s

बाबु विदेशमा अलपत्र, छोरा अस्पतालमा ब्लड क्यान्सरसँग जुध्दै

मञ्जु टेलर

 

देश कोरोना भाइरसको चपेटामा छ, सबैले महामारीको सामना गरिरहेका छन् । तर, झापाको अर्जुनधारा नगरपालिका–३ खुदुनावारीकी रचना विश्वकर्मालाई यो महामारीबीच अर्को विपत्ति पनि आइलागेको छ । ऋण काढेर वैदेशिक रोजगारीमा कुवेत गएका श्रीमान् देवेन्द्र विश्वकर्मा जागिर गुमेर उतै अलपत्र परेका छन्, यता काठमाडौंमा ११ वर्षीय छोरा अभिषेक क्यान्सरसँग जुधिरहेका छन् । छोराको उपचारका लागि रचना सबैसँग याचना गरिरहेकी छिन् ।

रचनाले गत १ चैतदेखि पाटन अस्पतालमा छोरा अभिषेकको ब्लड क्यान्सरको उपचार गराइरहेकी छिन् । अहिलेसम्म आठपटक किमोथेरापी भइसकेको छ । अस्पतालका अनुसार अभिषेकको ६ महिनासम्म नियमित किमोथेरापी र दुई वर्षसम्म मेन्टिनेन्स थेरापी गर्नुपर्छ । रचनाले आफूसँग भएको र ऋण खोज्न सक्नेजति रकम खर्च गरिसकिन्, थप उपचारका लागि पैसा छैन । छोराको उपचार खर्च जुटाइदिन र श्रीमान्लाई नेपाल फर्काइदिन याचना गरिरहेकी छिन् । उनको एनआइसी एसिया बैंकमा ०४१५७५०८२५०२९००१ नम्बरको खाता छ ।

काठमाडौंमा आफन्तकोमा बसेर रचनाले छोराको उपचार गराइरहेकी छिन् । घरमा बिरामी सासुआमा र ९ वर्षीय कान्छो छोरा छन् । श्रीमान् विदेशमा भए पनि रोजगारी गुमाएर साथीकोमा शरण लिएर बसेका छन्, पैसा पठाउन सक्ने कुरै भएन । ‘श्रीमान् आफैँ शरण लिएर बस्नुभएको छ, यता छोरो यस्तो अवस्थामा छ, घरमा बिरामी सासु र नाबालक छोरो छ । विपत्ति पनि हामी निमुखाहरूमाथि मात्रै पर्दो रहेछ,’ रचनाले भक्कानिँदै भनिन् । अभिषेकको उपचारमा अहिलेसम्म साढे तीन लाखभन्दा बढी खर्च भइसकेको छ । चिनेजानेका र नजिकका आफन्तसँग ऋण लिएर रचनाले अहिलेसम्म उपचारको खर्च जुटाएकी थिइन् । तर, अब ऋण खोज्ने विकल्प पनि सकिएका छन् ।

झापा खुदुनाबारीकै स्कुलमा कक्षा ५ मा पढ्ने अभिषेक अचानक बिरामी परेपछि रचनाले बिर्तामोडस्थित अन्जली बाल अस्पतलामा भर्ना गरिन् । चिकित्सकहरूले थप उपचारका लागि काठमाडौं रिफर गरे । पाटन अस्पताल आएपछि मात्रै रचनाले छोरालाई ब्लड क्यान्सर भएको थाहा पाइन् । अस्पतालले तत्काल थेरापी सुरु गर्नुपर्ने बताएपछि अभिषेकको किमोथेरापी सुरु गरिएको थियो । खर्च जुटाउन रचनाले आफन्तसँग ऋण खोज्नुका साथै वडा कार्यालय पनि गुहारिन् । नगरपालिकाले आर्थिक सहयोगका लागि एउटा सिफारिसपत्र बनाइदिएको छ । तर, अहिलेसम्म कतैबाट सहयोग पाएकी छैनन् ।

रचनाका श्रीमान् देवेन्द्र विश्वकर्मा चौध महिनाअघि ललितपुरको प्याराडाइज म्यानपावरबाट कामदार भिसामा कुवेत गएका थिए । कुवेतको बिआरके नामक कम्पनीमा ड्राइभरको काम पनि पाएका थिए । तर, काम गर्न थालेको दुई/चार महिनामै गाडी दुर्घटना भयो, कम्पनीले दुर्घटनाको सम्पूर्ण क्षति चालकले व्यहोर्नुपर्ने भन्दै देवेन्द्रलाई काममा लगाइ मात्रै रह्यो, तलब दिएन । लकडाउन सुरु भएपपछि देवेन्द्र कुवेतमै अलपत्र छन् ।

Published on: 11 June 2020 | Nayapatrika

Link

Back to list

;