s

बढ्यो पदयात्रा क्षेत्रमा कार्यरत श्रमिकको पारिश्रमिक

पाँच वर्षपछि पदयात्रा पर्यटन क्षेत्रमा कार्यरत श्रमिकहरूको पारिश्रमिक बढेको छ । ट्रेड युनियन र ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) र ट्रेड युनियनबीच भएको छलफलपछि पारिश्रमिक बढाउने निर्णय भएको हो ।

विगतमा पदयात्रा क्षेत्रअनुसार श्रमिकको पारिश्रमिक पनि फरक–फरक थियो । तर, नयाँ व्यवस्थाअनुसार सबै क्षेत्रमा खटिने पदयात्रा श्रमिकको पारिश्रमिक एउटै कायम गरिएको छ । अब पथप्रदर्शक (गाइड)ले प्रतिदिन तीन हजार एक सय पारिश्रमिक पाउनेछन् ।

यसअघि अन्नपूर्ण तथा लाङटाङ क्षेत्रमा जाने गाइडले २१ सय, सगरमाथा क्षेत्रमा जाने गाइडले २२ सय ६८ र क्याम्पिङ ट्रेक गाइडले १७ सय ६४ रुपैयाँ पारिश्रमिक पाउँथे । त्यस्तै, सहायक पथप्रदर्शक (सहायक गाइड)ले प्रतिदिन दुई हजार आठ सय पाउने भएका छन् । यसअघि अन्नपूर्ण तथा लाङटाङ क्षेत्रका सहायक गाइडले दुई हजार १६ र सगरमाथा क्षेत्रका सहायक गाइडले २१ सय पाउँथे ।

नयाँ व्यवस्थाअनुसार सहयोगी पथप्रदर्शकले प्रतिदिन २५ सय पारिश्रमिक पाउनेछन् । सहयोगी श्रमिकको पारिश्रमिक २४ सय पुगेको छ । यसअघि अन्नपूर्ण तथा लाङटाङ क्षेत्रमा जाँदा १९ सय ३२, सगरमाथा क्षेत्रमा जाँदा २१ सय र डोल्पा, मकालु, कञ्चनजंघा, मनास्लु, धौलागिरिलगायत क्षेत्रमा जाँदा २२ सय २० रुपैयाँ पाउँथे ।

वृद्धि भएको पारिश्रमिक १ साउनदेखि लागू हुने टानका महासचिव विनोद सापकोटाले जानकारी गराए । यसअघि ०७५ मंसिरमा पारिश्रमिक बढेको थियो । उनले भने, ‘अब सम्पूर्ण पदयात्रा क्षेत्रमा काम गर्ने पर्यटन श्रमिकहरूको पारिश्रमिक समान हुने गरी निर्धारण गरेका छौँ ।’

Published on: 21 June 2023 | Naya Patrika

Link

Back to list

;