s

बढ्दो हुन्डीले रेमिट्यान्समा धक्का

 यज्ञ बञ्जाडे

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा मलेसियाबाट आउने रेमिट्यान्स वृद्धिदरमा झन्डै २१ प्रतिशतले कमी आयो । अघिल्लो आर्थिक वर्षको असोजसम्ममा २४ प्रतिशतले बढेको रेमिट्यान्स वृद्धिदर चालु आर्थिक वर्षको सोही अवधिमा ३ दशलमव २ प्रतिशत रह्यो । साउदी अरब, लेवनान, इजरायलबाट आउने रेमिट्यान्स पनि घटेको छ । अन्य धेरै राष्ट्रबाट आउने रेमिट्यान्सको वृद्धिदरमा समेत उल्लेख्य रूपमा कमी आएको छ । रेमिट्यान्सको वृद्धिदर घटेसँगै मुलुकको शोधनान्तर र विदेशी विनिमय सञ्चिति प्रत्यक्ष प्रभावित भएको छ । 

चालु आर्थिक वर्षको पहिलो र दोस्रो महिनामा शोधनान्तर घाटामा रहनुले पनि यो पुष्टि गर्छ । मुलुकमा भित्रनेभन्दा बाहिरिने रकम बढी भएको अवस्थालाई नै शोधनान्तर घाटा हो । त्यसपछिका महिनामा शोधनान्तर ऋणात्मक त छैन । तर, अघिल्ला वर्षहरूको तुलनामा शोधनान्तर बचत न्यून छ । 

रेमिट्यान्सलाई प्रत्यक्ष प्रभाव पार्ने वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या घटेपछि रेमिट्यान्स वृद्धिदर घटेको राष्ट्र बैंकले जनाएको छ । तर, हुन्डीलगायत अनौपचारिक माध्यमबाट रेमिट्यान्स आउने क्रम बढेको, रोजगारीमा गएका नेपालीले पैसाको सट्टा जिन्सी (सुन, इलेक्ट्रोनिक्स सामान, लत्ताकपडा आदि) आउन थालेकाले रेमिट्यान्स वृद्धिदर घटेको विज्ञहरूको तर्क छ । 

राष्ट्र बैंकको तथ्यांकअनुसार चालु आर्थिक वर्षको पहिलो तीन महिनासम्म मलेसिया, बहराइन, इजरायल र अन्य राष्ट्रहरूबाट आउने रेमिट्यान्स घटदो क्रममा छ । अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्षमा यी मुलुकहरूबाट आउने रेमिट्यान्स उच्च दरले घटेको हो । उक्त अवधिमा मलेसियाबाट आउने रेमिट्यान्स करिब २१ प्रतिशतले घटेको छ । आर्थिक वर्ष ०७१/७२ मा मलेसियाबाट मात्र १ खर्ब ९ अर्ब रुपैयाँ (१ अर्ब ९ करोड अमेरिकी डलर) नेपाल भित्रिएको थियो । आर्थिक वर्ष ०७२/७३ मा यस्तो रेमिट्यान्स घटेर ८६ अर्ब ६६ करोड रुपैयाँ (८६ करोड ६६ लाख डलर) मा सीमित भएको छ । यो करिब २१ दशमलव १८ प्रतिशतले कमी हो । ४/५ वर्ष अघिसम्म नेपाल भित्रने रेमिट्यान्समध्ये सबैभन्दा धेरै मलेसियाबाट आउँथ्यो । 

