s

बागमती प्रदेशमा ६ हजारभन्दा बढी बालश्रमिक

सुदीप शिवाकोटी

बागमती प्रदेशमा ६ हजार बढी बालबालिका जोखिमपूर्ण श्रममा रहेको एक अध्ययनले देखाएको छ । स्वतन्त्रता अभियान नेपालले गरेको एक अध्ययनले बागमतीका १३ जिल्लामा ६ हजार दुई सय बालबालिका जोखिमपूर्ण श्रममा संलग्न रहेको देखाएको हो ।

देशभर ११ लाख बालबालिका श्रम गर्नेमध्ये दुई लाख जोखिमपूर्ण श्रममा संलग्न छन् । जसमा बागमतीमा ३.१ प्रतिशत अर्थात् ६ हजार दुई सयजना जोखिमपूर्ण श्रम गर्न बाध्य भएको अभियानको तथ्यांकमा उल्लेख छ । बिहीबार अभियानले हेटौँडामा एक कार्यक्रमको आयोजना गर्दै तथ्यांक सार्वजनिक गरेको हो । तथ्यांकमा बागमतीमा १० वर्षमुनिका १३.१, १० देखि १४ वर्षका १५.६ प्रतिशत र १४ देखि १८ वर्ष उमेर समूहका ६७.२ प्रतिशत बालबालिका श्रमिक रहेको उल्लेख छ । ३५ प्रतिशत बालबालिका दैनिक १६ घन्टासम्म श्रम गर्दै आएको अध्ययनले देखाएको छ । 

बालबालिका श्रमिक नरहेको र गाउँपालिका क्षेत्र बालमैत्री रहेको तथ्यांकसहित एक वर्षअघि बालमैत्री घोषणा गरेको मकवानपुरका दुई स्थानीय तहमा बालश्रम भइरहेको पाइएको छ । सिबिन बाल हेल्पलाइन मकवानपुरले गरेको अध्ययनअनुसार जिल्लाको मनहरी र बकैया गाउँपालिका बालश्रम भइरहेको पाइएको हो । दुई वर्षअघि मनहरी र एक वर्षअघि बकैयाले बालमैत्री गाउँपालिका घोषणा गरेको थियो । मनहरीको २, ४, ६ र ८ नम्बर वडामा सात हजार १४ जना बालबालिकामा गरिएको अध्ययनमा तीन सय ५१ जना बालबालिका बालश्रममा रहेको सिबिनको तथ्यांकमा उल्लेख छ । बकैयामा एक सय ४७ जना बालबालिका जोखिमपूर्ण श्रम गर्न बाध्य रहेको देखिएको छ ।

मनहरीमा दुई सय ८६ आर्थिक, २१ घरेलु हिंसा, आठ आर्थिक सहयोगका लागि परिवारबाट दिइएको दबाबका कारण, १९ रोजगारदाताद्वारा प्रभावित पारेर र १७ जना पढाइमा रुचि नभएका कारण श्रम गर्न बाध्य भएको देखिएको सिबिनका प्रमुख झवीन्द्र ज्ञवालीले बताए ।

Published on: 25 February 2022 | Nayapatrika

Link

Back to list

;