s

बढ्दै कोरिया क्रेज

उत्तम काप्री

गुल्मीमा सुमन अर्याल ६ वर्षदेखि कोरियामा काम गर्दै आएका छन् । पहिलोपटक २०१० मा कोरिया पुगेका अर्याल पाँच वर्षको समय पूरा गरेर नेपाल फर्किए । उनको मनमा कोरियाको ह्याङ भने हट्न सकेन । फेरि २०१६ को भाषा परीक्षा पास गरेर उनी कोरिया गए । 'दुःख त छ, तर मेहनतअनुसारको आम्दानी पनि छ', उनी भन्छन्, 'कडा मेहनत गर्नेले राम्रै आम्दानी गर्छन् । तर, कोरियामा नेपालीले गरे जति दुःख गर्ने ठाउँ नेपालमा भने नभएको उनी बताउँछन् । कम लागत तर आम्दानी राम्रो हुने भएकाले कोरिया नेपाली कामदारका लागि आकर्षक गन्तव्य बनेको उनको ठम्याइँ छ । उनका अनुसार पाँच वर्ष कोरियामा दुःख गरे नेपालमा मध्यमवर्गीय परिवारमा परिन्छ ।

सामान्यतया मासिक डेढलाख देखि तीन लाखसम्म आम्दानी हुने हुँदा कोरियाको आकर्षण बढेको हो । कोरियन भाषा पास गरेर त्यहाँ पुग्न त्यति सहज छैन् । एक त भाषा पढ्नै गाह्रो छ, यसमाथि लोकसेवाको परीक्षामा जस्तै कडा प्रतिस्पर्धा गर्नुपर्ने बाध्यता छ । कोरियाले सीमित कोटामा नेपाली लैजाने गर्छ । कोटाभित्र पर्न नेपाली युवा मेहनत गरिरहेको अर्याल बताउँछन् ।

सरकारी जागिरे गोरखाका विदुर ढकाल पनि दुई वर्षदेखि कोरियामा काम गर्दै आएका छन् । नेपालको सरकारी जागिरबाट परिवारको दैनिक खर्च चलाउन मुस्किल भएपछि उनी जागिर छोडेर कोरिया गएको बताउँछन् । 'आम्दानी राम्रै छ, अब नेपाल आएपछि सानोतिनो बिजिनेश गरेर अरूलाई पनि रोजगारी दिन्छु', ढकालको योजना छ । जागिरसँगै स्नातक अध्ययन गर्दै गरेका ढकाल नेपाल आएपछि पढाइलाई पनि निरन्तरता दिने सोचमा छन् । सन् २००८ देखि अहिलेसम्म अर्याल र ढकाल जस्तै नौ वर्षमा ४४ हजारभन्दा बढी युवा रोजगारीका लागि कोरियाका पुगिसकेका छन् ।

देशभित्रै रोजगारीका अवसर सिर्जना नहुँदा प्रत्येक वर्ष नेपाली युवा बिदेसिने क्रम बढ्दो छ । वैदेशिक रोजगारीका लागि कोरिया जाने युवा अन्य देशमा जानेभन्दा शिक्षित वर्गका छन् । पछिल्लो समय एसएलसीदेखि एमए पास गरेका युवाको रोजाइमा कोरिया परेको छ ।

कामका लागि विदेश पलायन हुने युवाको संख्या बढ्दै जाँदा देशभित्रै निर्माणाधीन राष्ट्रिय गौरवका आयोजनासमेत प्रभावित हुँदै गएका छन् । यी आयोजनामा काम गर्न कामदार विदेशबाट ल्याउनुपर्ने अवस्था छ । सरकार आफैंले घोषणा गरेर दक्ष कामदार कोरिया पठाउँदै आएको छ । कामका लागि कोरिया जानेले खाडी मुलुकभन्दा केही बढी कमाउने अवसर प्राप्त गरेका छन् । सरकारले सन् २००७ देखि दुई देशबीच श्रमसम्झौता गरी न्यूनतम एक लाख रुपैयाँमा नेपाली कामदार कोरिया पठाउँदै आएको छ ।