हाल त्यही राष्ट्रबाट आउने रेमिट्यान्स उच्च दरले घटिरहनुलाई विशेष चासोका रूपमा हेरिएको छ । रोजगारका लागि मलेसिया जाने कामदारको संख्या घटेपछि रेमिट्यान्समा कमी आएको वैदेशिक रोजगार विभागकी प्रवक्ता रमा भट्टराईले बताइन् । ‘आर्थिक वर्ष ०७१/७२ मा १८ प्रतिशतले घटेको मलेसिया जाने कामदारको संख्या ०७२/७३ मा ३३ प्रतिशतले घटेको छ,’ उनले भनिन्, ‘यसकारण उक्त राष्ट्रबाट आउने रेमिट्यान्स पनि घटेको हो ।’ हाल मलेसियामा करिब ८ लाख नेपाली कामदार रहेको जनाउँदै उनले भनिन्, ‘मलेसिया सरकारको अन्तर्राष्ट्रिय कामदारसम्बन्धी नीतिगत कडाइले त्यहाँ जाने नेपालीको संख्या घटेको हो ।’ यद्यपि केही महिनायता मलेसियाबाट कृषि र उद्योगहरूमा नेपाली कामदारको माग आएको उनले जनाइन् । 

नेपाल सरकारले लागु गरेको शून्य लागतमा विदेश पठाउने नीति पनि मलेसियामा कामदार घट्नुको अर्को कारण भएको प्रवक्ता भट्टराईको तर्क छ । उनले भनिन्, ‘अधिकांश मेनपावरले शून्य लागतमा कामदार पठाउन मानिरहेका छैनन् ।’ यस्तै साउदी अरबलगायत अन्य राष्ट्रमा जाने नेपाली कामदारको संख्या पनि घटिरहेको उनले जनाइन् ।

रेमिट्यान्स वृद्धिदर घट्नुको प्रमुख कारण बिदेसिने कामदारको संख्यामा कमी आउनु नै भएको राष्ट्र बैंकका विदेशी विनिमय व्यवस्थापन विभाग प्रमुख भीष्मराज ढुंगानाले बताए । ‘मलेसिया, साउदीलगायत मुलुकमा जाने नेपालीको संख्या उल्लेख्य रूपमा घटेको छ,’ उनले भने, ‘त्यसको प्रत्यक्ष प्रभाव रेमिट्यान्समा परेको छ ।’ 

तर, बिदेसिने कामदारको संख्यामा आएको कमी मात्र रेमिट्यान्स घट्नुको कारण नभएको सरोकारवालाहरू बताउँछन् । ‘हुन्डीलगायत अनौपचारिक माध्यम नियन्त्रण नगरिए आउँदा दिनमा रेमिट्यान्स झनै तीव्र दरले घट्ने देखिन्छ,’ रेमिट्यान्स कारोबार पनि गरिरहेको एक वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतले भने । उनका अनुसार हाल रेमिट्यान्स वृद्धिदर घट्नुको प्रमुख कारण बढदो हुन्डी कारोबार हो ।’ नेपालको कानुनले हुन्डीलाई बंैकिङ कसुर भित्र नराखेपछि यस्तो कारोबार बढेको ती अधिकारीले दाबी गरे । उनले भने, ‘राष्ट्र बैंक ऐनको संशोधित विधेयकमा हुन्डीलाई बैंकिङ कसुरभित्र नपारेको समाचारहरू सार्वजनिक भएयता हुन्डी कारोबार मौलाएको छ ।’ 

अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्षमा लेवनानबाट आउने रेमिट्यान्स ४४ प्रतिशतले, इजरायलबाट आउने ३० प्रतिशतले र अन्य शीर्षकमा आउने रेमिट्यान्स साढे ४९ प्रतिशतले घटेको राष्ट्र बैंकले जनाएको छ । 

चालु आर्थिक वर्षको पहिलो तीन महिनामा १ खर्ब ७१ अर्ब रुपैयाँ नेपाल भित्रिएको छ । यो ३ दशमलव २ प्रतिशतको वृद्धि हो । विप्रेषण आप्रवाहलाई प्रत्यक्ष प्रभाव पार्ने वैदेशिक रोजगारीमा जाने नेपाली नागरिकहरूको संख्यामा पछिल्ला महिनाहरूमा निरन्तर कमी आएको राष्ट्र बंैकले जनाएको छ । 

Published : 14 December 2017 | Kantipur

Back to list

;