s

बढ्नुपर्ने तर, घट्यो रेमिट्यान्स

काठमाडौं : कोरोना महामारीका कारण गत वर्ष विश्वमा धेरैले रोजगारी गुमाए। लाखौं नेपाली कामदार स्वदेश फर्किए। त्यतिबेला, रोजगारीका लागि विदेश जानेको संख्यामा पनि कमी थियो। त्यति हुँदा पनि रेमिट्यान्स (विप्रेषण) मा भने कुनै कमी आएन। तर, चालू आर्थिक वर्षको सुरुवात (साउन) देखि भने रेमिट्यान्स घट्दै गएको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ। विश्वबाट कोरोना महामारीको प्रभाव हट्दै गएको र वैदेशिक रोजगारीमा जानेको संख्या बढ्दै गएका बेला ‘अनौठो ढंग’ले रेमिट्यान्स घट्दै गएको छ।

रेमिट्यान्स घट्नुको कारण के ?

राष्ट्र बैंकका आर्थिक अनुसन्धान विभागका कार्यकारी निर्देशक प्रकाशकुमार श्रेष्ठ वैदेशिक रोजगारीमा गएका नेपालीहरूले क्रिप्टोकरेन्सी र नेटवर्किङ व्यवसायमा लगानी गरेका कारण रेमिट्यान्स घटेको हुन सक्ने अनुमान गर्छन्।

‘विगतका वर्षका तुलनामा यस वर्ष रेमिट्यान्स लगातार घटिरहनुमा क्रिप्टो करेन्सी र नेटवर्किङमा लगानीको कारण हुनसक्छ,’ श्रेष्ठले भने। गत आर्थिक वर्ष ०७७/०७८ मा ९ खर्ब ६१ करोड रेमिट्यान्स आएको थियो। नेपाल राष्ट्र बैंकको अनुसार चालू आर्थिक वर्षको ६ महिनामा जम्मा ४ खर्ब ६८ अर्ब ४५ करोड मात्रै रेमिट्यान्स भित्रिएको छ। साउन यता मासिक २ अर्बभन्दा कम रेमिट्यान्स आएको राष्ट्र बैंकले जनाएको छ।  औसतमा मासिक ७८ अर्ब रेमिट्यान्स आइरहेको बैंकको तथ्यांकले देखाउँछ। तर, गत वर्ष औसतमा मासिक ८० अर्ब रुपैयाँ रेमिट्यान्स आएको थियो।

पुसमा भने अघिल्लो महिनाको तुलनामा रेमिट्यान्स केही बढेको छ। गत वर्षको तुलनामा भने अझै ५.५ प्रतिशतले रेमिट्यान्समा कमी नै छ।  राष्ट्र बैंकका आर्थिक अनुसन्धान विभागका कार्यकारी निर्देशक श्रेष्ठ भन्छन्, ‘रेमिट्यान्स लगातार घट्दै गएको र क्रिप्टो तथा नेटवर्किङमा आबद्धता खुल्दै गएकाले राष्ट्र बैंकले सूष्म तरिकाले अध्ययन गर्न थालेको छ।’ विदेशमा रहेका नेपाली कामदारहरू नेटवर्किङ र क्रिप्टोकरेन्सीमा लगानी गर्न थालेपछि बैधानिक बाटोबाट रेमिट्यान्स आउन कमी भएको विज्ञको अनुमान छ।

पछिल्लो समयमा विदेशमा बस्ने नेपालीहरूले हाइपर भर्स, जोसियल, सोलेम्यासलगायतका नेटर्किङमा जोडिएर क्रिप्टो खरिद गर्न थालेको देखिन्छ। जसले गर्दा नेपाल आउनुपर्ने रेमिट्यान्स उतै रोकिएको विज्ञहरूको अनुमान छ। रेमिट्यान्स घट्नुमा हुन्डीको कारोबार पनि अर्को कारण हो। अर्थविद् ज्ञानेन्द्र अधिकारी रेमिट्यान्स पठाउँदा लाग्ने शुल्क घटाउनुपर्ने बताउँछन्। ‘आफ्नै मोबाइलबाट थोरै शुल्कमा रेमिट्यान्स पठाउने व्यवस्था हुनुपर्छ’, उनले भने, ‘यसो हुन सके हुन्डीबाट आउने रेमिट्यान्स रोकिन्छ।’

