s

बढ्दैछ वैदेशिक रोजगारीमा मृत्यु हुनेको संख्या

तुलसी सुवेदी

वैदेशिक रोजगारीमा गएकै समयमा विश्वका विभिन्न मुलुकमा ज्यान गुमाउने नेपाली कामदारको संख्या बढदो छ। रोजगारीमा गएका नेपालीमध्ये दैनिक सरदर तीन जनाको मृत्यु हुने गरेको छ।

नेपालबाट वैदेशिक रोजगारीका लागि दैनिक दुई हजारभन्दा बढी युवा विदेसिने गरेका छन्। वैदेशिक रोजगारीकै समयमा मृत्यु भएका कामदारले पनि सरकारबाट क्षतिपूर्ति पाउन सकेका छैनन्। तर, सरकारबाट भने दैनिक दुईजनाले मात्रै आर्थिक सहायता पाउने गरेको वैदेशिक रोजगार प्रवद्र्वन बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्ले बताउँछन्।
 
बोर्डले कल्याणकारी कोषमा रकम जम्मा गरेको, बिमा गरेको र वैधानिकरूपमै काम गरिरहेको अवस्थामा ज्यान गुमाएकालाई मात्रै आर्थिक सहायता वितरण गर्दै आएको छ। उनी भन्छन् , ‘विदेश जानुपूर्व सम्बन्धित देशको हावापानी, रहनसहन, सीप तथा भाषाको जानकारी दिन सकियो भने मर्नेको संख्यामा कमी आउन सक्छ।’
 
वैदेशिक रोजगारीकै क्रममा चालू आवको माघ २१ गतेसम्म चार सय ५५ जनाले ज्यान गुमाएका छन्। ज्यान गुमाएकालाई बोड सोही अवधिसम्म २३ करोड ६ लाख २० हजार आर्थिक सहायता उपलब्ध गराइसकेको छ। तर, गत आर्थिक वर्ष २०७३/७४ मा वैदेशिक रोजगारीकै क्रममा ज्यान गुमाएका सात सय सय ३७ जनाले बोर्डबाट २२ करोड ८७ लाख ६० हजार रुपैयाँ राहत लिएका थिए।
 
यसैगरी बोर्डले गत आवमै रोजगारीमा रहेकै बेला अंगभंग र अशक्त भएका दुई सय ६ जनालाई ६ करोड रुपैयाँ राहत दिएको थियो। विभागले गत आवमा शव ल्याउन ५० लाख, शव सम्बन्धित व्यक्तिको घरसम्म पुर्‍याउन एक करोड ८० लाख, विदेशमा अलपत्र परेको कामदारको उद्धारमा ५० लाख र कामदारलाई कानुनी सहयोगमा ६५ लाख रुपैयाँ खर्च गरेको काफ्ले बताउँछन्। बोडले श्रम स्वीकृति लिएर गएका वैधानिक कामदारलाई वैदेशिक रोजगार कल्याणकारी कोषबाट राहत रकम वितरण गर्दै आएको छ।
 
किन बढ्दो
 
रोजगारीमा रहेका बेला प्राकृतिक मृत्यु, आत्महत्या, सडक दुर्घटना, कार्यस्थल दुर्घटना र हृदयघातका कारण नेपालीले ज्यान गुमाइरहेका छन्। कतिपय नेपालीले भने आफ्नै देशबाट कामका लागि गएका साथीको झगडामा पनि ज्यान गुमाउन पुगेको छन्। बोर्डका अनुसार गत आवमा सुतिरहेको अवस्था (प्राकृतिक मृत्यु) हुनेको संख्या दुई सय ४६ छ। हावापानी, खानपान र काम तथा आरामको सन्तुलन नमिल्दा कामदारले ज्यान गुमाउन परेको काफ्लेले बताए। गत आवमा सडक दुर्घटना भएर मर्नेको संख्या एक सय १८ जना थियो। ट्राफिक नजान्दा नेपालीले अकालमा ज्यान गुमाइरहेका छन्।
 
आत्महत्या गर्ने बढे
 
विदेशमा आत्महत्या गर्नेको संख्या पनि बढेको छ। गरिबीका कारण कमाउन विदेश पुगे पनि सोचेजस्तो कमाइ नहुनु, विदेशमा दुःख गर्दै गर्दा पारिवारिक दबाब र कलहकै कारण युवाले आत्महत्या रोज्ने गरेका छन्। गत आवमा ८४ जनाले आत्महत्या गरेका थिए। बोर्डका अनुसार हृदयघाटबाट ६४ जना, कार्यस्थलमा दुर्घटनाबाट ५९ जना, अन्य कारणबाट ७९ जनाले ज्यान गुमाएका थिए। गत आवको ज्यान गुमाउने मध्ये १८ जना महिला रहेको उनले जानकारी दिए। यसमध्ये पाँच जना महिलाले आत्महत्या ,६ जना महिलाको प्राकृतिक मृत्यु भएको थियो भने चार महिलाको सडक दुर्घटनामा ज्यान गएको बोर्डले जनाएको छ।
 
मलेसियामा धेरै
 
बोर्डका अनुसार चालू आर्थिक वर्षको ६ महिनामा मलेसियामा एक सय २४ जनाले ज्यान गुमाएका छन्। अघिल्लो आवमा दुई सय ५३ जनाले ज्यान गुमाएका थिए। ज्यान गुमाउने देशमा दोस्रो स्थानमा साउदी अरेबिया रहेको छ। साउदीमा एक सय ६ जनाले चालू आवमा र गत आवमा दुई सय ५१ जनाले ज्यान गुमाएका छन्।
 
यस्तै कतारमा चालू आवको ६ महिनामा ६६ जना र गत आवमा सय ४० जनाले ज्यान गुमाए। यस्तै यूएईमा चालू आवको ६ महिनामा ४२ जना र गत आवमा ३८ जनाले ज्यान गुमाएका छन्। दक्षिण कोरियामा चालू आवमा १५ जना र गत आवमा ११ जनाले ज्यान गुमाएका छन्। चालू आर्थिक वर्षको ६ महिनामा बहराइनमा पाँच जना, कुवेतमा पाँच जना, इजिप्ट, जापान र ओमनमा एक/एक जनाले ज्यान गुमाएका छन्।
 
विदेशमा अकालमा ज्यान गुमाउनेका परिवारले सात लाखसम्म आर्थिक सहायता पाउँछन्। लामो समयदेखि सरकारले तीन लाखसम्म आर्थिक सहायता दिँदै आएको थियो। गत साउन १६ देखि तीन लाखबाट बढाएर सातलाख पुर्‍याइएको हो। यसैगरी सरकारले बिमा बापत पनि १५ लाख रुपैयाँ आर्थिक सहयोग दिँदै आएको छ।
 
Published on: 11 February 2018 | Annapurna Post

Back to list

;