s

बाँकी शरणार्थीको जीवनरक्षा होस् : नेता रिजाल

कान्तिपुर संवाददाता

काठमाडौँ — भुटानी मानवअधिकारवादी नेता टेकनाथ रिजालले घर फिर्ती वा पुन:बसोबासको टुंगोमा पुग्न नसकेका झन्डै ७ हजार शरणार्थीको जीवनयापनको स्थिति चिन्ताजनक रहेको भन्दै गाँस, बास र कपाससहित मानवअधिकार रक्षाका निम्ति सरकारसँग आग्रह गरेका छन् ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग भेटवार्ता गर्दै नेता रिजालले झापा–मोरङका शरणार्थी शिविर र दर्ताविहीन अवस्थामा शिविर बाहिर बसिरहेका भुटानी नागरिकले स्थानीय तहमा व्यवहार गर्न परिचयपत्रसमेत अद्यावधिक गर्न नपाएको बताए । गत जनवरीदेखि दातृ निकायले शिक्षा, स्वास्थ्य, खाद्यान्नसहितको सहयोगमा कटौती गरेका कारण कठिनाइको स्थिति रहेको उनले मन्त्री ज्ञवालीलाई अवगत गराएका थिए । ‘शरणार्थीको अधिकारप्रदत्त चाहना भनेको स्वेच्छिक घर फिर्ती हो, यस दिशामा वार्ता र संवाद पनि जरुरी छ,’ भेटबारे नेता रिजालले भने, ‘मन्त्री ज्ञवालीले घरफिर्तीका बारे संवादको पहल भइरहेको र तेस्रो देशमा थप शरणार्थी पठाउन सकिनेबारे शरणार्थी आयोगको ध्यान जानुपर्ने संकेत गर्नुभयो ।’ 

मन्त्री ज्ञवालीले ‘मानवीय सहयोग र धर्मका आधारमा भुटानी शरणार्थीलाई नेपालले आश्रय दिइरहेको’ भन्दै सधैंभरि शरणार्थी समस्या बेहोरेर बस्न सकिने अवस्था नरहेको बताए । ‘राष्ट्रसंघीय निकायले तत्काल तेस्रो देशमा बसोबासको अवसर आएको अवस्थामा इच्छुकलाई पठाउने काम गरौं भनेर विगतमा पुनर्बसोबास अभियानलाई अघि बढाएको थियो, बाँकीको हकमा समाधान खोजौंला भनेर शरणार्थी उच्च आयोगले भनेकै हो । अब बाँकी रहेका शरणार्थीको बसोबास र व्यवस्थापनमा पनि आयोग जिम्मेवार हुनैपर्छ,’ उनले भने । 

शरणार्थी समस्या समाधानका निम्ति घर फिर्ती वा तेस्रो देशमा पुनःबसोबासको विकल्पबारेमा थप पहल जारी रहने मन्त्री ज्ञवालीको भनाइ थियो । ‘यहाँ बसिन्जेलका लागि शरणार्थीलाई केही सहजीकरण गरिनेछ । त्यो भनेको स्थानीय श्रम बजारमा जान सक्ने, स्वरोजगार वा शिक्षादीक्षा, स्वास्थ्य उपचारका उपायमा सहजीकरण गरिदिने हुन सक्छ । यो दिशामा गृह मन्त्रालयसँग समन्वय गरेर काम भइरहेको छ,’ मन्त्री ज्ञवालीले भने । तर, शरणार्थीलाई स्थानीय बसोबास गराइने सम्भावना वा यस्तो विकल्पबारे सरकारको कुनै सोचाइ वा योजना नरहेको उनले स्पष्ट पारे । 

नेता रिजालले अर्थमन्त्री विष्णु पौडेलसँग पनि भेटवार्ता गर्दै शरणार्थीको जीविकोपार्जन समस्याबारे अवगत गराएका थिए । भुटान सरकारले आफ्नै नेपालीभाषी भुटानी नागरिकमाथि ‘जातीय सफाया’ गर्न चाहेको स्थितिमा सन् १९९० पछि जबर्जस्ती देशनिकाला गर्न थालेको थियो । भुटानबाट लखेटिएर भारतीय बाटो हुँदै झन्डै १ लाख १५ हजार भुटानी नागरिक शरणार्थी हैसियतमा पूर्वी नेपालमा आएर विभिन्न शिविरमा आश्रित भएका थिए । गृह मन्त्रालयमा रहेको पछिल्लो तथ्यांकमा अहिले झापाको दमक र मोरङको पथरी शिविरमा गरी ६ हजार ५ सय ७७ शरणार्थी बसोबास गर्छन् । थप झन्डै १६ सय शरणार्थी दर्ताविहीन हैसियतमा शिविरबाहिर छन् । अहिले गृह मन्त्रालयले थालेको शरणार्थी पहिचान प्रक्रियामा थप ५ सयजतिले आफूलाई भुटानी शरणार्थी भन्दै आवेदन दिएका छन् ।

Published on: 17 March 2021 | Kantipur

Link

Back to list

;