s

बाबुछोराको धन्दा, कुवेत पठाइदिने भन्दै जिल्लाभरी ठगी

बाबु पक्राउ, छोरासहित दुई फरार

छिन्नमस्ता गाउँपालिका ४ लालापट्टीका जिनत मन्सुरीले छोरा अन्सारुललाई वैदेशिक रोजगारीमा पठाउन एजेन्टले मागेको १ लाख ३६ हजार रुपैयाँ ऋण लिए । राम्रो कमाइ हुने ठाउँ कुवेतको भिसा आएको र जान ढिलो भइसकेको बताएपछि सबै पैसा एजेन्टलाई बुझाइदिए । गएको साउनमै भिसा आइसकेको भन्दै उडन तयार भएका अन्सारुल न त विदेश जान पाए, नत उक्त रकम नै पाएका छन् ।

सोही ठाउँका २१ बर्षीय रामनारायण मुखियाको हालत पनि अन्सारुलको जस्तै छ । उनले पनि १ लाख ३६ हजार तिरे कुवेत जाने आशमा । तर, अहिले न विदेश जान पाए न रकम नै फिर्ता पाए ।   एजेन्टलाई रकम दिएर ठगीमा पर्नेमा राजगढ गाउँपालिका ३ का २२ बर्षीय अफजल मन्सुरी पनि छन् । उनले पनि ७६ हजार रुपैयाँ एजेन्टलाई बुझाए विदेश गएर कमाइ गर्ने आशमा । तर उनको आशामाथि पनि तुसारापात भयो ।हनुमानननगर कंकालनी नगरपालिका १४ रम्पुरा मल्हनियाँका दिनेश मुखियाले पनि विदेश जाने नाममा १ लाख ३६ हजार गुमाएका छन् ।
 
सप्तरीको भिन्न–भिन्न ठाउँका यी युवाहरु वैदेशिक रोजगारीमा एकसाथ ठगिएका छन् । र, ठग्ने गिरोह एउटै हुन् । एक बुवा छोरासहित तीन जना मिलेर सप्तरीभरीकै युवाहरुलाई वैदेशिक रोजगारीको प्रलोभन देखाएर ठगी गरेको मंगलबार पर्दाफास भयो । सप्तरीकै रुपनी गाउँपालिका १ बस्ने मस्तकिम मियाँ, उनका छोरा हजरत तथा छिन्नमस्ता गाउँपालिका ४ लालापट्टीका रहमान मियाँले दर्जनौं युवासँग करोडौं ठगी गरेको उजुरी प्रहरीमा परेको छ । प्रहरीले मस्तकिमलाई पक्राउ गरेको छ भने अन्य दुई फरार रहेका छन् ।
 
मंगलबार जिल्ला प्रहरी कार्यालयमा एकसाथ ३७ जना पीडितले उनीहरुविरुद्ध उजुरी दिएका छन् । सप्तरीको प्रायः हरेक ठाउँका युवाहरुले सामूहिक उजुरी दिएपछि प्रहरी पनि आश्चर्यमा परेको छ । उनीहरुले ८० हजारदेखि १ लाख ३६ हजार रुपैयाँसम्म लिएका छन् । धेरै जनासँग  १ लाख ३६ हजार लिएको प्रहरीमा दिएको उजुरीमा उल्लेख छ ।
 
उनीहरुले सबैलाई कुवेत पठाइदिने भनेरै रकम लिएका छन् । ‘ठगीमा संलग्न एक जनालाई नियन्त्रणमा लिएका छौं’ सप्तरी प्रहरी प्रमुख उपरीक्षक राजेन्द्र विष्टले भने, ‘बाँकीको पनि खोजी भइरहेको छ ।’ प्रहरीले तीनैजना विरुद्ध ठगी मुद्दा लगाउने तयारी गरेको छ।
 
भेला गर्दै, रकम जम्मा गर्न लगाउँदै
 
ठगी गिरोहका तीन जनाले सबै गाउँलेलाई एकै ठाउँमा भेला गरेर वैदेशिक रोजगारको प्रचार–प्रसार गर्दै आएको बताएका छन् । गाडी चढेर आउने उनीहरुले कमाइ हुने ठाउँमा पठाइदिने लोभ देखाउने गरेका लालापट्टीका सगीर मन्सुरीले बताए । ‘गत साउनको पहिलो साता नै यी तीन जना मेरो गाउँमा आएर भेला बोलाएका थिए’ सगीरले उनीहरुले दिने आश्वासनबारे सुनाए ‘तपाईंहरुलाई राम्रो काममा कुवेत पठाइदिन्छु । अहिले पैसा छैन भने केही छैन । विस्तारै जम्मा गर्दै गर्नुस् । भिसा आएपछि दिनुहोला।’
 
विष्णुपुर गाउँपालिका १ खुरहुरियाका रोहित खंगले पनि तीन जनाले यसरी नै रकम लिएको सुनाए । ‘उहाँहरु गाउँमा आएर बैठकजस्तो गर्नुभयो । पैसा जम्मा गर्दै गर भन्नुभयो र, पछि भिसा आइसकेको भन्दै रकम लियो’ खंगका बुबा भुटाईले भने ।ठगिनेमा छिन्नमस्ता, राजगढ, विष्णुपुर, तिलाठी–कोइलाडी गाउँपालिका तथा हनुमाननगर–कंकालनी नगरपालिकाका युवाहरु रहेका छन् ।
 
नक्कली भिसा देखाउँदै ठगी गर्दै
 
शुरुमा थोरै रकम माग गर्ने उनीहरुले पछि भिसा आइसकेको भन्दै थप रकम माग्ने गर्थे । ‘भिसा आइसकेपछि उनले भने बमोजिम रकम जहाँबाट भए पनि दियौं लालापट्टीका नइम मन्सुरीले भने, ‘आफूसँग रु १ लाख ३६ हजार लिए ।’
 
यो रकममध्ये ६ हजार मेडिकल जाँच र अन्य भिसा तथा टिकटको नाममा उनले असुली गरेका छन् । भिसा आइसकेको भन्दै काठमाडौं बोलाउने र केही दिन होटल तथा लजमा बसाउने पनि गरेका पीडितले बताए । ‘एक हप्तासम्म आफ्नै खर्चमा काठमाडौंमा बस्यौं’ तिलाठी कोइलाडी २ लौनियाँका मनिष ठाकुरले भने, ‘यसपछि फोन गर्दा उनीहरुले फोनसमेत उठाउन छाडे ।’
 
ठगिएका युवाहरुले उनीहरुले दिएको भिसासमेत प्रहरीमा दिएका छन् । प्रहरी प्रवक्ता डिएसपी भावेश रिमालले प्रारम्भिक अनुसन्धानमा भिसा नक्कली देखिएको बताए । उसबारे वैदेशिक रोजगार विभागमा बुझ्ने काम भइरहेको उनले जानकारी दिए । प्रहरीले हजरतको घरमा छापा मार्दा धेरै भिसासहित वैदेशिक रोजगारसम्बन्धी कागजातहरु फेला पारेको छ । प्रहरी प्रमुख विष्टका अनुसार यस घटनाको मुख्य नाइके हजरत हुन् । उनको खोजी तिब्र पारिएको विष्टले बताए ।
 
Published on: 8 January 2019 । online khabar

Back to list

;