s

बढ्यो भिसा शुल्क

शम्भु कट्टेल

सरकारले झन्डै १० वर्षपछि प्रवेशाज्ञा (भिसा) शुल्क बढाएको छ । बढेको शुल्क साउन १ गतेदेखि कार्यान्वयनमा आउनेछ । मन्त्रिपरिषद्ले पर्यटक, अध्ययन, गैरपर्यटकीय, व्यावसायिक र आवासीय भिसा दस्तुर बढाउने निर्णय गरेको थियो । सोही निर्णयअनुसार गृह मन्त्रालयले परिवर्तित भिसा शुल्क लागू गर्न लागेको हो । अध्यागमन विभागले नयाँ भिसा शुल्क कार्यान्वयन गर्ने तयारी गरेको छ ।

गृहले पछिल्लोपटक २०६५ साउन १ गतेदेखि नयाँ भिसा शुल्क कार्यान्वयनमा ल्याएको थियो । झन्डै १० वर्षपछि नेकपा अध्यक्ष केपी ओली नेतृत्वको सरकारले भिसा शुल्क बढाउने निर्णय गरेको हो । विभागका महानिर्देशक ईश्वरराज पौडेलले परिवर्तित भिसा शुल्क साउन १ देखि कार्यान्वयनमा आउने बताए । महानिर्देशक पौडेलले अन्नपूर्णसँग भने, ‘भिसा शुल्क समयसापेक्ष पारिएको छ । अन्तर्राष्ट्रिय अभ्यासको समेत अध्ययन गरेर भिसा शुल्क बढाउने निर्णयमा पुगेका हौं ।’

गृह मन्त्रालयले पर्यटकीय भिसाअन्तर्गत १५ दिनको बहुप्रवेशी भिसा दस्तुर ३० डलर पुर्‍याएको छ । यसअघि १५ दिनको बहुप्रवेशी भिसा शुल्क २५ डलर तिर्नुपथ्र्यो । त्यस्तै ३० दिनको बहुप्रवेशी भिसा शुल्कमा १० डलर बढाएर ५० अमेरिकी डलर पुर्‍याएको छ । पर्यटकले यसअघि ३० दिनको बहुप्रवेशी भिसाको ४० डलर तिर्दै आएका थिए । गृह मन्त्रालयले ९० दिनको बहुप्रवेशी भिसा शुल्क ९० बाट बढाएर १ सय २५ डलर पुर्‍याएको छ ।

गृहले ९० दिनको बहुप्रवेशी भिसामा ३५ अमेरिकी डलर बढाएको छ । यसअघि ९० डलर तिर्दा ९० दिनको बहुप्रवेशी भिसा पाइन्थ्यो । पर्यटक भिसाको म्याद थप गर्दा भिसा अवधिभित्र प्रतिदिन ३ अमेरिकी डलर तिर्नुपर्नेछ । म्याद गुज्रिएपछि भिसा थप गर्दा बेग्लै जरिबाना तिर्नुपर्छ । पर्यटकले बहुप्रवेशी भिसा थप्दा अब २५ अमेरिकी डलर तिर्नुपर्नेछ । यसअघि सोही प्रयोजनमा २० डलर मात्र तिर्नुपथ्र्यो ।

शैक्षिक उपाधि प्राप्त हुने गरी अध्ययनरत विद्यार्थी र आश्रित परिवारले प्रतिमहिना ३० डलर तिर्नुपर्नेछ । यसअघि उनीहरूले २० डलर तिर्नुपथ्र्यो । शैक्षिक उपाधि नपाउनेका लागि २५ अमेरिकी डलरबाट बढाएर प्रतिमहिना ७५ डलर पुर्‍याएको छ ।

यसअघि उनीहरूले ५० डलर तिर्दै आएका थिए । तर भुटानका विद्यार्थीका लागि भने उक्त शुल्क लागू हुँदैन । भुटानी विद्यार्थी र उनीहरूका आश्रित परिवारका लागि ५ डलर बढाएर प्रतिमहिना १५ डलर पुर्‍याएको छ । अध्ययनअनुसन्धान गर्न आउने अन्य विदेशी र आश्रित परिवारका लागि १० डलर भिसा शुल्क बढाएर ५० डलर पुर्‍याइएको छ । उनीहरूले यसअघि प्रतिमहिना ४० डलर तिर्दै आएका थिए ।

