s

बाँचेर फर्कियो खुसीको अँगालो

हातमा अबिर र माला, मुहारमा बेचैनी, आँखामा खुसी। त्रिभुवन विमानस्थलमा बिहीबार कमलादेवी हाछेथूका बेचैन आँखा अन्तर्राष्ट्रिय आगमन कक्षबाट बाहिरिने यात्रुलाई एकटकले नियालिरहेका थिए।उनको प्रतीक्षाको घडी लम्बिइरहेको थियो।
 

बैंककबाट काठमाडौंका लागि उडेको थाई एयरको विमान बिहीबार दिउँसो १२:३५ मा अवतरण भइसक्नुपर्थ्यो, ढिलो भइरहेको थियो। जब तीन युवक करिब ३० मिनेट ढिलो गरी आगमनकक्षको ढोकामा झुल्किए, कमलादेवीको प्रतीक्षा टुंगियो। एकाएक उनको मुहार बदलियो

नीलो ज्याकेटमा मुस्कुराइरहेका युवकलाई सामुन्ने देख्नासाथ उनले गम्लङ्ग अँगालो मारिन् र धीत नमरुन्जेल चुमिरहिन्। अन्य २ युवक पनि छिनभरमा अबिर र मालाले रंगिएर आफन्तको अँगालोमा बेरिए, निकैबेर।  बैंककबाट बिहीबार काठमाडौं आइपुगेका ती तिनै युवक थिए, जो पुस ४ मा बैंककमा अपहरणमा परी पाँच दिनपछि कालको मुखबाट उम्किन सफल भएका थिए — कर्ण हाछेथू, विभुष रिजाल र रोनिश श्रेष्ठ। नेपाल प्रहरी र थाई प्रहरीको संयुक्त प्रयासले उनीहरूलाई अपहरणकारीको पन्जाबाट सकुशल खोसिएको थियो। 

‘छोराको मुहार देख्दा यति खुसी लागेको छ कि त्यसलाई व्यक्त गर्न मसँग शब्दै छैन,' छोरासित २८ दिनको बेचैनी मेटाएकी कमलादेवीले नागरिकसँग भनिन्, ‘छोरो दोस्रो जन्म पाएर फर्कियो।' पुस ४ गते। राति ११ बजे।
 

बैंककस्थित एजप्सन विश्वविद्यालयमा पढिरहेका हाछेथू, रिजाल र श्रेष्ठ आफ्नो अर्पाटमेन्टनजिकै रेस्टुरेन्ट गए। रेस्टुरेन्टका सञ्चालक अलीले आफ्नो अस्ट्रेलियाको भिसा लागेकाले खुसी बाँड्न अर्को पबमा गएर बियर पिउने प्रस्ताव गरेका थिए उनीहरूलाई।

आफू पढेकै विश्वविद्यालयका पूर्वविद्यार्थी र परिचित भएकाले यी तीनैले अलीमाथि कुनै शंका गरेनन्, न पब जान नाइँनास्ती नै गरे।अलीमाथिको विश्वास विश्वासघातमा बदलियो। अलीले उनीहरूलाई पबमा होइन, एउटा अपार्टमेन्टमा लगेर बन्धक बनायो। अर्पाटमेन्टको दोस्रो तलामा लगेर सबैको आँखामा पट्टी लगाइदियो। 

साथी सम्झेको अली त खुंखार अपहरणकारी पो रहेछ। ‘कोठा सुनसान,' अपहरित अनुभव बाँड्दै रिजालले भने, ‘हामीलाई कुर्न बसेका सबै नयाँ थिए, अली त्यहाँ आउँदैनथ्यो।' दोस्रो दिन। कुर्न बसेकाहरूले नेपालमा परिवारलाई फोन गरेर अपहरणमा परेको जानकारी दिन लगाए। उनीहरूले मुक्त हुन १ करोड फिरौती मागेका थिए। बन्धक रहेसम्म उनीहरूका आँखामा पट्टी थियो, तर चियाउँदा केहीको अनुहार देखिन्थ्यो। उनीहरूलाई भात र तरकारी खान दिइन्थ्यो।

‘हाम्रो बोस इरानी हो, यो काम भएन भने तिमीहरू त मर्छौ नै, अली पनि मर्छ भन्दै तर्साउँथे,' उनले त्रासका ती दिन सम्भि्कए। तीनै जनालाई सँगै राखेकाले उनीहरू खासखुस गरेर आपसमा कुरा गर्न भने सक्थे। उनीहरूले खासखुस गरेरै भाग्ने योजना नबनाएका पनि होइनन् तर मौकै पाएनन्। 

तेस्रो दिन। बेलुका उनीहरूलाई बेहोस हुने औषधी खुवाइयो। शारीरिक यातना भने दिएका थिएनन् तर नेपालमा फोन गर्दा हामीलाई पिटेको छ भन्न लगाउँथे। परिवारका सदस्यले अपहरणकारीलाई पैसा दिन राजी भएको सन्देश पठाएपछि मात्र उनीहरूमा बाँच्ने आशा पलाएको थियो।

‘घरपरिवारको आर्थिक अवस्था मागअनुसार १ करोड दिने त थिएन,' रिजालले भने, ‘हामीलाई बचाउन ऋण खोजेर भए पनि पैसा पठाउँछन् भन्ने विश्वास थियो, पैसा लिएपछि फेरि मार्ने पो हुन् कि भन्ने डर भने लागिरह्यो।'

पाँचौं दिन। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो र बैंकक प्रहरीको संयुक्त अनुसन्धानमा अपहरितहरू बैंकककै लाड–काराबाङस्थित एक अर्पाटमेन्टमा बन्धक बनाएर राखिएको खुल्यो।

