११९ पालिकामध्ये ८९ पालिकाका युवा छानिएका छन् । सम्मेलनमा सहभागी हुन चाहने युवा उद्यमशील, नवप्रवर्तन, विभिन्न पेसा, व्यवसायमा स्थापित भएको भए राम्रो हुने अपेक्षा गरेका थियौं ।

उनले भने सम्मेलनमा सहभागी युवाले नै आफ्नो समाज र मुलुकमा केही गर्न सकिन्छ भन्ने बुझाउन सकोस्, आपसमा ज्ञान, सीप आदानप्रदान गर्न सकोस् भन्ने अपेक्षा गरेका थियौं । सोहीअनुसार कतिपय सहभागी अगुवा युवाको रूपमा रहेको देखेका छौं भने केही युवा मुलुकमै स्थापित हुने अपेक्षासहित सम्मेलनमा सिक्ने, बुझ्ने अवसरका लागि सहभागी हुन चाहेको पाएका छौं ।

तीन दिनसम्म चल्ने सम्मेलनमा शिक्षातर्फ विशेषगरी विश्वविद्यालय तहको शिक्षामा विद्यार्थीको आकर्षण नहुनु, शिक्षाकै लागि बिदेसिने प्रवृत्तिका विषयमा बहस हुनेछ । नीतितर्फ मूलनीति राजनीति र त्यसले समृद्धिको सन्दर्भमा निर्वाह गर्नुपर्ने सकारात्मक भूमिकाको विषयमा पनि बहस हुनेछ । यस्तैगरी नवप्रवर्तन र उद्यमशीलता, विदेशमा आर्जित ज्ञान, सीप र पुँजी देशमा लगानीको अवस्था र सम्भावनाका विषयमा बहस हुनेछ । सम्मेलनमा डिजिटल साक्षरताको विषयसँगै मुख्यमन्त्रीसँग युवाको अन्तरक्रिया आयोजना गरिनेछ ।

Published on: 13 May 2024 | Annapurna Post

Link

Back to list

;