कोरियामा काम गर्ने नेपाली कामदारले पनि मासिक कम्तीमा एक लाखदेखि डेढ लाख रुपैयाँ आम्दानी गर्छन् । त्यहाँ जान कोरियन भाषा परीक्षामा उत्तीर्ण हुनुपर्छ । सन् २००८ देखि सरकारले युवालाई कोरिया पठाउँदै आएको ईपीएस शाखाले जनाएको छ । ईपीएस शाखाका अनुसार अहिलेसम्म ४४ हजार नेपाली युवा कोरिया पुगिसेकेका छन् । त्यसमध्ये ४० हजार पुरुष र सात सय १५ महिला छन् ।

हालसम्म तीन लाख ३२ हजार चार सय दुई जना युवा कोरियन भाषा परीक्षामा सहभागी भएका छन् ।सहभागीमध्ये ५० हजार तीन सय ६५ जनाले भाषा परीक्षा उत्तीर्ण गरेको शाखाले जनाएको छ । परीक्षा उत्तीर्ण भएका बाँकी युवा पनि कोरिया जाने प्रक्रियामा रहेको शाखाले जनाएको छ । २०१६ मा भएको भाषा परीक्षामा ६० हजारभन्दा बढी सहभागी थिए । सन् २०११ मा भएको भाषा परीक्षामा १५ हजारभन्दा बढी उत्तीर्ण भएको शाखाले जनाएको छ ।

शाखाका अनुसार नेपालबाट सबैभन्दा बढी सन् २०१२ मा ६३ सय ३२ जना कामदार कोरिया पुगेका थिए । जानेमध्ये ५९ सय ३७ पुरुष र तीन सय ९५ जना महिला थिए । कोरियाले नेपालबाट कृषि र उत्पादनमूलक क्षेत्रका लागि कामदार लैजाने गरेको छ । पछिल्लो समय वैदेशिक रोजगारीका अवसरसँगै नेपालमा कोरियन भाषा सिकाउने संस्थाले राम्रै आम्दानी गरेका छन् । भाषा परीक्षा पास भएकामध्येबाट पाँचवर्षे करार अवधिका लागि कोरियाले कामदार लैजाने गरेको शाखाका निर्देशक बाबुराम खतिवडाले जानकारी दिए ।

खाडी मुलुक तथा मलेसिया जाने कामदारले जस्तो दुःख तथा पीडा भोग्नु नपर्ने हुँदा कोरियाका लागि आकर्षण बढ्दो छ । कामदारले भनेअनुसारकै सेवासुविधा र तलब पाउने हुँदा कोरिया राम्रो गन्तव्य बनेको छ । सरकारले नै पठाउने हुँदा ठगी पनि नहुने सकारात्मक पक्ष हो । खाडी तथा मलेसिया जाने कामदार ठगिने क्रम बढ्दो छ । म्यानपावर कम्पनीले सरकारले तोकेभन्दा बढी रकम असुलेर यी देशमा कामदार पठाइरहेका छन् । फ्री भिसा तथा टिकटमा खाडी मुलुक तथा मलेसिया कामदार पठाउने सरकारी निर्णयका विरुद्ध मेनपावर कम्पनीले अहिले पनि एकदेखि दुई लाखसम्म रकम असुली रहेका छन् । तर, कोरिया जाने कामदारले अहिलेसम्म त्यस्तो कुनै पीडा भोग्न नपरेको शाखाको भनाइ छ । कोरिया जाने कामदार नठगिने खतिवडाको भनाइ छ । तर, खाडी मुलुक जाने कामदारको संख्या कोरिया जानेभन्दा बढी छ ।