नेपाल र गन्तव्य मुलुकमा कोभिड सहज भएसँगै हुन्डीमार्फत रेमिट्यान्स आउने रकम बढेको राष्ट्र बैंकका अधिकारीहरू स्वीकार गर्छन्। बैंक तथा रेमिट कम्पनीबाट पैसा पठाउन झन्झट र बढी लागत लाग्ने भएकाले कामदारले हुन्डीमार्फत रेमिट्यान्स पठाउने गरेको पाइएको छ। श्रमविज्ञ गणेश गुरुङ क्रिप्टोकरेन्सी र नेटवर्किङमा केही रकम गएको भए पनि रेमिट्यान्स घट्ने गरी नगएको बताउँछन्। ‘यहाँ लकडाउन हुँदा रेमिट्यान्स बढ्छ, त्यो बेला हुन्डीको कारोबार असहज हुने भएकाले त्यस्तो भएको हो,’ गुरुङले भने।

श्रमिक गन्तव्य मुलुकबाट एक पटकमा २ सय अमेरिकी डलर पठाउँदा औसतमा ४.५ प्रतिशत र ५ सय डलर पठाउँदा ३ प्रतिशत शुल्क लाग्ने गरेको छ। तर, अधिकांश श्रमिक अदक्ष/अर्धदक्ष हुने भएकाले उनीहरूले एकपटकमा २ सय डलर पठाउने र ४.५ प्रतिशत शुल्क तिर्ने गरेका छन्। कुल गार्हस्थ्य उत्पादनमा रेमिट्यान्सको २५ प्रतिशतभन्दा बढी योगदान छ। कुनै बेला रेमिट्यान्सको ३० प्रतिशत योगदान पुगेको थियो। तर, रेमिट्यान्स घट्दै गएकाले जीडीपीमा पनि त्यसको असर पर्ने अनुमान गरिएको छ।

विदेश जानेको संख्या बढ्यो

वैदेशिक रोजगार विभागका अनुसार चालू आर्थिक वर्षको ६ महिनामा नयाँ, पुनः श्रमस्वीकृति र वैधानीकरण गरी २ लाख ५३ हजार बढी वैदेशिक रोजगारीमा गएका हुन्। विभागका अनुसार पुस महिनामा ६६ हजार ६ सय २५, मंसिरमा ७४ हजार ३ सय ५४, कात्तिकमा ५४ हजार ९ सय १८, असोजमा ३९ हजार ६ सय ७१, भदौमा ३६ हजार ४०, साउनमा १३ हजार ८ सय जना वैदेशिक रोजगारीमा गएका हुन्। 

गत वर्ष २०७७/७८ मा १ लाख ६६ हजार ६ सय ९८ र आव २०७६/७७ मा ३ लाख ६८ हजार ४ सय ३३ जना वैदेशिक रोजगारीमा गएका थिए। कोभिड महामारी अघि आर्थिक वर्ष २०७५/७६ मा ५ लाख बढी वैदेशिक रोजगारीमा गएका थिए। 

कतार, साउदी अरब, संयुक्त अरब इमिरेट्स (यूएई) बहराइन, कुवेत, ओमन र मलेसिया नेपाली कामदारका प्रमुख गन्तव्य मुलुक हुन्। यी देशबाट प्रतिव्यक्ति औसत मासिक २२ हजार रुपैयाँ मात्रै रेमिट्यान्स आउने गरेको छ।

Published on: 11 February 2022 | Annapurna Post

Link

Back to list

;