बैंकक प्रहरीको कमान्डो टोली र नेपालबाट गएका एसपी पिताम्बर अधिकारीसहितको टोली ८ गते दिउँसो २ बजे लाड–काराबाङमा रहेको साढे २ तले घरमा पुग्दा २ जना कुरुवा थिए, मोहम्मद जलिर र युकास रेहमान। यी दुवै जनालाई नियन्त्रणमा लिँदै दोस्रो तलाको एउटा कोठाको ढोका खोल्दा भुइँमा तीन युवा आँखामा पट्टी बाँधेको अवस्थामा भेटिए। 

२० दिनको निरन्तर अनुसन्धानमा अपहरणमा पाकिस्तानी, थाई, बंगलादेशी, भारतीय र नेपाली संलग्न रहेको खुल्यो। 
अपहरणको मुख्य योजनाकार उमिद अलीसहित सहयोगी अली बट, अली रसाद र सारान बट, नेपाली नागरिक सजन यादव, युकस रेहमान र थाई नागरिक मोहम्मद जलिरसहित १० जना पक्राउ परे।

‘ढोका खोल्दा अपहरणकारीमध्येकै अरू नै आएजस्तो लागेको थियो, जब उनीहरूले थाई पुलिस थाई पुलिस भने, अनि ढुक्क भइयो,' रिजालले सुनाए। 

बन्धक बनाएर राखेको घरबाहिर उनीहरू पढ्ने विश्वविद्यालयका विद्यार्थी र शिक्षकसमेत आएका थिए। अपहरणमुक्त भएपछि बाँचेर फर्केको पहिलो खुसी उनीहरूसँगै साटे तीने युवकले।

अपहरणमुक्त भएलगत्तै उनीहरूले स्काइपमार्फत परिवारका सदस्यसँग खुसी साटे। नेपाल फर्कन मनमा आतुरी थियो। अभिभावकले पनि नेपाल फर्कन जोड गरिरहेका थिए। तर, प्रक्रिया नटुंगिएकाले उनीहरू तत्काल फर्कन पाएनन्।

थाइल्यान्डको प्रहरी अप्रेसनमा समन्वय गरेर नेपाल फर्किएका प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका एसपी पिताम्बर अधिकारीसँग च्याटमा नेपाल आउन बेचैनी साटिरहेका थिए उनीहरूले। तीन दिनअघि कार्यकक्षमा पुग्दा एसपी अधिकारी तिनै युवकसँग च्याटमा व्यस्त थिए। ‘केटाहरू नेपाल आउन आतुर छन्, उता प्रक्रिया सकिएको छैन,' उनले नागरिकसँग भनेका थिए।

दुई दिनअघि बयान र पक्राउ परेका अभियुक्तको सनाखतको अदालती प्रक्रिया टुंगियो। हाछेथू, रिजाल र श्रेष्ठले नेपाल आउने अनुमति पाए।

अपहरणबारे समाचार पुष्टिका लागि पुस ८ गते प्रहरीले फोन गर्दा कर्णका बुबा कृष्णले आत्तिँदै समाचार सम्प्रेषण नगर्न आग्रह गरेका थिए। बिहीबार बेलुका उनी निकै फुरुङ थिए।

‘आज छोराको स्वागत गर्न पाइयो, खुसीको सीमै छैन,' कृष्णले टेलिफोनमा खुसी साटे। कर्णसँग कुरा गर्ने अनुमति माग्दा उनले ‘ऊ आराम गरिरहेको छ, बरु आमासँग कुरा गर्नुस्' भन्दै मोबाइल कमलादेवीलाई दिए। 

कमलादेवीले केही मिनेट फोनमै खुसी साटिन्। कर्णसँग खुसी साट्न दोस्रोपटक आग्रह गरेपछि उनले स्वीकार गर्दै टेलिफोन दिइन्। 

नेपाल फर्किंदा कस्तो लाग्यो?
‘न्यु लाइफ पाएझैं,' कर्णले छोटो जवाफ दिए, ‘धेरै खुसी छ।'
...

बैंकक बसेर बिबिए चौथो सेमेस्टर पढिरहेका कर्णको कोर्स सकिएको छैन। इलेक्ट्रोनिक इन्जिनियरिङ पढिरहेका रिजाल अहिले चौथो सेमेस्टरमा छन्। कोर्स सकिन अझै २ वर्ष बाँकी छ। हाइड्रोपावर पढिरहेका रोनिशले त दोस्रो सेमेस्टर मात्र टेकेका छन्।
अब पढाइ अधुरो छाडेर नेपालै बस्ने कि फर्किएर कोर्स पूरा गर्ने त? तीनै जनाले निर्णय गरिसकेका छैनन्। अपहरणमा परेपछि बैंकक असुरक्षित लागेको कर्णले सुनाए। ‘पहिलेभन्दा डर त लाग्छ, तर अलर्ट पनि छौं,' उनले भने, ‘अभिभावकले जे भन्नुहुन्छ, त्यही मान्ने हो।'
कृष्णले बैंकक फर्काउने कि नफर्काउने विषयमा परिवारमा छलफल हुन बाँकी रहेको बताए। कमलादेवी भने छोरा कर्णलाई नफर्काउने मनस्थितिमा देखिइन्।
‘यतै पढाउने कि भन्ने सोचिरहेका छौं,' उनले भनिन्, ‘उसले पनि आमा–बुबाले जे भन्नुहुन्छ, त्यही मान्छु भनेको छ।'

Published on: 16 January 2015 | Nagarik

Back to list

;