आठौं ईपीएस परीक्षाका ७० हजार

सन् २०१८ मा कोरिया जान पाउने गरी रोजगार अनुमति प्रणाली (ईपीएस) शाखाले शनिबार र आइतबार लिएको भाषा परीक्षाका ७० हजारभन्दा बढी सहभागी भएका छन् । परीक्षा आवेदन फारम ७५ हजार पाँच सय ८० जनाले फारम भरेका थिए । कोरियाले सन् २०१८ मा १० हजार दुई सय कामदार नेपालबाट लैजाँदै छ । कोरियाले कामदार लैजान थालेको करिब १० वर्षपछि दोस्रो पटक धेरै कामदार लैजाने खोजेको हो । यसअघि सन् २०११ मा नेपालबाट १५ हजारभन्दा बढीले कोरियाको रोजगारीका जाने अवसर पाएका थिए । यसपटक कोरियाले ६ हजार दुईजना कृषि काममा लागि र चार हजार उत्पादन क्षेत्रमा काम गर्ने कामदार लैजान लागेको हो ।

नतिजा असार १६ मा

रोजगार अनुमति प्रणाली (ईपीएस) कोरियाले शनिबार र आइतबार लिएको भाषा परीक्षाको नतिजा असार १६ गते सार्वजनिक गर्नेछ । दुई दिन सञ्चालन भएको परीक्षामा आवेदन फारम भर्ने ७५ हजार पाँच सय ८० परीक्षार्थी मध्ये ८० देखि ९० प्रतिशतले भाषा परीक्षा दिएको शाखाका प्रमुख बाबुराम खतिवडाले जानकारी दिए । शाखाको गल्तीका कारण २६ नम्बर परीक्षा केन्द्रमा शनिबार भने चार सय ३३ जना परीक्षार्थीले भाषा परीक्षा दिन नपाएको उहाँले जानकारी दिनुभयो । परीक्षा दिन बञ्चित भएकाहरूलाई शाखाले छिट्टै परीक्षा लिने तयारी गरेको छ । कोरियाबाट आएका परीक्षा सञ्चालक टोली पनि सकारात्मक रहेको हुँदा अबको एक सातापछि परीक्षा सञ्चालन हुने गरी मिति र केन्द्र तोकिने खतिवडाले जानकारी दिए ।

३३ जना नक्कली परीक्षार्थी

ईपीएस भाषा परीक्षामा सहभागी ३३ जना नक्कली परीक्षार्थीलाई प्रहरीले पक्राउ गरेको छ । ललितपुर प्रहरी प्रवक्ता ईश्वर कार्कीका अनुसार ललितपुरका विभिन्न परीक्षा केन्द्रमा अरूको नाममा परीक्षा दिने १३ जना परीक्षार्थी पक्राउ परेका छन् । काठमाडौं प्रहरी प्रवक्ता प्रद्युन कार्कीका अनुसार काठमाडौं जिल्लाका विभिन्न परीक्षा केन्द्रबाट २० जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् । पक्राउ परेका ३३ नक्कली परीक्षार्थीको परीक्षा रद्द गरिएको छ ।

कोरिया आकर्षण

नेपालबाट श्रम स्वीकृति लिँदै काममा लागि एक सय १० देशमा युवा पलायन भइरहेका छन् । अन्तर्राष्ट्रिय विमानस्थल हुँदै रोजागारीका लागि दैनिक दुई हजारभन्दा बढी युवा विदेश गइरहेका छन् । विदेश जाने नेपाली कामदारका लागि आकर्षण केन्द्र कोरिया बनेको छ । कोरिया एक लाख रुपैयाँ खर्च गरेर डेढ लाखसम्मको आम्दानी हुने गन्तव्य हो । कडा मेहनत गर्नेले त्योभन्दा बढी पनि आम्दानी गर्छन । पाँच वर्ष काम गरेर आएपछि नेपालमै स्वरोजगार गर्न सकिने अनुभवी युवाको भनाइ छ ।

सन् २००८ देखि अहिलेसम्म परीक्षामा सहभागी र उत्तीर्ण संख्या

साल   परीक्षार्थी,   उत्तीर्ण संख्या

२००८-     ३१५२५,     ६७८६

२०१०-    ३६२०३,      ४०९६

२०११     ५००४३,     १५६७८

२०१३-    ४४१२२,      ७७७८

२०१४-    ५८७४६,      ३४७८

२०१५-    ५११३७,      ८३७०

२०१६-    ६०६२६,      ३४६४

२०१७-    ७२०००

स्रोतः ईपीएस शाखा

Published on: 12 June 2017 | Annapurna Post

Back to list

;