गैरपर्यटकीय भिसाअन्तर्गत पत्रकार र आश्रित परिवारको भिसा शुल्क ५ डलर बढाएर १५ डलर पुर्‍याइएको छ । यसअघि उनीहरूले प्रतिमहिना १० डलर तिर्नुपथ्र्यो । दातृराष्ट्रको लगानीमा सञ्चालित गैरसरकारी संस्थामा कार्यरत विदेशी र आश्रित परिवारले प्रतिमहिना ५० डलर तिर्नुपर्ने भएको छ । यसअघि उनीहरूले प्रतिमहिना ३० डलर तिर्दै आएका थिए । गृह मन्त्रालयले उनीहरूको भिसा शुल्कमा २० अमेरिकी डलर बढाएको हो । व्यावसायिक भिसाअन्तर्गत एक करोड रुपयाँभन्दा वढी व्यक्तिगत लगानी गर्ने विदेशी र आश्रित परिवार वा संस्थाका अधिकृत प्रतिनिधिले वार्षिक बहुप्रवेशी भिसाका लागि दुई सय अमेरिकी डलर भिसा शुल्क तिर्नुपर्ने भएको छ । उनीहरूले यसअघि वार्षिक एक सय अमेरिकी डलर तिर्दै आएका थिए ।

एक करोड रुपैयाँभन्दा बढी व्यक्तिगत लगानी गर्ने विदेशी र आश्रित परिवार वा संस्थाका अधिकृत प्रतिनिधिलाई एक वर्षभन्दा कम अवधिको बहुप्रवेशी भिसाबापत २० डलर तिर्नुपर्नेछ । गृह मन्त्रालयले उनीहरूका लागि १० डलर बढाएको हो । यसअघि उनीहरूले १० डलर तिर्दै आएका थिए ।

एक करोडभन्दा कम लगानी गर्ने र एक वर्षभन्दा कम अवधिको बहुप्रवेशी भिसाका लागि ३५ डलर तिर्नुपर्नेछ । गृह मन्त्रालयले उनीहरूका लागि ५ डलर बढाएर ३५ डलर पुर्‍याएको हो । एक करोड रुपैयाँभन्दा बढी व्यक्तिगत लगानी गर्ने विदेशी र आश्रित परिवार वा संस्थाका अधिकृत प्रतिनिधिले ५ वर्षको बहुप्रवेशी भिसा शुल्कबापत ५ सय अमेरिकी डलर तिर्नुपर्ने भएको छ । यसअघि उनीहरुले २०० अमेरिकी डलर तिर्दै आएका थिए । गृह मन्त्रालयले उनीहरूका लागि एकैपटक २ सय अमेरिकी डलर बढाएको हो।

एक करोड रुपैयाँ र सोभन्दा कम व्यक्तिगत लगानी गर्ने विदेशी वा तिनका आश्रित परिवार वा संस्थाका अधिकृत प्रतिनिधिले वार्षिक रूपमा बहुप्रवेशी भिसाबापत चार सय अमेरिकी डलर तिर्नुपर्ने भएको छ । उनीहरूका लागि सरकारले एक सय डलर बढाएको हो । यसअघि उनीहरूले तीन सय अमेरिकी डलर तिर्दै आएका थिए । आवासीय भिसाअन्तर्गत बहुप्रवेशी भिसा सुविधासहित पहिलोपटक पाँच सय अमेरिकी डलर तिर्नुपर्ने भएको छ । गृहले उनीहरूका लागि तीन सय अमेरिकी डलर बढाएको छ । यसअघि उनीहरूले २ सय अमेरिकी डलर तिर्दै आएका थिए ।

आवासीय भिसा नवीकरण गर्दा बहुप्रवेशी सुविधासहितको भिसा शुल्कसमेत बढेको छ । नवीकरण गर्दा अब वार्षिक रूपमा दुई सय अमेरिकी डलर तिर्नुपर्ने भएको छ । यसअघि उनीहरूले एक सय डलर तिर्दै आएका थिए ।

Published on: 3 July 2019 | Annapurna Post

Back to list

;