s

‘बालश्रममुक्त’ घोषणामा भारतीय बालबालिका चुनौती

काभ्रे — मध्यान्हको चर्को घाम । बनेपाको एउटा टायर रिसोलिङ सेन्टरमा आफूभन्दा ठूलो टायरमा हावा भर्दै थिए, १४ वर्षीय मुस्ताक । कामको धपेडीले अनुहार कालो र कपाल कैला देखिन्थे । मोबिलसँगको कामले गाला, हात-खुट्टामा कालो रङ पोतिएको थियो ।

कलिला हातले ठूला–ठूला टायरमा हावा भर्दै गर्दाको थकान मुहारमा झल्किरहेको थियो । आइतबार दिउँसो बनेपा नगरपालिका-७ तरकारी बजारस्थित गणेश टायर रिसोलिङ सेन्टरमा पुग्दा देखिएको दृश्य हो यो ।

किताब–कापी समाउनुपर्ने हातमा आफूभन्दा अग्ला टायर समाइरहेका छन्, मुस्ताक । भारत घर बताउने उनी नेपाली भाषा बुझ्दैनन् । कक्षा ५ मा पढाइ छाडेर आफन्तको सहल्लाहमा यहाँ आएर २ महिनादेखि बनेपामा टायर रिसोलिङको काम गर्छन् ।

बनेपा–६ बुडोलस्थित कृष्ण अटो वर्कसपमा बिग्रेको बोलेरो गाडीको मर्मत भइरहेको थियो । लगातारको वर्षाले हिलाम्मे बनेको भुईंमा बोलेरो गाडीमुनि सुतेर मर्मतको काम गरिरहेका थिए, भारत घर भएका १७ वर्षीय बुलेटकुमार । उनी गाडीको खराबी जाँच्न घरी गुडीमुनि सुतेर त घरी गाडीको इन्जिन खोलेर हेरिरहेका थिए । गाडी जाँचको यात्रा सुरु गरेसँगै उनले आफ्नो पढाइको यात्रा भने रोकिसकेका छन् । पढाइप्रति इच्छा नभएकाले पढाइलाई बिट मारेर रोजगारी खोज्दै बुलेट नेपाल आइपुगेको उनले सुनाए ।

१ वर्षदेखि बुलेटले सवारीसाधन मर्मतको काम गर्दै आएका छन् । आफन्तको सल्लाहमा नेपाल आएर ग्यारेजमा अरुले गरेको काम हेर्दै मेकानिकको काम सिकेको उनले सुनाए । बुलेटले आफ्नो पढाइ बिगारे पनि सयौं गाडी भने बनाइसकेका छन् । पढाइ बिग्रेकोमा बुलेटलाई कुनै बिस्मात छैन । ‘पढ्न मन नलागेर पढाइ बिचमै छाडे,’ उनले भने, ‘सीप सिक्ने इच्छा राखे, आफन्तको सल्लाहअनुसार नै यहाँ आएर सीप सिके ।’ कृष्ण अटो वर्कसपमै भेटिए, १३ वर्ष गोलु यादव । गोलुको घर पनि भारत नै हो । कक्षा ५ पढेका गोलु नेपाल आएको दुई महिनामात्रै भयो । उनले टायरमा हावा हाल्ने, गाडी मर्मतलगायत काम सिक्दै छन् ।

बनेपाका विभिन्न स्थानमा सञ्चालित होटल, ग्यारेज, इँटा उद्योगलगायत क्षेत्रमा बालश्रमिकको प्रयोग रोकएिको छैन । भारतीय बालश्रमिकको संख्या पनि धेरै छ । काभ्रेका धुलिखेल र पनौती नगरपालिकाले बालमैत्री घोषणा गरिसकेका छन् । यद्यपि बालमैत्री घोषणा भएकै पालिकामा पनि बालश्रमिक भेटिएका छन् ।

बनेपाले बालश्रम न्यूनीकरणका लागि नगर क्षेत्रमा अनुगमन गरिरहेको छ । गत असारमा नगरभित्रका ग्यारेज तथा टायर रिसोलिङ क्षेत्रमा गरेको अनुगमनमा १८ भारतीय बालबालिका श्रमिक रहेको पाइएको बनेपा नगरपालिका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाकी अधिकृत विजया सुवेदीले बताइन् ।

नगरभित्र यसबाहेक अनुगमनको क्रममा छिमेकी जिल्ला सिन्धुपाल्चोक, मकवानपुरलगायतका क्षेत्रबाट आएर काम गरिरहेका बालबालिका पनि भेटिएको उनले जानकारी दिइन् । उनका अनुसार यी क्षेत्रबाट आएका बालबालिका बाध्यात्मक श्रममा भएको पाइएको छ ।

‘बिचमै पढाइ छाडेर काम गर्न आउनेहरू धेरै भेटिए,’ उनले भनिन्, ‘केही त बिनापारश्रमिक नै काममा खटिएको पनि पायौं । भारतीय बालश्रमिकलाई बोर्डरसम्म पुर्‍याउनका लागि नगरपालिकाले सहजीकरण गर्ने योजना बनाएका छौं, तर उनीहरुको आफन्तसम्म पुग्न कठिनाइ भइरहेको छ ।’

नगर क्षेत्रमा भेटिएका बालश्रमिकलाई हटाउनका लागि सम्बन्धित व्यवसायीलाई निर्देशन दिइएको शाखा अधिकृत सुवेदीले बताइन् । बालश्रम अन्त्यका लागि वडा र नगरस्तरमा बाल सञ्जाल गठन, स्थलगत अनुगमन, चेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्यले बताए । उनका अनुसार बालश्रम अन्त्यका लागि कसरी अगाढि बढ्ने भन्ने यकिन नभइसकेकाले आगामी दिनमा कार्यक्रम अगाडि बढाइनेछ ।

Published on: 25 July 2023 | Kantipur

Link

Back to list

;