s

बदलिँदो आरन पेसा, बाली छाडेर ज्यालामा, जीवन निर्वाह सहज

बागलुङ, माघ २१ गते । बागलुङ नगरपालिका–८ तित्याङका सन्तोष विक बागलुङ बजार झरेको १२ बर्ष पुग्यो । परिवारसहित सदरमुकाम झर्नु भएका विकले परिवार पाल्नको लागि कसैसँग जागिरको हात फैलाउन परेन् । काम चाहियो भन्दै न कसैसँग सम्झौता गर्नु प¥यो न त कुनै नेता र पार्टीको पछि पर्नु नै प¥यो । उहाँले हात मुख जोर्न सघाउने सारथी बन्यो, पुख्यौली आरन पेसा ।

परिवारको सल्लाह बमोजिम नै विकले बजारमा पुराना कृषि तथा घरायसी औजार मर्मत र नयाँ कृषि औजार बनाएर बेच्न थाल्नुभयो । सामान्य अर्जव तिखारबाट सुरु भएको विकको आरन यात्र अहिले व्यवसायिक आरनको रुपमा रुपान्तरित भएको छ ।

गाउँमा बाबु बाजेले आरनको काम बार्षिक बाली प्रथामा गरे पनि उहाँले बजार क्षेत्रमा ज्याला लिएर नगदमा काम थाल्नुभएको थियो । बालिका काम गर्दा अन्नबाली ल्याउन बर्ष दिन कुर्न पर्ने र उठाउन घरघर जानुपर्ने भए पछि नगदमा काम थालेको विकको भनाई छ ।

विकले हाल बागलुङ नगरपालिका–४ उपल्लाचौरमा बार्षिक १३ हजार रुपियाँ भाडा तिर्ने गरी जग्गा लिएर छाप्रो बनाउनु भएको छ । त्यही छाप्रोमा निर्माण गरिएको आरनबाट आँसी, कोदाली, बन्चरो, पाली, कुखुरी, खुँडा जस्ता घरायसी तथा कृषी औजार तयारी गर्नु थालेको बताउनुभयो ।
उहाँलाई सानैदेखि बुवाले गरेको पेसाप्रतिनै रुचि थियो । सानो छँदा आरनमा बुवालाई सघाउँथे विकले भन्नुभयो ‘अहिले आरन नै जीवन निर्वाहको माध्यम बनेको छ ।’ विकले एक जनालाई रोजगार समेत दिनुभएको छ ।

‘आरनको काम एक्लै गर्न कठिन हुन्छ’ उहाँले भन्नुभयो– ‘काँचो फलामलाई आकार दिनु सजिलो छैन ।’ निरन्तर घन भाँडीसँग काम गर्दा ढाँडको समस्या हुन्छ । सिप भए आरनबाटै मासिक ४०÷५० हजार रुपियाँ आम्दानी गर्न सकिने विकको भनाई छ ।

ज्यालामा काम गर्दा जातीय छुवाछुतको सिकार बन्नु नपर्ने उहाँको भोगाई छ । ‘घरघरमा बालि लिन जाँदा आगन, छेउ वा बलेनीमा बस्नु पर्छ’ विकले भन्नुभयो–‘ज्यालामा काम गर्दा नगदमा कारोबार, कसैको घरघर धाउनु पर्दैन ।’ पेसालाई मर्यादित र व्यवसायिक बनाउनु पर्ने विकको भनाई छ ।

Published on: 4 February 2020 | Gorkhapatra

Link

Back to list

;