s

बागमती प्रदेशबाट बिदेसिनेमा चितवन नम्बर एक

चितवनलाई आर्थिक, सामाजिक तथा सांस्कृतिक रूपले अग्रणी जिल्लाका रूपमा हेरिन्छ। प्रधानमन्त्री पुष्पकमल दाहालले पनि चितवनलाई ‘स्वास्थ्य, शिक्षा, पर्यटन, कृषि क्षेत्रमा उल्लेख्य मात्रामा सम्भावना रहेको जिल्ला भन्ने गर्छन्। तर, यही जिल्लाबाट सम्भावनाको खोजी गर्दै वैदेशिक रोजगारीमा जानेको संख्या अन्य जिल्लाको भन्दा बढी छ।

बागमती प्रदेशका १३ जिल्लामध्ये श्रमस्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेमा चितवन पहिलो छ। एकै वर्षमा १५ हजार ८२३ जनाले वैदेशिक रोजगारीका लागि श्रमस्वीकृति लिएका छन्।

अझै श्रमस्वीकृति नलिई विदेश जानेको संख्या उच्च रहेको वैदेशिक रोजगार एवम् आप्रवासन र समी कार्यक्रमका संयोजक सूर्यप्रसाद पौडेलले बताए। ‘चितवनबाट उच्च शिक्षाका लागि अस्ट्रेलिया, अमेरिका, बेलायतलगायत युरापेली देशमा जानेको संख्या बढी छ,’ उनले भने, ‘विदेश नजाने घर भेट्नै मुस्किल हुन लागिसक्यो।’

उनका अनुसार, भरतपुर महानगरपालिकामा मात्रै ३४ हजार ५०० घरधुरीका कुनै न कुनै व्यक्ति वैदेशिक रोजगारीमा गएका छन्।

आर्थिक वर्ष २०७९/८० मा नेपालबाट सात लाख ७१ हजार ३२७ जनाले श्रमस्वीकृति लिएका श्रम तथा रोजगार विभागको तथ्यांक छ। त्यसमध्ये बागमती प्रदेशबाट मात्रै एक लाख १६ हजार ९३२ जनाले श्रमस्वीकृति लिएका छन्। त्यसमध्ये श्रमस्वीकृति लिनेमा चितवन जिल्लाबाट सबैभन्दा धेरै १५ हजार ८२३ जना छन्।

धनुषापछि सबैभन्दा धेरै वैदेशिक रोजगारीमा जाने जिल्लामा चितवन रहेको पौडेलले जानकारी दिए। यहाँबाट अघिल्लो आर्थिक वर्षमा ११ सय ६१ जनाले राहदानी बनाएका थिए।

चितवनमा सबैभन्दा बढी भरतपुर महानगरपालिकाका ६ हजार ५६१ जनाले श्रमस्वीकृति लिएका छन्। त्यस्तै माडी नगरपालिकाबाट दुई हजार १२७, इच्छाकामना गाउँपालिकाबाट एक हजार आठ, रत्ननगर नगरपालिकाबाट एक हजार ४७१, कालिका नगरपालिकाबाट एक हजार ६७९, खैरहनी नगरपालिकाबाट एक हजार ६०८ र राप्ती नगरपालिकाबाट एक हजार २९१ जनाले श्रमस्वीकृति लिएका छन्।

बागमती प्रदेशमा वैदेशिक रोजगारीमा जाने जिल्लामा दोस्रोमा मकवानपुर रहेको छ। यस जिल्लाबाट गत आर्थिक वर्ष १३ हजार १०१ जनाले श्रमस्वीकृति लिएका थिए। बागमती प्रदेशमा सबैभन्दा कम वैदेशिक रोजगारीमा जाने जिल्लामा रसुवा देखिएको छ। यहाँबाट एक हजार ३९२ जनाले गत आर्थिक वर्ष श्रमस्वीकृति लिएका छन्।

त्यस्तै धादिङबाट १२ हजार ५४०, सिन्धुपाल्चोकबाट १२ हजार तीन, काभ्रेबाट ११ हजार ९४८, सिन्धुलीबाट १० हजार सात सय ६५, नुवाकोटबाट नौ हजार ९६६, काठमाडौंबाट सात हजार ६८४, रामेछापबाट सात हजार ५६२, दोलखाबाट ६ हजार ५६९, ललितपुरबाट तीन हजार ८९२, भक्तपुरबाट तीन हजार ६८५ जनाले श्रमस्वीकृति लिएको उनले जानकारी दिए।

नेपालमा हालसम्म वैदेशिक रोजगारीमा जानेको संख्या ७१ लाख नाघिसकेको छ। देशबाट दैनिक दुई हजार दुई सय जना श्रमस्वीकृति लिएर बाहिरिने गरेका छन्। मुख्य गरेर कतार, मलेसिया, दुवई, दक्षिण कोरिया, रोमानिया, क्रोएसिया, माल्टा, साइप्रस, माल्दिभ्स रहेका छन्। उनीहरूबाट वार्षिक १२ खर्ब २० अर्ब ५६ करोड रूपैयाँ नेपाल भित्रने गरेको पौडेलले जानकारी दिए। चालु आर्थिक वर्षको ६ महिनामा मात्रै सात खर्ब ३३ अर्ब रूपैयाँ रेमिट्यान्स भित्रिएको छ।

वैदेशिक रोजगारीमा गएका एक हजार ६३ जना श्रमिकले ज्यान गुमाएका छन्। त्यसमध्ये बागमती प्रदेशका १२५ जना छन्। त्यसमा पनि चितवनका २३ जना रहेको उनले बताए।

वैदेशिक रोजगारीका क्रममा चितवनमा ठगी धन्दा पनि उत्तिकै मौलाएको छ। जिल्ला प्रशासन कार्यालय चितवनमा चालु आर्थिक वर्षमा १३६ मुद्दा दायर भएका थिए। त्यसमध्ये ६० प्रतिशत मानिसको दलालले पैसा खाएर भागेका मुद्दा परेका थिए। वैदेशिक रोजगारीले सामाजिक बेमेलसमेत बढाएको छ।

स्वदेशमै रोजगारी सिर्जना गर्नमा भरतपुर महानगरपालिका लागिपरेको उपप्रमुख चित्रसेन अधिकारीले बताए। ‘अवैध रूपमा विदेश जानेको संख्या पनि कमी छैन। भारतमा जानेको संख्या उत्तिकै छ,’ उनले भने, ‘हामी जनप्रतिनिधि यहाँ भएको साधानस्रोत, जल, जमिन, जंगललाई उपयोग गर्दै यहाँको सिपलाई उत्पादनसँग जोड्नुपर्छ। त्यसका लागि हामी प्रयासरत छौं।’

Published on: 8 February 2024 | Nagarik

Link

Back to list

;